२८ आश्विन २०८३, बुधबार

नेपालमा जताततै सेटिङ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattarai

राजनीतिक तदर्थवादमा चलेको नेपाल अहिले सेनेसी अर्थात् सेटिंग, नेटवर्किग र सिन्डिकेट फोवियाबाट ग्रस्त छ । थेसिसको हैन, एन्टी थेसिसको यो जमानामा यो कहाँ छ भन्दा पनि कहाँ छैन भन्नु उपयुक्त होला । इमान्दारलाई बेइमान बनाएर प्रणालीको चितामा मुलुकको स्वार्थ स्वाहा पार्ने यो ब्ल्याक लाइले नै अहिले मुलुकमा शासन गरिरहेको छ । जो शासक हौं भन्ने सोचिरहेका छन्, ती त सेनेसीका कमजोर कडी मात्र हुन् ।

एक दिन भीष्म पितामहले जेठा पाण्डव युधिष्ठिरलाई संसारमा पापी मान्छे खोज्न भने । पितामहको आदेश भुँइमा खस्न नपाउँदै उनी पनि त्यस्तो मान्छेको खोजीमा निस्के । वर्षौ बित्यो तर उनले एकजना पनि पापी मान्छे भेट्न सकेनन् । अन्तमा हार मानेर पितामहसामु उभिएर युधिष्ठिरले भने, पितामह माफ पाउँ मैले एकजना पनि पापी मान्छे भेट्न सकिन । भीष्मले उनको अनुहारमा हेर्दै भने, तिमीले द्रौपदीको वस्त्रहरण गर्ने दुस्साहसनलाई पनि पापी देखेनौं ? युधिष्ठिरले जवाफमा भने, उसले पनि त्यो काम पाप हो भन्ने लागेको भए शायद गर्दैनथ्यो होला । युधिष्ठिरको जवाफ सुनेर भीष्म पितामहले भने, तिमी साँच्चैको धर्मराज हौं ।

यही कहावतको आधारमा हुनुपर्छ, चलनचल्तीमा एउटा भनाइ बहुचर्चित छ, आफू भलो त जगत भलो । यसलाई अलि सामान्य गर्दै भन्ने गरिन्छ, आफू जस्तो छ, अरुलाई पनि त्यस्तै देखिन्छ । यसैलाई अर्को आयामबाट नाप्ने क्रममा सुन्दरताको परिभाषा दिदा यस्तो पनि भन्ने गरिन्छ, सुन्दरता सुन्दर वस्तुमा हुँदैन, हेर्ने आँखा र बुझ्ने मनमा हुन्छ ।

शायद, यही पृष्ठभूमीमा रहेर हुनुपर्छ, कवि दुर्गालाल श्रेष्ठले एउटा गीत लेखे

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार

संगीतकार न्हू बज्राचार्यले मन्त्रगायिका आनी छोइंगका लागि त्यही सोच र कोणको संगीत जुराइ दिए । आनीले पनि त्यही स्केलमा भाती पुर्याएर गाइन् । मन्त्र अन्ततः गीत बन्यो र जो कोहीको पनि ओठओठमा भुण्डियो, फूलको आँखामा फूलै संसार ।

हुँदा हुँदा सर्वसाधारणले पनि आफू भलो त जगत भलो मात्र हैन, आफू जस्तो छ, अरुलाई पनि त्यस्तै देखिन्छ समेत भन्न छोडे । सट्टामा उनीहरुले पनि सकारात्मक कुराको हकमा फूलको आँखामा फूलै संसार भन्न थाले भने नकारात्मक अर्थमा काँडाको आँखामा काँडै संसार । यसरी नेपाली समाजमा फूल र काँडाको संसारले विम्व र प्रतीकका रुपमै झाँगिने मौका पायो ।

प्रसंग, वर्तमान नेपालको हो । अहिले नेपालमा या त नेटवर्किंग छ या सेटिंग । यी दुबैको चलखेलमा बनेको हुन्छ, सिन्डिकेट । साँच्चै भन्ने हो भने पहिला पनि यही सिन्डिकेटले चल्थ्यो नेपाल, अहिले पनि त्यसैले चलाइरहेको छ । केही ठाउँ र भूमिकामा पात्रहरुको हेरफेर भएको छ, त्यो बेग्लै कुरा हो । त्यसले तात्विक असर पार्ने पनि हैन । नयाँ भनिएको नेपालको पछिल्लो परिदृश्यले त्यही कुराको साक्षी बकिरहेको छ ।

