न्यूयोर्कको एकबर्षे बसाईँमा कहिलेकाहीँ न्यूयोर्क सिटी घुम्न जाँदा नेपाली मः मः पसलमा भेटिने नेपाली बाहेक कोही नै देखिएन, अनि भेटिएन पनि। लस एंजेल्समा पनि नेपाली भएको तिर बसिएन । तर, एक दुई जनासँग संगत भने गरियो। त्यहाँ नेपालीहरुको छुट्टै माहोल रहेछ । फेरि, घरपिच्छे खोलेका नेपाली संस्था अनि घरै पिच्छेका नेता। एक अर्काको खुट्टा तान्ने, कुरा काट्ने, चियोचर्चो गर्ने, नेपालको भन्दा दिक्क लाग्दो रहेछ त्यहाँको नेपाली वातावरण।
अमेरिकामा सँधै एक्लाएक्लै बस्दा पनि खाली नेपाल र घरपरिवारको मात्रै याद आउँदो रहेछ । त्यसैले एक्कासी योजना बनाइयो डालास, टेक्सासको। कारण थियो- नेपालदेखिकै मिल्ने केही साथीहरु पहिलादेखिनै यहीँ बस्दै आएका छन, फुर्सदमा भेट्ने कहिलेकहीँ रमाइलो पनि हुने।
नभन्दै यहाँको वातावरण सोचेको भन्दा बढी रमाइलो पाइयो। जताततै खुलेका नेपाली रेष्टुरेन्टहरु, रेष्टुुरेन्टमा पाइने छ्यांग, मः मः देखि नेपाली स्वादका अनेक परिकारहरु खान पाइने । अनि ‘वालमार्ट’देखि ‘ग्रोसरी’सम्म जहीँतहीँ नेपाली बोल्या सुन्न पाइने।
डालासको सबैभन्दा मनपर्ने पक्ष भन्या ‘योङ्ग जेनेरेशन’ । स्कूल कलेज नजिकै भएकोले स्टूडेंटको माहोलले भरिएको रहेछ डालास । जहाँ न एकअर्काको कुरा काटिन्छ, न त चियोचर्चो गरिन्छ। प्रत्येक नेपाली रेस्टॉरेन्टमा मःम छोइला, भूटन, बियर र प्रेमीप्रेमिकाको साथमा रमाइरहेको उनीहरुको बिन्दास जिन्दगी। उनिहरुको त्यो जिन्दगी देख्दा जो कोहीलाई आरिश या आश्चर्य दुईटै लाग्न सक्छ।
रेस्टोरेन्टमा बियरको चुस्कीसँगै रमाइरहेका केटाकेटीको माहोल देख्दा यस्तो लाग्छ, उनीहरु कोही विवाहित हैनन् र ‘सिंगल’ पनि छैनन। सबै आफ्नै संसारमा रमाएका छन्। नेपालमा हुँदा बाबुआमाको छायाँमा बसेका उनीहरु यहाँ पिजँड़ाबाट निस्केका चरी भएका छन्। जतिबेला मन लाग्छ घर आयो, जहाँ मन लाग्छ गयो, रक्सी चुरोट जे खाए नि छूट, कसले के भन्ने?
एउटाले भन्यो- ‘ह्या नेपालमा हुँदा लास्ट गिद्दी गर्थे बाउले । रातीको ७ बजेपछि घर भित्र नछिर भन्ने, बियर खान नदिने, केटी साथीहरु घरमा ल्याउन नदिने, अहिले मस्ती छ जे गरे नि, कस्ले के भन्ने।’
अर्कोले भन्यो – ‘म त हप्तामा ६ दिन काम गर्छु । एकदिन बिदा हुन्छ । त्यो दिन घरमा सुतेरै बित्छ, कहाँको गर्लफ्रेंड बनाउनु कहाँ क्लब जानु ? केही गर्ने टाइम नै हुन्न मसँग। कहाँ सबै एउटै लाइफ बिताउने हुन्छन् र यहाँ ?’
अर्को एउटा केटा चाँहि मेरो नजिकै आएर गफ गर्न थाल्यो, त्यही मौकामा मैले उसबाट केही कुराहरु थुत्ने प्रयास गरेँ ।
अमेरिकामा ‘स्टूडेन्ट भिसा’मा आउनेहरुको लाइफ त निकै मस्ती रहेछ नि हैन ? मैले घुमाउरो प्रश्न गरेँ ।
तिमीले के कुरालाई मस्ती भन्न खोजेको ? उसले प्रतिप्रश्न गर्यो ।
मैले भनेँ- ‘फ्रीडम, गर्लफ्रेंड बॉयफ्रेंड, सेक्स एवरीथिंग।’
उसले भन्यो- ‘यसो हेर्दा त तिमी हाम्रै जनरेशनको केटी जस्तो लाग्छ । तर तिमीले यो कुराहरुलाई किन यति गलत रुपमा लियौ ?’
