
– सावित्री श्रेष्ठ
१८ बर्ष अघि हामी जसरी न्यायको खोजीमा भौंतारिएका थियौं, आज पनि त्यसरी नै न्यायकै भीख मागिरहेका छौं । त्यसैले म प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न चाहन्छु – ‘प्रचण्डका प्रिय भीआइपी अभियुक्त कहिले जान्छन् जेल ?’
मानिसका लागि हरेक पल महत्वपूर्ण छ । तर, हाम्रो परिवार १९ बर्ष पीडामै बिताउन बाध्य भयो । ठीक १९ बर्ष अघि मेरो प्रिय भाई उज्जनकुमार श्रेष्ठ हामीबाट बिदा भएको थियो । २०५५ साल असार १० गते ओखलढुंगा टारकेराबारीस्थित खहरे खोलाको दोभानमा बालकृष्ण ढुंगेल लगायतले मेरो भाईको प्राण लिए । जतिबेला बालकृष्ण ढुंगेल तत्कालिन शाही नेपाली सेनाबाट जागिर छाडेको एक साधारण व्यक्ति मात्र थिए, माओवादी थिएनन । तर, नितान्त व्यक्तिगत रिसिइबीले मेरो भाइको हत्या गरेपछि उनी माओवादीमा प्रवेश गरे । माओवादीका तर्फबाट सभासद्सम्म भए । तर, १८ बर्ष अघि हामी जसरी न्यायको खोजीमा भौंतारिएका थियौं, आज पनि त्यसरी नै न्यायकै भीख मागिरहेका छौं । त्यसैले म प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्न चाहन्छु – ‘प्रचण्डका प्रिय भीआइपी अभियुक्त कहिले जान्छन् जेल ?’
२०५५ असार १० गते
टारकेराबारी– ७, ओखलढुंगा
बिहान तीन बजे । उज्जन मस्त निद्रामै थिए । रामेछापको धोबीडाँडामा प्रत्येक साताको बुधबार हाटबजार लाग्थ्यो । घरका अनाज बेच्ने र आवश्यक सामान खरिद गर्ने थलो हाट नै थियो । बिहानै किनमेल गरी बेलैमा फर्कने सल्लाहमा घरमै सुताएका दुई भरिया रामबहादुर श्रेष्ठ र थीरबहादुर खत्रीले उज्जनलाई उठ्न भने । तर, उठाउन एक घण्टा लाग्यो ।
‘अहिल्यै नहिँड्ने भए हामी जाँदैनौैं’ भरिया रामबहादुरले घुर्की लगायो ।
‘अलि उज्यालो होस्, पाँचबजेतिर जाउँला, अहिले सुत’ उज्जनको आग्रह भरियाले मानेनन ।
भरियाले अड्डी कसेपछि केही लागेन । उज्जन आँखा मिच्दै घरबाट निस्किए ।
साँढे चारबजेतिर टर्च बालेर तीनैजना लिखु खोलाको तिरैतिर धोबीडाँडातिर लागे । घरबाट २० मिनेट हिँडेपछि खहरे खोलाको दोभान आइपुग्यो । चम्किलो टर्चको प्रकाश एक्कासी आँखामा परेपछि उज्जन झस्किए । खेतको कुलोमा एउटा ठूलो ढुंगोमा केही मानिस लुकेर बसेको देखे । हुलमा थिए, बालकृष्ण ढुंगेल, पुष्कर गौतम, डोरबहादुर पौडेल, थलबहादुर पौडेल, पर्वत भट्टराई र अन्य सहयोगी ।
‘तिमीहरू भाग’ ढुंगापछाडिबाट आवाज आयो ।
