काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले मुुलुकलाई तल पार्ने गरी कुनै सन्धिसम्झौता नगरिने बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता भीमबहादुर तामाङको तेस्रो पुण्यतिथिका अवसरमा नेपाल तामाङ सङ्घले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले मुलुकका प्राकृतिक स्रोेतसाधनको सदुपयोगका लागि आवश्यक पर्ने वैदेशिक लगानीका सम्बन्धमा भएका सन्धिसम्झौतामा हल्लाका भरमा नदीनाला बेचिए भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।
नेता तामाङले देखाएको आदर्श र इमान्दार राजनीतिको बाटामा हिँड्न समग्र पार्टीपङ्तिmलाई निर्देशन दिँदै काँग्रेसका सभापति कोइरालाले उहाँप्रति सच्चा श्रद्धासुमन व्यक्त गर्न शान्ति र लोकतन्त्रको संस्थागत विकास गर्दै निर्धारित समयमै संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
सङ्घीयताका सम्बन्धमा आफू कमभन्दा कम प्रदेशको पक्षमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो–संसद् भवनसम्म बनाउन नसकिएको अवस्थामा धेरै प्रदेश बनाउँदा मुलुकको अर्थतन्त्रले धान्दैन ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानका संयोजक डा शशाङ्क कोइरालाले तामाङको इमान्दार व्यक्तित्व र आदर्श विचारले पार्टीलाई आजसम्म पनि ऊर्जा दिइरहेको बताउनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् धनराज गुरुङ, सभासद् दिलमान पाख्रिन, बहादुरसिंह लामा, तारामान गुरुङ, तीर्थ लामा र पुष्पलता लामा एवम् नेता जिपछिरिङ लामा, इन्द्रबहादुर गुरुङ र केवलबहादुर तामाङले तामाङल् देखाएको बाटो पछ्याउनका लागि समयमै लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता तामाङलाई दाहसंस्कार गरिएको स्थान स्वयम्भूमा प्रधानमन्त्री कोइरालाले छ्र्योेर्तेन तथा सालिक शिलान्यास गर्नुभयो ।
सो कार्यका लागि जिपछिरिङ लामाले रु दुई लाख ५१ हजार, उत्तरमान लामाले रु एक लाख ५१ हजार, कृष्ण लामा र दिलमान पाख्रिनले जनही रु एक लाख एक हजार, तीर्थ लामाले निर्माणको आवश्यकताअनुसार गिट्टी, विक्रम लामाले रु ५१ हजार बराबरको सिमेन्ट, तारामान गुरुङ र पुष्पलता लामाले जनही रु २१ हजार र गङ्गाराम शर्माले रु पाँच हजार ५५५ सहयोगको घोषणा गर्नुभएको थियो















प्रतिक्रिया