१ कार्तिक २०८३, आइतबार

नागरिक उड्डयन प्राधिकरण टुक्रिने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ पुस । मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ ।

वायुयान सञ्चालन नियमनकारी निकायका रुपमा रहेको हालको क्यानलाई नियमन गर्ने र पूर्वाधार विकास गर्ने छुट्टै निकाय बनाउने तयारी भएको छ । क्यानको यही पुस १६ गते सम्पन्न १९औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले क्यानलाई थप व्यावसायिक र प्रभावकारी नियामक निकायका रुपमा अघि बढाउन भिन्न स्वायत्त निकाय बनाउन लागिएको जानकारी दिनुभएको थियो ।

उन्नाइस वर्षअघि स्थापित क्यानले प्राधिकरण ऐन, २०५३ बमोजिम राज्यद्वारा प्रदत्त उडान र हवाई सुरक्षा, उड्डयन सञ्चार, परिवहन–निगरानी तथा विमानस्थल पूर्वाधार विकास, विस्तारका साथै जहाज परिवहन सेवा सञ्चालनको जिम्मेवारी बहन गर्दै आएको छ । “क्यानको संस्थागत व्यवसायीकरण र नियमनमा सुधार गर्ने कुरा पहिलादेखि उठेको विषय हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नीति र सिद्वान्तअनुसार नियमन गर्ने संस्थालाई थप व्यावसायिक र प्रभावकारी बनाउन खोजिएको हो, यसले थप व्यावसायिक, दक्ष जनशक्ति र उच्च प्रविधिमैत्री बनाउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो ।

सचिव न्यौपानेका अनुसार क्यानलाई नयाँ विमानस्थल बनाउने र स्तरोन्नति गर्ने काम प्रभावकारी बनाउन केन्द्रित गर्ने छुट्टै संस्था बनाइने र वायुसेवा कम्पनीलाई प्रभावकारी अनुगमन र नियमन गर्ने अर्को संस्था बनाइने कार्यलाई पूर्णता दिनैपर्नेछ । क्यान कर्मचारी ट्रेड युनियनका प्रतिनिधि श्रवणकुमार यादवले क्यानलाई फुटाएर संस्था समाप्त गर्न खोजिएको हो कि भन्ने गुनासो सार्वजनिक कार्यक्रममै गरेपछि जवाफमा सचिव न्यौपानेले आइकाओको मापदण्डअनुसार काम अघि बढाउनैपर्ने भएकाले कर्मचारीको हितलाई ध्यानमा राखी संस्थालाई व्यावसायिक बनाउने उद्देश्यका साथ यसको विधेयक प्रक्रियालाई चाँडो अघि बढाउन क्यान पदाधिकारीलाई आग्रह गर्नुभयो । रासस