
– मायानाथ अधिकारी
अब ४ नम्बर प्रदेशमा एमालेको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्नेछ ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि प्रदेश नम्बर ४ मा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । प्रदेश सभामा एमालेपछि नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतका पार्टीहरुको पनि उपस्थिति रहनेछ । ४ नम्बर प्रदेशका जनताले विकास चाहेका छन् । त्यसकारण पनि जनताले एमालेलाई विकास गर्छ भन्ने विश्वासका साथ पहिलो पार्टी बनाएको मैले महशुस गरेको छु । ४ नम्बर प्रदेश एउटा सम्पन्न प्रदेश पनि हो । यो प्रदेश धेरै जमिन, जलश्रोत, जडिबुटि, पर्यटन जस्ता सबै क्षेत्रमा समृद्ध रहेको छ । तर यसलाई व्यवस्थित गर्ने काम उल्लेख्य मात्रामा हुन सकेको छैन । त्यो काम गर्न एमालेको नेतृत्वमा सम्भव छ । यो कुरालाई अनुमोदन गर्दै एमालेलाई जनताले बहु्मत दिएका छन् । एमालेको नेतृत्वमा प्रदेश चारमा बन्ने बामपन्थी सरकारले सबैको सहयोग लिएर यो कार्यलाई सम्पन्न गर्नेछ । जनताको म्याण्डेटलाई आत्मसात गर्दै अब ४ नम्बर प्रदेशमा एमालेको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्नेछ ।
केन्द्रीय तहबाट नीति तथा विधिका साथ एमाले र माओवादी केन्द्रबीच एकताको प्रक्रिया अघि बढेको छ । एमालेका अध्यक्ष कमरेड केपी ओली र माओवादीका अध्यक्ष कमरेड प्रचण्डकोबीचमा यस सन्दर्भमा बारम्बार कुरा भइरहेको छ । केन्द्रमा पार्टी एकता संयोजन समितिमा बनेको छ । त्यसले पार्टी एकताको विधि तथा प्रकृया पनि तयार गर्नेछ । त्यसैविधि र प्रकृया अनुसार नै पार्टी एकता हुन्छ । ४ नम्बर प्रदेशका नेता कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुको चासो पनि पार्टी एकता हुनुपर्छ भन्नेमा नै छ । अहिले जनताले दिएको जुन म्याण्डेट छ, त्यो पनि पार्टी एकताको लागि नै हो भन्ने हामीले बुझेका छौँ । सुदृढ कम्युनिष्ट पार्टी बनोस् भन्ने चाहना ४ नम्बर प्रदेशका जनताको पनि छ । यो एकता जनताले धेरै पहिलेदेखि चाहेका हुन् । सबै कम्युनिष्टहरु मिलेर देशमा एउटै बलियो कम्युनिष्ट पार्टी बनोस् भन्ने नेपाली जनताको चाहना अब पूरा हुँदैछ । जनताले चाहेर पनि नेताहरुले त्यो कुराको व्यवस्थापन गर्न नसक्दा एउटा सुदृढ एकताबद्ध कम्युनिष्ट पार्टी बन्न सकेको थिएन । अहिले पार्टी एकताको लागि नेताहरुले गरेको पहल निकै सराहनीय छ । अब देशमा स्थिर सरकार बनेर देशले आर्थिक उन्नति गर्नेछ भन्ने सबैको अपेक्षा छ ।
मलाई लाग्छ चार नम्बर प्रदेश भनेको सबैभन्दा समृद्ध र सम्भावना भएको प्रदेश हो । चार नम्बर प्रदेशमा सबैखाले प्राकृतिक सम्भावनाहरु छन् ।
अबको हाम्रो ध्यान आर्थिक समृद्धितर्फ नै जानेछ । सात प्रदेशमध्ये भन्न त सबै प्रदेशका साथीहरुले आआफ्नो प्रदेशको समृद्धिको कुरा गर्नुभएको छ, त्यहाँको सम्भावनाको कुराहरु खोजी गर्नुभएको छ । तर मलाई लाग्छ चार नम्बर प्रदेश भनेको सबैभन्दा समृद्ध र सम्भावना भएको प्रदेश हो । चार नम्बर प्रदेशमा सबैखाले प्राकृतिक सम्भावनाहरु छन् । यहाँ अन्य प्रदेशको तुलनामा धेरै पर्यटकीय गन्तव्यहरु रहेका छन् । त्यसकारण यहाँका पर्यटकीय गन्तव्यहरुको संरक्षण तथा प्रबद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई बढाउन सकिने मैले देखेको छु । त्यसको प्रारम्भिक योजना हामीले पहिलेदेखि नै बनाएर अघि बढिरहेका छौँ ।