मैले भनेँ – ‘हैन-हैन ! मैले गलत रुपमा लिएको छैन, तर यसो यहाँको माहोल देख्दा त्यही लाग्यो कि अमेरिकन लाइफ बिताउन त स्टूडेंट भिसामा आउनुपर्ने रहेछ, हैन ?’
उसले अब ‘ननस्टप’ बोल्न थाल्यो – ‘हेर म साइन्स को स्टूडेन्ट हुँ । त्यसैले सेक्सलाई बायोलॉजिकल नीडको रुपमा लिन्छु। नेपालमा पनि कलेज पढ्दा हामी केटीसाथीहरुसँग क्लोज थियौँ, हामीबीचमा सहमतिमै सबै कुरा हुन्थ्यो, अहिलेको जमानामा गर्लफ्रेंड, बॉयफ्रेंड भएर एकअर्काको लागि ज्यान दिने, पछि गएर त्यहीसंग बिहे नै गर्नुपर्ने भन्ने कहाँ हुन्छ र ?’
भनेपछि अहिलेको केटाकेटी बीचमा ‘सिरियस लभ’ नै हुन्न ?- मैले सोँधे ।
‘तिमीले भने जस्तो त्यस्तो सिरियस लभ चाँहि हुन्न, एउटैको लागि ज्यान दिने, भोलि गएर त्यहीसँग बिबाह गर्ने, लाइफ बिताउने कस्ले सोच्छ ? यी सब साथीहरु हुन, सँगै बस्छन् सँगै खान्छन, सँगै घुम्छन् । पछि कहाँ, कस्को, कोसँग बिहे हुन्छ मतलबै भएन नि।’
मैले उसलाई फेरी एउटा प्रश्न गरे-‘हामी अमेरिकन हैन नेपाली हौ, या टीनएजको केटी प्रेग्नेंट भयो या बच्चा पाएर आयो भने पनि उसको परिवारले स्वीकार गर्छ । त्यसरीनै भोली केहि गरी तिम्रो गर्लफ्रेंड प्रेग्नेंट भयो भने उसको परिवारले नेपालमा स्वीकार गर्छ ? अनि त्यो केटीलाई तिमी स्वीकार गर्छौ ? तिमी आफै स्टूडेंट छौ, कलेजको फी कसरी तिर्ने या कसरी बाँच्ने भन्नेमै भौतारिएर हिडेको छौ ।’
हा हा… ऊ मेरो कुरा सुनेर मज्जाले हाँस्यो ।
मैले उनीलाई माया गर्दै भनेँ- ‘तिमी यति धेरै केटाहरुसंग क्लोज छौ, यी सबै तिम्रा बॉयफ्रेंड हुन ?’
हा हा…. उनले हाँस्दै भनिन । यी सबै मेरा साथी हुन, बॉयफ्रेंड त मेरो त्यो एकजना मात्रै हो। तर धेरै केटा साथीहरूले मलाई लाइक गर्छन।
अनि तिमी ती केटाहरुसँग फिल्म हेर्न जान्छौँ, घुम्न जान्छौ तिनीहरुको गाडीमा ?
जवाफमा उनले भनिन – ‘म उनीहरुसँग हिडे पनि उनीहरुले मलाई टच पनि गर्दैनन् ।’
नेपालमा परिवारले गर्ने चाहिने भन्दा बढ़ी कन्ट्रोल अनि त्यसबाट उम्केका टीनएजर केटाकेटीहरुले कहिलेकाँही आफूले पाएको फ्रीडमलाई उनीहरुले गलत रुपमा उपयोग गरिदिन सक्छन। किनकी सही के हो गलत के हो उनीहरुले यो उमेरमा छुट्टाउन सक्दैनन्। उनीहरुलाई त्यही लाग्छ जिन्दगी सधै यत्तिकै बित्छ। त्यसैले छोराछोरीलाई आफ्नो काँधमा ऋणको भारी बोकेर बिदेश पठाउनुमा मात्रै गर्ब नगर्नुस्, उनीहरुको दैनिक क्रियाकलाप बुझेर सही मार्गमा हिडाँउनु पनि बाबु आमाको कर्तब्य हुन आउँछ।














प्रतिक्रिया