
कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम हो । तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् ।
कलाका ९ वटा एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् । उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रह्यो । पछिल्लो समय उनको ‘बनैमा पुल्यो चमेली’ बोलको गीत रिलिज भएको छ । उनी हाल त्यसकै प्रोमोशनमा व्यस्त छिन् । प्रस्तुत छ, गायिका कला लम्सालसँग दैनिक नेपालका हेम रोकाहाको कुराकानी:
खुबै व्यस्त हुनुहुन्छ है ?
मेरो भर्खरै मात्र रामजी खाँण दाईसँगको ‘बनैमा फुल्यो चमेली’ रिलिज भएको छ । त्यसकै प्रोमोशन गर्न दौडधुप छ ।
प्रेम भए पछाडि सेक्स हुनैपर्छ भन्ने मलाई लाग्दैन । तर भए पनि ‘इट्स ओके’ !
सांगीतिक क्षेत्रमा लाग्न के ले तान्यो ?
यो नेचुरल कुरा हो जस्तो लाग्छ । मैले गीत गाउने वरदान पाएको थिएँ । त्यसै वरदानको सदुपयोग गरेकी हुँ । म तनहुँ जिल्लामा जन्मिएँ । तुनहुँमा लोकगीत निकै प्रख्यात छ । त्यहाँको हावा पानी नै त्यस्तै छ । जसले मलाई लोक गायिका बनायो । सायद म गीत गाउनै जन्मेको हो जस्तो लाग्छ ।
लोक गीत नै चाँहि किन गाउन मन लाग्यो ?
मेरो आवाज लोक गीतमा बढी फिट हुन्छ । र, मलाई पनि लोक गीत नै बढी मन पर्छ । म सानैदेखि लोक गीत सुनेर नै हुर्केको हुनाले मैले लोक गीतको क्षेत्रनै रोजेको हुँ ।

अहिलेसम्म प्रेममा पर्नु भा’छ कि छैन?
(हाँसो…) पर्या छैन ।
प्रेम प्रस्ताव त आउँछ होला नि ?
प्रस्ताव त आउँछ, धेरैको आउँछ । तर त्यसलाई कसरी हेर्ने भन्ने कुरा हो । मेरो गीतलाई मन पराईदिनु भएको कारणले हो जस्तो लाग्छ मलाई ।
तपाईंको विचारमा प्रेम के हो ?
प्रेम दुई आत्माको मिलन हो । दुई जनाबीच समझदारीपूर्वक हुने सम्बन्ध नै प्रेम हो जस्तो लाग्छ ।
प्रेमसँग सेक्स पनि जोडिन्छ, तपार्इंले सेक्सलाई कसरी लिनुभा’छ ?
यो प्राकृतिक कुरा हो । सबै सजिव प्राणीको लागि यो एउटा सृष्टि धान्ने माध्यम हो । यसलाई म सकारात्मक कुराकै रुपमा लिन्छु ।
प्रेममा सेक्स हुनु जरुरी छ ?
प्रेम र सेक्स अलग पाटो हो जस्तो लाग्छ मलाई । प्रेम भए पछाडि सेक्स हुनैपर्छ भन्ने मलाई लाग्दैन । तर भए पनि ‘इट्स ओके’ !
सेक्सको प्रस्ताव पनि आउने गर्या छ ?
आउँदैन, सेक्सको प्रस्ताव त । तिमी मन पर्छ, तिमी मान्छे राम्री छौ, तिम्रो गीत मन पर्छ भन्ने हुन्छन् । तर त्यस्तो सिधै सेक्सको प्रस्ताव गर्ने चाँहि अहिलेसम्म आएका छैनन् ।
ठीक छ, अब गायन क्षेत्रतर्फ नै फर्कौँ, यो क्षेत्रमा लाग्न तपाई प्रेरणा दिने व्यक्ति को हो ?
मेरो परिवारबाट साँगीतिक क्षेत्रमा लागेको म मात्रै हो । घरमा बुवाले हार्मेनियम बजाउने हुनाले केही बाद्यबाधनका साधनहरु त हुन्थे । रेडियो नेपालमा कोमल ओलीका गीतहरु सुन्दा मैले पनि गीत गाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । उनले समाचार पढ्दा मलाई पनि समाचार वाचिका हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो साथैदेखि । त्योसँसगै यो क्षेत्रमा आएकी हुँ ।
लोक गायन क्षेत्रमा सबैभन्दा बढी कसको गीत मन पर्छ ?
मलाई सबैको गीत मन पर्छ । आवाजको हिसावले मलाई देवी घर्तिको गीत मन पर्छ । अहिले ‘स्टेज क्वीन’ प्रीति आले, सृजु अधिकारी, सावित्री जोशीहरुको गीत मन पर्छ ।
आफ्नो स्तरका गायक–गायिकामध्ये कसलाई देखेर बढी डाहा लाग्दैन ?
मलाई डाहा कहिल्यै पनि लाग्दैन । सबैको आ–आफ्नो पन हुन्छ । सबैले आफ्नो पन देखाउने हो । त्यसैले मलाई कसैको डाहा भन्ने नै लाग्दैन, यो नै मेरो राम्रो पक्ष लाग्छ जस्तो लाग्छ मलाई ।
लोक गायन क्षेत्रमा कला लम्साल कुन लेभलमा छ अहिले ?
म एकदम लोकप्रिय भइसकेको पनि छैन । म भर्खरै सुरु गरेको अथवा सिक्दै गरेको गायिका पनि होइन । म यिनै दुई कुराको बीच तिर छु जस्तो लाग्छ । म एउटा विद्यार्थी नै हो संगीतको । अझै धेरै कुरा बुझ्न, सिक्न बाँकी नै छ ।
संगीत अध्ययन गर्नुभा’छ ?
मैले २०६३/६४ सालतिर संगीतको कक्षा लिएको थिएँ । त्यसपछि कुनै सांगीतिक कक्षा त लिएको छैन तर व्यवहारिक रुपमा नै मैले धेरै कुरा सिक्दै आएको छु ।
भविष्यको योजना के छ?
अझै अघि बढ्दै जाने । अझै स्रोतको माया पाउने र सांगीतिक क्षेत्रलाई अघि बढाउने योजना छ ।













प्रतिक्रिया