इलाम, १६ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघ ८ गते नै मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन इलामले मंगलबार इलाम सदरमुकाममा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता देउवाले निर्धारित समयमा संविधान जारी गर्न काँग्रेस, एमाले तयार रहेकाले माओवादीसहित २२ दलीय मोर्चा पनि सहमत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संविधान निर्माणका धेरै विषयमा सहमति भएकाले मिल्न नसकेका केही बुँदालाई वार्ता र संवादको माध्यमद्वारा समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
‘संविधान निर्माणका लागि अझै डेढ महिना बाँकी रहेकाले सबै सहमतिका साथ अघि बढ्नुपर्छ, तोकिएको समयमा संविधान बनाएर देशलाई निकास दिनुपर्छ’–उहाँले भन्नुभयो ।
उहाँले संवाद समितिमा मुख्य विषय अड्किएकाले त्यसलाई अघि बढाउन समिति सभापति बाबुराम भट्टराईलाई आग्रह गर्नुभयो । नेपाल दलित सङ्घको मेची अञ्चलस्तरीय प्रशिक्षण तथा मेचीमहाकाली जनजागरण अभियानको उद्घाटनका लागि इलाम आइपुग्नुभएका नेता देउवाले संविधानका पक्षधर सबैलाई सहमति र लचिलो भएर अघि बढ्न आग्रह गर्नुभयो ।















प्रतिक्रिया