काठमाडौं । लोक गायिका इन्दिरा गोलेको सम्मानार्थ इन्दिरा गोले एकल सांगीतिक साँझ हुने भएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी हिमालयन इन्टरटेन्टमेन्ट ग्रुप प्रा.लि.ले एकल सांगीतिक साँझबारे प्रष्ट्याएको थियो । सम्मेलनमा आउँदो फागुन २६ गते गरिने ग्रुपका अध्यक्ष सुवास पाख्रिन लामाले बताए ।
उक्त सांगीतिक साँझमा गोलेले गाइसकेकी गीतहरुमध्ये चर्चित डेढ दर्जनभन्दा बढी गीत गाउने जानकारी गराइन् ।
सांगीतिक क्षेत्रमा बरिष्ठ गायिका इन्दिरा गोले अपरिचित नाम होइन । उनले ग्रामीण परिवेशमा प्रचलित विभिन्न जात्रा र बजारमा गीत गाउँदै सांगीतिक क्षेत्रमा होमिएकी थिइन् । गोले अहिले गाउँघरमा मात्र नभएर देशविदेशमा समेत सबैको मनमा बस्न सफल गायिका हुन् ।
गयिका गोलेले पूर्व मेचीदेखि पश्चिम महकालीसम्मका विविध भाषा र भाकामा २०४५ सालदेखि हालसम्म हजारौं गीत गाइसकेकी छन् । सदबहार गीतहरु चाँगुनारानथान…, बेशी झरन ….., जाइफूलको बासना…, घर त छाउनीमा….., डमडम…, ए होइ ज्यानै खायो…, छालाले मोरेको…., सफा ट्याम्पुरी….., आपा त गाङदान…, लगायत गीतहरु हालसम्म चर्चित रहेका छन् ।
पिता जितबहादुर गोले र माता प्रेममाया लोप्चनको कोखबाट २०२३ मा साविक भारदेउ गाविस हाल कोन्ज्योसोम गाउँपालिका–८ मा जन्मिएका गोले गायनकै क्रममा नेपालको विभिन्न सहर र विदेशमा जापान, हङकङ, अष्ट्रेलिया, कोरिया, मलेसिया, कुवेत, कतार, बहराइन पुगिसकेकी छन् । र आउँदो ल्होछारमा युरोप यात्राको तय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले यूरोपको स्विजरल्याण्ड, बेल्जियम, पर्चुगल लगायत विभिन्न सहरमा हुने प्रस्तुति दिनेछ ।















प्रतिक्रिया