उज्जनको हंसले ठाउँ छाड्यो । उज्जनसँग आएका दुई भरिया पछाडि सरे । केही सोच्न भ्याएकै थिएनन, पुष्कर गौतमले टर्च देखाउँदै गोली ठोक भन्यो । बालकृष्ण ढुंगेलले गोली बर्सायो ।
गोली लागेपछि उज्जन ‘आमा……..!’ भन्दै खेतको गह्रामा ढले । भाग्न खोज्दा घेरा हालेर सबैले खुकुरी प्रहार गरे । उज्जनको त्यहीं निर्मम हत्या भयो । सबै मिलेर उज्जनको शव लिखु खोलामा बगाइदिए । घटनास्थलमा ठाउँ–ठाउँमा रगत जमेकाले पनि हत्याको निर्ममता प्रष्टै झल्कन्थ्यो । हत्यापछि उनीहरूले उज्जनको रगतमा हात चोपल्दै नदी किनारको ढुंगामा त्यसको निशानी समेत छाडे । र, लाँकुरीभञ्ज्याङमा पुगेपछि ‘आज हाम्रो जित भयो’ भन्दै सबैले दही बाँड्दै खाएर रमाइलो मनाए ।
हत्या योजनामा संलग्न डोरबहादुर ‘उज्जन कहाँ गयो ?’ भन्दै टारकेराबारीस्थित मिलघर आइपुग्यो । बुहारी लक्ष्मीले हाट गएको भनेपछि ‘ए….’ भन्दै फर्कियो ।
हत्या योजनामा संलग्न नरहेका भरिया रामबहादुरले भने ‘बालकृष्ण ढुंगेल, पुष्कर गौतम लगायतले मारेर खोलामा फालेको’ सन्देश लेती घरमा पुर्यायो । दाई गणेशकुमार श्रेष्ठ कुँद्दै घटनास्थल पुग्दा हत्या प्रमाणित भयो । नजिकैको प्रहरी चौकीमा जानकारी दिएपछि काठमाडौंबाट हेलिकप्टरमार्फत प्रहरी घटनास्थल पुग्यो । शव नभेटेपछि सर्जिमन र घटनास्थल मुचुल्का उठाएर प्रहरी फर्के ।
भाईको हत्याबाट छट्पटिएका माइला दाजु गणेशकुमार श्रेष्ठले तत्कालै गामनाङटार प्रहरी चौकीमा जानकारी दिनुभयो । २०५५ असार १४ गते जिल्ला प्रहरी कार्यालय ओलखढुंगामा पनि किटानी जाहेरी पर्यो । किटानी जाहेरीकै आधारमा बालकृष्ण ढुंगेल, पुष्कर गौतम, केशव ढुंगेल र पर्वत भट्टराईबाहेक सबै केही दिनको अन्तरमै पक्राउ परे ।
बालकृष्ण ढुंगेल भने लुकीछिपी बसेकै अवस्थामा घटना भएको केही महिनापछि पल्लो लेतीस्थित ससुरालीबाटै पक्राउ पर्यो । पुष्कर गौतम र केशव ढुंगेल भने फरार भए ।
यसकारण मारियो उज्ज्नलाई
धान कुट्ने मिलमा आउजाउ गर्दागर्दै देखभेट भएका उज्जन र रेनुका पौडेलको केही समयमै गहिरो प्रेम बस्यो । हँसिलो अनुहार, अग्लो –खँदिलो ज्यान र गाउँमै व्यापार व्यवसाय गरेका उज्जनसँग आफ्नो जीवन हाँसीखुसी बित्नेमा ढुक्क थिइन रेनुका ।
नमान्दा नमान्दै बिहे भएको भन्दै पहिलो श्रीमतीलाई उज्जनले स्वीकारेका थिएनन् । आफैले रोजेकी काठमाडौंकी महालक्ष्मी श्रेष्ठसँग पनि बालबच्चा नहुने भयो । घरमा पत्नी हुँदाहुँदै पनि रेनुकालाई भित्राउन चाहे उनले । माइतीको स्वीकृति बेगरै रेनुकाले उज्जनसँग बिहे गरिन । तर, रेनुकालाई उज्जनले घरमा चाँहि भित्राएको थिएन ।
