
– निर्मल भट्टराई
नेपाली राज्यसत्ता सञ्चालन गर्न माओवादी च्याप्टरले काम गर्दैन । तर जनताको बहुदलीय जनवादलाई त्यही कोटीमा राख्दा ठूलो अन्योल पैदा हुन्छ । भुईंको टिप्न खोज्दा खल्तीको खस्ने खतरा हुन्छ ।
एक भिडियो अन्तर्वार्तामा नेकपा (एमाले)का उपमहासचिव कमरेड घनश्याम भुसालले “जबज र माओवादको च्याप्टर क्लोज भयो” भन्नु भएपछि त्यसले नेपाली बाम राजनीतिमा एउटा नयाँ बहसको शुरुवात गरिदिएको छ । देशका ठूला दुई कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रबीच एकताको सकसपूर्ण अभ्यास भइरहेको बेला आएको यो अन्तर्वार्ताले अब बन्ने एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त कस्तो होला भन्ने जिज्ञासा सर्वत्र पैदा हुनु नितान्त स्वभाविक छ । कमरेड घनश्याम भुसाललाई एमालेका नेता कार्यकर्ताले मात्र होइन, विभिन्न बाम भङ्गालाका नेता कार्यकर्ताले एक सिद्धहस्त सिद्धान्तकारको रुपमा हेर्ने भएकोले उहाँले व्यक्त गर्नुभएका विचारले आधिकारिकता प्राप्त गर्दछन् । तपाईं जस्तो उचाईको नेताले त्यतिमात्र भनेर पुग्दैन, थुप्रै प्रश्नहरुको चित्तबुझ्दो जवाफ समेत पस्कनु पर्ने हुन्छ ।
क) राज्यसत्ताको मोडल सम्बन्धमा
सबैलाई थाहा छ– नेपाली कम्युनिष्टहरुले लामो समय माओलिखित नौलो जनवादी कार्यक्रमलाई नेपाली क्रान्तिको कार्यक्रमको रुपमा मान्दै आए । जननेता मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि नेपाली कम्युनिष्ट आन्दोलन मुख्य रुपमा जनताको बहुदलीय जनवादी कित्ता र माओवादी कित्तामा विभक्त भयो । ती कित्ता सङ्घर्ष—एकता—सङ्घर्षको बाटो हुँदै आज पार्टी एकताको अवस्थामा आइपुगेका छन् । अब बन्ने एकीकृत कम्युनिष्ट पार्टीको वैचारिक फ्युजनको प्रष्ट खाका बाहिर आएको छैन ।
०६२/६३ को परिवर्तन र त्यसले ल्याएको परिणामलाई हेर्ने सवालमा एकता सन्निकट दुवै पार्टीको समान धारणा रहे पनि थुप्रै विषयमा भिन्नताहरु सतहमै देखा परेका छन् । एकता विरोधी षडयन्त्रलाई चिर्न सकियो भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत प्रायः सबै प्रदेशसत्ताका सबै अंगको नेतृत्व गर्ने अवस्थामा नेपाली कम्युनिष्ट आइपुगेका छन् । जनताको बहुदलीय जनवादले “सामन्तवाद—साम्रज्यवाद विरोधी राज्यसत्ता”को रुपमा आफूलाई परिभाषित गरेको छ । त्यसकारण जबज शान्तिपूर्ण जनसङ्घर्षको सिद्धान्तमात्र होइन, यो राज्यसत्ता सञ्चालनको सिद्धान्त पनि हो ।
अहिल्यै जबजको च्याप्टर क्लोज गर्ने हो भने के कुराचाँहि ओपन भयो त ?
जनताको बहुदलीय जनवादले सूत्रबद्ध गरेका १४ विशेषताहरु – संविधानको सर्बोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार अल्पमतको विपक्ष, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधिको प्रयोग, क्षतिपूर्तिको व्यवस्था, जनताको जनवादी अधिनायकत्व—लाई सत्तामा बसेर कार्यान्वयन गर्नुपर्ला । अहिल्यै जबजको च्याप्टर क्लोज गर्ने हो भने के कुराचाँहि ओपन भयो त ?
