रवि रोषी
दोहा । एनआरएन कतारका कानुनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँ कतारको गृह मन्त्रालयबाट सम्मानित हुनुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली श्रमिक समाजका अध्यक्ष समेत रहनुभएका मियाँलाई कतारको गृह मन्त्रालयको कार्यालयमा पत्रकारहरुको उपस्थितिमा गृह मन्त्रालयका व्रिगेडियर अब्दुल्लाह खलिफा अल मुफ्ताहले सम्मानपत्र प्रदान गर्नुभएको हो ।
नेपाल र कतारको द्धिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन, प्रवासी नेपालीहरुको सामाजिक उत्थानको लागि कतार सरकारको विभिन्न निकायहरुसंग प्रत्यक्ष सरोकार राखी नेपाली समुदायहरुको विभिन्न प्रकृतिका कार्यक्रमहरुको तर्जुमा गर्न सघाउ गर्ने विषयमा समन्वयकारी भूमिका निर्वाह गरे बापत तथा कतारको आन्तरिक मामिला मन्त्रालयले कतारमा रहेका नेपालीहरुको समस्या निवारणका लागि मध्यस्थ भूीमका निर्वाह गरे बापत सो सम्मानपत्र प्रदान गरिएको पत्रमा उल्लेख गरिएको छ ।
मियाँले कतारको गृह मन्त्रालयको जन सम्पर्क विभाग संगको सम्पर्कमा रही लामो समय देखि समाजिक क्षेत्रमा सक्रियता देखाउँदै आउनुभएको छ ।
पत्रकारसंगको भेटक्रममा गृहमन्त्रालयका जनसम्पर्क संयोजक फैसल अल हुदवीले मन्त्रालयले विभिन्न समयमा विभिन्न समुदायका अक्षुण भूमिका निर्वाह गर्ने विभिन्न देशका व्यक्तित्वलाई यसै गरी सम्मान गर्दै आएको बताउनुभयो ।
आगामी समयमा पनि मियाँबाट विभागले यस्तै सहयोगको अपेक्षा राखेको संयोजक हुद्वीले थप बताउनुभयो ।
अन्त्यमा प्रोफेसर मियाँले सम्मान गर्ने व्रिगेडियर अब्दुल्लाह खलिफा अल मुफ्ताह लगायत मन्त्रालयले आफुलाई गरेको सम्मानप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै भोलिका दिनमा यस सम्मानबाट आफुलाई थप प्रेरणा मिलेको बताउनुभयो ।














प्रतिक्रिया