बिहे भएको आठमहिनापछि प्रेम विवाहकै कारण माइती पक्षबाट यस्तो घटना भयो, जसले उज्जनको मात्र ज्यान लिएन । हाम्रो परिवारमा कहिल्यै नपरेको पीडाको बाढी ल्याइदियो ।
घटना भएको एकमहिनापछि दुई भरियाले अदालतमा बयान दिए: ‘रेनुकाका दाइ र बालकृष्ण ढुंगेलले उज्ज्नलाई मार्ने योजना अनुसार हामीलाई उज्यालो नहुँदै खोलाको तिरैतिर ल्याउनु भनेका थिए । हामीले त्यसै गरेका हौं, पुष्करले टर्च लाइट देखाए, बालकृष्णले गोली हाने । अनि हत्या गरेर लिखु नदीमा बगाइदिए ।’
रेनुका दाजु डोरबहादुर पौडेल टारकेराबारी गाविसको तत्कालिन वडाध्यक्ष थिए । रेनुकाको बिहे लगत्तै उनका कान्छा दाई थलबहादुर र उज्जनबीच पटकपटक झगडा परेको थियो । ‘तल्लो जात’ले माथिल्लो ताक्ने भन्दै मार्ने धम्की पनि दिइरहन्थे । डोरबहादुरका आफन्त हुन, बालकृष्ण ढुंगेल । ढुंगेल तत्कालिन शाही नेपाली सेनाको जागिर छाडेर घरमै बस्थे । डोरबहादुरकै योजनामा बालकृष्ण पनि मिसिए । सेनाको तालिम प्राप्त बालकृष्ण गोली हान्न प्रयोग भए । उज्जनको हत्यापछि गाउँमा बस्ने अवस्था रहेन । आफुलाई जोगाउन बालकृष्ण माओवादीमा प्रवेश गरे । पुष्कर भने पुरानै माओवादी कार्यकर्ता थिए । बालकृष्ण जस्ता तालिम प्राप्त पूर्वसेना पाउँदा पुष्कर मख्ख पर्ने नै भए । उनले बालकृष्णलाई माओवादीको कार्यकर्ता बनाइदिए ।
जतिबेला उज्जनको हत्या भयो, त्यतिबेला पुष्कर गौतमबाहेक गाउँमा कोही माओवादी थिएनन । रेनुकाका दाजु डोरबहादुर भने एमालेबाट निर्वाचित वडाध्यक्ष थिए, उनका भाई थलबहादुर पौडेल पनि एमालेनै । अरू कुनैपनि पार्टीमा लागेका थिएनन् । तर, भाइको हत्यामा संलग्न डोरबहादुर र थलबहादुरबाहेक सबै आफुलाई जोगाउन माओवादीमा प्रवेश गरे ।
ओखलढुंगामा रहेकी आमाको छिनछिनमा होस गुम्न थाल्यो । घरको भान्साबाटै उज्जनलाई गोली हानेको ठाउँ देखिन्थ्यो । त्यही सहन नसकी आमा खाटमै बेहोस भइरहने । बालकृष्ण माओवादीमा प्रवेश गरेपछि तारन्तार आइरहेको धम्कीले गाउँमै बसिरहने अवस्था पनि रहेन । त्यसपछि बृद्ध आमाबा दुवै काठमाडौं झरे । यसअघि नै अरू सबै काठमाडौंमा बिस्थापित भइसकेका थिए । मानसिक र आर्थिक रूपमा झनै ठूलो तनाव सुरू भयो ।
उता घरको सबै सरसमान, पसल, मील, जग्गाजमीन भएभरका सबै माओवादीले कब्जा गरे । ओखलढुंगा पोकलीको घर माओवादीले कार्यालय खोलेर संचालन गरे, त्यसको केहीदिनमै तत्कालिन शाही नेपाली सेनाले बम पडकाएर घरै उडाइदियो ।