सहमत हुन सकिन्छ– नेपाली राज्यसत्ता सञ्चालन गर्न माओवादी च्याप्टरले काम गर्दैन । माओवाद दीर्घकालीन जनयुद्धमार्फत् सत्ता कब्जा गरेर प्रतिस्पर्धालाई निषेध गरेर कम्युनिष्ट पार्टीको एकल शासन स्थापित गर्ने सिद्धान्त हो । नेपाली शासन सत्ता त्यो सिद्धान्तमा सञ्चालन हुन सक्दैन । तर जनताको बहुदलीय जनवादलाई त्यही कोटीमा राख्दा ठूलो अन्योल पैदा हुन्छ । भुईंको टिप्न खोज्दा खल्तीको खस्ने खतरा हुन्छ ।
ख) समाजवादको आधार तयार गर्ने सम्बन्धमा
निःसन्देह जननिर्वाचित कम्युनिष्ट सत्ताले नेपालमा समाजवादको आधार निर्माण गर्नेछ । यो उसको सबभन्दा महत्वपूर्ण कार्यभार हो । तर वैचारिक श्रृङ्खलालाई बन्द गरेर भ्याकुममा समाजवादको आधार तयार हुन सक्दैन । जबजले देखाएको बाटोबाट नै समाजवाद निर्माणको आधार तयार हुनसक्छ । कमसेकम एकीकृत पार्टीको संक्रमणकालीन मार्गदर्शन जबजले मात्र गर्न सक्छ । यसमा चाँहि नेता भुसाल पनि सहमत देखिनु हुन्छ । नेता भुसालले अन्तर्वार्ताको क्रममा भन्नु भएको छ —“ अब सिद्धान्तको प्रश्न छ, उनीहरु त माओवादी, हामी त जनताको बहुदलीय जनवादी, हाम्रोतिर भन्दा हुन् । उतातिर उनीहरु जबजवाला, हामी त माओवादी हौं भन्दा हुन् । तर, नबुझेर एक र अर्को बुझ्ने प्रयत्न नगरेर यी विवादहरु आएका हुन् । अलिकति ध्यान दियौं भने यसमा हामी ठेगानमा पुग्छौं ।माओवाद भनेको हो भनेर तपाईले माओवादीहरुलाई सोध्नुभयो भने अहिले भन्ने अर्कै कुरा होला, तर हिजोको दस्तावेज हेर्नुभयो भने माओवाद भनेको के होभन्दा अर्थसामन्ती(अर्ध औपनिवेशिक मुलुकमा गरिने क्रान्ति, जुन सशस्त्र हुनेछ । माओवादको परिभाषा यही हो ।”
नेपाली कम्युनिष्ट आन्दोलनको आगामी बाटो तय नगरी जबजलाई इतिहासको गर्भमा धकेल्ने प्रयास किमार्थ उचित हुँदैन ।
एकीकृत कम्युनिष्ट पार्टीको वैचारिक आधार तयार पार्ने बहसमा लामो समयसम्म रस्साकस्सी बहस चलिरहने छ । अहिल्यै नेता विशेषले यो विषय क्लोज वा ओपन गर्ने विषय होइन । क्लोज हुन सक्दैन । नेता भुसालको अन्तर्वार्ता पढेका एक स्थानीय एमाले नेताको उच्च नेताका यस्तै तुच्छ टिप्पणीले पार्टी एकता, राज्य सञ्चालन र समाजवादका आधार तयार गर्न वाधा पुग्छ भन्ने प्रतिक्रियालाई वेवास्ता नगर्ने हो भने पार्टी एकताको ह्यान्डलिङ सहजै हुन सक्दछ ।
ग) पार्टी एकताको सम्बन्धमा
गठबन्धन गरेर जनअनुमोदित भए पनि एमाले—माओवादी एकता अझै औपचारिक रुपमा शुरु हुन सकेको छैन । यसको प्रमुख कारण वैचारिक नभएर राज्यसत्ताको भागबण्डा र नेताहरुको पोजिसनमा सहमति हुन नसक्नु हो । जनताले दिएको अभिमतको आधारमा यसलाई मिलाउन दुबै पार्टीका सबै नेताको सकारात्मक पहलकदमी अपेक्षित छ । र, अहिले सबै विचारका पन्तुरा खोलेर एकताको महाधिवेशनले फैसला गर्ने सभ्य वातावरणको निर्माण हुनु आवश्यक छ । वैचारिक श्रृङ्खलालाई अहिल्यै किन क्लोज भएको घोषणा गर्ने ? नेपाली कम्युनिष्ट आन्दोलनको आगामी बाटो तय नगरी जबजलाई इतिहासको गर्भमा धकेल्ने प्रयास किमार्थ उचित हुँदैन ।















प्रतिक्रिया