सिन्डिकेट पर्दा पछाडिको भर्चुअल मैदानमा हुने शक्तिको खेल हो । यसका खेलाडी भनेका पावर ब्रोकरहरु हुन् । पावरको मात्रा फरक हुने अर्थमा तिनीहरुको खेल मैदान निश्चित हुन्छ । यो पनि एउटा पेशा नै हो । र, यिनीहरुको संख्या खासै ठूलो पनि हुदैन । जो आए पनि वल्ला घरको नरे पल्लो घरमा सरेजस्तै मौसमी चरित्रका हुन्छन् यिनीहरु । उनीहरुको मूल काम भनेकै सत्ताको कमजोर कडी पत्ता लगाउने र त्यसमाथि आफ्नो पल्ला भारी राख्न आवश्यक तिक्डमको जोहो गर्ने हो । जसलाई उनीहरु सेटिंग मिलाउने भन्छन् । जब तिनीहरु सेटिंग मिलाउन सफल हुन्छन्, त्यसपछि सत्तालाई मोहरा बनाएर आफ्नो स्वार्थी खेल खेल्छन् । उनीहरु आफूलाई फाइदा हुने छ भने जे गर्न पनि तयार हुन्छन् । लाखमा इमान बेच्छन्, करोडमा स्वाभिमान बेच्छन् र अर्बमा त आफूलाई पनि बेच्छन् । किनकि, उनीहरुको पेशा नै इमान्दारलाई बेइमान बनाउने हो । प्रणाली पोलेर खरानी बनाउने र त्यसैको विगुत बाँडेर लुट्ने लुटाउने हो । पहिला पनि मुलुक यही खेलमा थियो, अहिले पनि मुलुक त्यही खेलमा छ ।

संजोगवस्, अस्ति एउटा यस्तै खालमा पुगियो । उनीहरु त्यहाँ बोलकबोल लगाउँदै थिएँ, तीन करोड भए मुख्य सचिवलाई हटाउन सकिन्छ । पाँच करोड भए फलानो मन्त्रीलाई हटाउन सकिन्छ । जाबो सचिव त्यो त ५० लाखदेखि नै सुरु हुन्छ । कमाउ ठाउँ र पदहरुमा पनि उनीहरु बोल कबोल लगाउँदै थिए, फलानोलाई भन्यो, सुशील दा जे पनि गर्छन् । ढिस्कानालाई मिलायो, ओली कमरेड जे पनि गर्छन् आदि इत्यादि । उनीहरुको कुरा सुन्दा यस्तो लाग्थ्यो, ती सबै शक्तिशाली मानिसहरु त मात्र बुख्याँचा हुन् । उनीहरुले चाहे भने बारीमा राख्छन्, नचाहँदा हटाउँछन् ।

झट्ट सुन्दा हावादारी गफजस्ता लाग्छन् यी कुरा । मानिसहरु जिब्रो काढ्दै भन्छन्, यस्तो पनि हुन्छ र ? तर, यथार्थमा पछिल्लो समय ठेक्का पट्टा, कोटेसन, सरुवा, बढुवा, नियुक्ति अधिकांश बोल कबोलमा हो कि जस्तो देखिन्छ । किनकि, कुन पदका लागि के भन्ने पनि छैन । सोच्दै नसोचेका मानिसहरु सोच्दै नसोचेका पदमा पुग्छन् । अरु त अरु संविधानसभा सदस्यका लागि पनि यस्तै मोलतोल भएको कुरा आयो । सेटिंग मिलाउन सके यहाँ नहुने कुरै केही छैन ।

यतिबेला प्रणाली सखाप पारेर तदर्थवाद हाबी बनेको अवस्थामा छ मुलुक । यही नै यस्ता फौबन्जारहरुको लागि रामराज्य हो । उनीहरु यस्तो अवस्था सिर्जना गर्न र यस्तो अवस्था तन्काउन न्वारानदेखिकै बल लगाइरहेका छन् यतिबेला । दल फुटाउनदेखि, संविधान बन्न नदिने अवस्था सिर्जना गर्नसम्मका लागि प्रत्यक्ष परोक्ष लगानी गरिरहेका छन् उनीहरु । लोभी पापीहरु नै पदमा पुगेका बेला यिनीहरुलाई यो मौसम पनि राम्ररी नै फापेको छ ।

