काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले यही मंसिर १० र ११ गते काठमाडौंमा सम्पन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन विभिन्न आशंका उपशंकाहरुबीचमा पनि भव्यताका साथ सम्पन्न भएको भन्दै खुशी व्यक्त गर्नु भएको छ ।
उहाँले एक विज्ञप्ति निकालेर सार्क सम्मेलनको तयारीमा जुट्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
उहाँले सुरुमै सार्क सम्मेलनको तयारीमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको प्रशंषा गर्नुभएको छ ।
‘माननीय परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नेतृत्वमा परराष्ट्र मन्त्रालयले सदस्य राष्ट्रहरु, पर्यवेक्षक राष्ट्रहरु र अन्तरमन्त्रालयगत समन्वय सहित सहज ढंगले कार्यहरु गर्यो म त्यसको प्रसंशा गर्दछु,’ उहाँले भन्नुभएको छ,’ ‘शिखर सम्मेलन अवधिमा राजधानी काठमाडौं र समग्र मुलुकमा भरपर्दो शान्ति सुरक्षा कायम गरी नेपालमा पूर्णत शान्ति कायम भएको सन्देश विश्वभर फैलाउने अवसर सिर्जना गर्नु भएकोमा माननीय उपप्रधान तथा गृहमन्त्रीको संयोजकत्वमा रहेको सुरक्षा समिति बधाईको पात्र छ ।’
उहाँले सुरक्षाका लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका नेतृत्व सहितका सकल दर्जाका राष्ट्रसेवकहरुलाई पनि धन्यवाद दिनु भएको छ ।
उहाँले आ–आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै सबै मन्त्रालय र विभागहरुका साथै शिखर सम्मेलनमा आमन्त्रित अतिविशिष्ट, विशिष्ट, सहभागी प्रतिनिधि र पर्यवेक्षकहरुको स्वागत र विदाईमा खटिएका मन्त्रिमण्डलका सदस्य सबैको प्रशंषा गर्नुभएको छ ।
त्यसैगरी शिखर सम्मेलनमा सहभागी हुनुभएका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहित अतिविशिष्ट पाहुनाहरुलाई शिष्टाचार भेटको अवसर प्रदान गरी रात्रीभोजको समेत प्रबन्ध मिलाइ दिएको भन्दै राष्ट्रपति र उपराष्ट्रपतिप्रति पनि कृतज्ञता प्रकट गर्नुभएको छ ।
‘सम्मेलन आयोजनाको लागि आवश्यक प्रबन्ध र समन्वय गर्नुहुने सार्कका महामहिम महासचिव र सार्क सचिवालयमा कार्यरत कर्मचारीहरुलाई पनि धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभएको छ,’ ‘यस शिखर सम्मेलनलाई सफल पार्न प्रधानमन्त्री कार्यालय, मेरो सल्लाहकार समूह र स्वकीय सचिवालय, मुख्य सचिव सहित समस्त राष्ट्रसेवक कर्मचारीहरुबाट प्राप्त सहयोग र समन्वयको पनि मैले उच्च मूल्याङ्कन गरेको छु ।’
उहाँले नेपालका सञ्चार कर्मीप्रति कृतज्ञता प्रकट गर्नुभएको छु । ‘अन्तराष्ट्रिय संचार संस्था र त्यसमा कार्यरत सञ्चारकर्मीहरुले समेत सम्मेलनका समाचारहरुलाई प्राथमिकता दिइ सार्क र नेपालको प्रतिष्ठा अभिबृद्धि गरिदिनुभएकोमा म उहाँहरुप्रति पनि आभार व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ ।
उहाँले विज्ञप्तिमा सार्क शिखर सम्मेलनकोे सफल आयोजनाले नेपालको राष्ट्रिय र अन्तराष्ट्रिय छवि उज्ज्वल भएको भन्दै संवैधानिक र राजनीतिक संक्रमण कालमा पनि नेपालले गर्न सक्दो रहेछ भन्ने सन्देश गएको उल्लेख गर्नुभएको छ ।
उहाँले सम्मेलन अवधिमा देखिएका सानातिना कमजोरीलाई सुधारेर आगामी दिनमा अझ राम्रोसँग यस्ता सम्मेलन आयोजना गर्ने प्रेरणा समेत उल्लखे गर्नुभएको छ । त्यसैगरी सोमबार नै बसेको १८ औं सार्क शिखर सम्मेलन मूल आयोजक समितिको अन्तिम बैठकले शिखर सम्मेलन मूल आयोजक समिति विघटन गरिएको घोषणा गरेको थियो ।















प्रतिक्रिया