चार नम्बर प्रदेश जलस्रोतमा पनि निकै धनी छ । मर्स्याङ्दी, मादी, सेती, बुढिगण्डकी जस्ता मुख्या नदीहरु यहाँ छन् । त्यसकारण पनि जलविद्युतको लागि यो प्रदेशमा निकै सम्भावना छ । जलविद्युतबाट मात्रै पनि हामी यो प्रदेशलाई समृद्ध बनाउन सक्छौँ भन्ने मलाई लाग्छ । त्यतिमात्र नभइ यो प्रदेशमा प्रशस्त खानीहरु पनि छन् । यो भन्दा अगाडि केपी ओलीको नेतृत्वमा रहेको सरकारले अध्ययन गर्दा उप्पर मुस्ताङमा युरेनियमको खानी छ भन्ने पत्ता लागेको थियो ।
त्यस्तै नवलपुरमा १७ किलोमीटर भन्दा फराकिलो ठाउँ फलाम खानी छ । मुक्तिनाथमा जुन ग्यास बलिरहेको छ, त्यहाँ ग्यास खानी छ भन्ने चर्चा चलिरहेको छ । अन्य स्थानमा पनि विभिन्न खानीहरु गरेको जानकारी छ । ती खानीहरुको उत्खनन् गर्ने कार्य हुने हो भनेपनि यहाँका जनतालाई समृद्ध बनाउन सकिन्छ । कृषिको आधुनिकीकरण गरेर अथवा व्यवसायिकीकरण गरेर पनि हाम्रो प्रदेशलाई विकसित गराउन सक्ने पर्याप्त सम्भावनाहरु छन् भन्ने मेरो विश्वास छ ।
तर पनि ४ नम्बर प्रदेशका अधिकांश जिल्लाहरु विकट छन् । त्यसले विकास निर्माणका कार्यहरुमा केही चुनौति भने अवश्य सिर्जना गर्ने छन् । तर अब बन्ने सरकारले चुनौतिका बावजुद पनि विकास पुर्याउने कुरामा कुनै पनि कसर बाँकी छोड्ने छैन । सबै गाउँहरुमा, कम्तीमा वडा सेन्टरहरुमा पुग्ने गरी यातायातको सुविधा, सञ्चारको सुविधालगायत शिक्षा, स्वास्थ्य यी सबैको व्यवस्थापन हामीले गर्नुपर्ने हुन्छ । कतिपय ठाउँमा भइसकेको पनि छ, र कतिपय ठाउँहरुमा व्यवस्था गर्न बाँकी नै छ । व्यवस्था भइसकको ठाउँमा गुणस्तरीय बनाएर स्तरीय सेवा सुविधा दिने तथा नभएको ठाउँमा व्यवस्थापन गर्ने तर्फ हाम्रो ध्यान जानेछ । हामीले त्यहाँका जनतालाई कसरी सुखी बनाउन सकिन्छ, त्यो ठाउँलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा हाम्रो योजना छ । हामी त्यसै अनुरुप काम अघि बढाउने छौँ ।
हाम्रो प्रदेशका मानिसहरु सचेत छन् । एमालेलाई भोट दिएकै कारण सचेत छन् भनेर भन्न खोजेको चाहिँ होइन । तर मानिसहरु अब कसैको थिचोमिचोमा, कसैको प्रभावमा, कसैको दवाबमा बस्ने कुरामा सम्झौता गर्न सक्दैनन् । त्यसकारणले मैले जनता सचेत छन् भन्न खोजेको हो । जनताले धेरै बुझिसकेका छन् । समाज, देश र दुनियाँको बारेमा विश्लेषण गर्न सक्ने भएका छन् । जनताले कुन ठीक र कुन बेठीक तथा के सत्य र के झूठो हो भन्ने कुराको मूल्यांकन गर्न सक्ने भएका छन् । त्यसकारण पनि जनतालाई अब हिजोको जस्तो झूक्याएर, भ्रम फैलाएर, लोभ देखाएर, दवाब–प्रभावमा पारेर अब पार्टी तथा नेताहरुले काम गर्न सक्दैनन् । अबको दिनमा त काम र व्यवहारले जनतालाई प्रभावित गर्ने समय आएको छ । जसले समृद्धिको काम गर्छ, जसले विकास निर्माणलाई प्राथमिकता दिन्छ, जसले पूर्वाधारहरुलाई जनताको माझ पु¥याउँछ तीनै दल र नेताहरुले मात्रै जनतालाई प्रभाव पार्न सक्छ ।
(एमाले केन्द्रीय सदस्य तथा नवनिर्वाचित सांसद अधिकारीसँग दैनिक नेपालका हेम रोकाहाले गरेको कुराकानीमा आधारित)















प्रतिक्रिया