सत्ता राजनीतिको मात्रै कुरा हैन । मिडियामा समाचार छाप्ने र नछाप्नेसम्ममा पनि सेटिंग हुन्छ । कुन पत्रिकामा कसलाई सम्पादक बनाउनेदेखि कसकी श्रीमती या छोरीलाई कहाँ जागिर लगाइदियो भने मिडियाको गुड बुकमा पर्न सकिन्छ या मिडिया डार्लिंग हुन सकिन्छ, त्यसको सम्म हिसावकिताव गरिन्छ यहाँ । त्यसका लागि कुन मिडिया मालिकको कमजोरी के हो ? कुन सम्पादकको कमजोरी के हो ? त्यो पत्ता लगाइन्छ । अनि त्यसैको आधारमा पर्दा पछाडि सेटिंग हुन्छ । कतिपय कलेजमा मिडियामा काम गर्नेलाई विषय नमिले पनि पढाउन दिइन्छ । यो पनि त्यही सेटिंगको सानो उदाहरण हो । राष्ट् बैकका निर्देशकका साली छन् भने अहिलेका बैंकमा जागीर पक्का छ । किनकि, बैंकको पक्षमा निर्णय गराउन योभन्दा ठूलो सेटिंग केही हुँदैन । उदाहरण खोज्न टाढा जानै पर्दैन, नेपाल राष्ट् बैंकका डेपुटी गर्भनरको बहिनी ज्वाइँ भएकै कारणले एकजनालाई बैंकको सीईओ फालाफाल छ । यस्ता सेटिग हरेक ठाउँमा छन् ।

भनिन्छ, अहिलेको समय थेसिसको हैन, एन्टी थेसिसको हो । के हो भन्दा पनि के हैन ? भन्ने जमाना हो यो । यसैलाई विकासबादका प्रणेता डार्बिनले एन्टी थेसिस भनेका छन् । सेटिंगमा पनि यो कुरा लागू हुन्छ ? अर्थात् सेटिंग के हो भन्दा पनि सेटिंग के हैन भन्ने जमाना हो यो । जति राम्रो विचार लेख्नुहोस्, नाम चलेका पत्रिकाको प्रकाशक या सम्पादकको सिन्डिकेटमा हुनुहुन्न भने तपाईको लेख छापिदैन । जतिसुकै राम्रो बैंकर हुनुहोस्, नेपाल राष्ट् बैंक र बैंकरहरुको सेटिंगमा पर्नुभएन भने तपाई कही टिक्नुहुन्न । तपाई जतिसुकै राम्रो एमाले हुनुहोस्, गुटगत सेटिंगमा पर्नुभएन भने कौडीको भाउमा पर्नुहुन्न तपाई । यस्तो समस्या कहाँ छ ? भन्दा पनि कहाँ छैन? भन्ने एन्टी थेसिसको जमाना हो यो । सिन्डिकेट कहाँ छ भन्दा पनि कहाँ छैन भन्ने समय हो यो । त्यसैले सेनेसी अर्थात् सेटिंग, नेटवर्किग र सिन्डिकेट आज नेपाली जनजीवनको एक हिस्सा बनेको छ ।

के सेनेसी अर्थात् सेटिंग, नेटवर्किग र सिन्डिकेटको जालोबाट नेपाललाई मुक्त बनाउन सम्भव छ ? राम्रा हैन, हाम्रा भन्ने सोचमा रमाइरहेको नेपाल यति सजिलै यो कब्जाबाट मुक्त होला भन्न गाह्रो छ । अहिलेलाई यति भन्न सकिन्छ, आशा गरौं भरचाँहि नगरौं ।

घुम्दै फिर्दै रुम्जाटार भनेझैं फेरि कुरा फूलै संसारमा आऔं । नेपालको यो पछिल्लो चित्र र चरित्रका बारेमा थाहा पाएपछि भए कवि दुर्गालालको गीतको स्थायी कस्तो हुन्थ्यो होला ? फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार मात्र हुन्थ्यो कि ? त्यसमा उनले अरु पनि केही थप्थे होला ? मनमा थरिथरिका विचार प्रवाह भैरहेको बेला यो स्तम्भकारलाई लाग्यो, शायद उनले यस्तो पनि थप्थे होला,

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
सेटिंगको भाकामा सिन्डिकेट संसार

आगे, उनीहरु नै जानुन् ।