न्याय खोज्दा दाइको पनि प्राण लिए

२०५९ मंसिर ६ गते
साँघुटार, रामेछाप
जब बालकृष्ण ढुंगेल माओवादीमा प्रवेश गरे, प्रहरीमा दिएको किटानी जाहेरी फिर्ता लिन माओवादीतर्फबाट धम्कीपत्र आउन थाल्यो । स्वयम् बालकृष्णले पनि पटकपटक माइला दाई गणेशकुमार श्रेष्ठलाई ज्यान लिने धम्की दिन्थे । भाई त गुमाइयो, दाईलाई पनि बचाउन नसक्ने अवस्था रहेपछि घरमा निकै ठूलो तनाव छायो । त्यसपछि दाई छिमेकीहरूको घरमा लुकेर ज्यान बचाउन बाध्य हुनुभयो । केही शिवाय लागेन, परिवारकै सल्लाहमा काठमाडौं आउनुभयो ।
घर नफर्कने सल्लाहमा दाई काठमाडौंमै बस्नुभयो । न्याय खोज्दै काठमाडौंका सडक र गल्लीमा भौंतारिरहनुभयो । साँघुटारको घरमा भाउजु र ससाना छोराछोरीहरू मात्र थिए । उनीहरू उतै पढने भएकाले पढाई बिगारेर काठमाडौं ल्याउन मिलेन । भाउजुलाई पनि रोगले च्याप्यो । उपचारका लागि भाउजु पनि यतै आएपछि एकातिर केटाकेटीको चिन्ता, अर्कोतिर खेती बिग्रेको चिन्ताले दाईलाई सताउन थाल्यो ।
धान भित्राउने बेला भैसकेको थियो, एकपटक गाउँ गएर धान भित्राएर छोराछोरीको चाँजोपाँजो मिलाउँछु भन्दै घर जान जिद्दी गर्न थाल्नुभयो । दाईलाइ रोक्न सक्ने कुरा पनि भएन् ।
गाउँ पुगेको दुई साता नहुँदै माओवादीहरू घरमै आइपुगे । घरमा माइली छोरी रचना र ससाना छोरीहरूमात्रै थिए । १३ बर्षीया रचनाले धेरैकुरा सोच्न भ्याइनन् । राम्रै ठानेर खेतमै लगेर देखाइदिइन । दाईलाई देख्ने बित्तिकै माओवादीहरू झम्टन थाले । परालले पछाडि पट्टि हात बाँधेर छोरीकै अगाडि खेतमै गोली ठोके ।
हत्यालगत्तै माईला दाईको लास नउठाउन माओवादीले सबैलाई चेतावनी दिए । लास उठाए यस्तै गति हुन्छ भन्दै बजारमै खबरदारी गरेपछि लास कुर्र्ने समेत कोही भएन ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा जानकारी दिइयो । तर, प्रहरीहरू घटनास्थल पुग्ने हिम्मत गरेनन् । एमाले जिल्ला पार्टी कार्यालयमा लास उठाउन गुहार माग्दा पनि एमाले नेताहरूले हिम्मत गरेनन । दाजुभाई इष्टमित्रलाई गुहार्दा कसैले पनि माओवादीको उर्दी नाघ्न सकेनन् । घटनाको तीन दिनपछि कान्छो भाई दीपेन्द्र र ज्वाईं गणेशमान लामा काठमाडौंबाट घटनास्थल पुगे । तर, माओवादीले जलाउन दिएनन ।
लिखु खोलाको किनारमा खाल्डो खनेर दाईको अन्त्येष्टि गरी उनीहरू काठमाडौं फर्किए । भाईको हत्या भएको चारबर्षपछि लिखु खोलामै दाईलाई पनि दुःखद बिदाई गर्नुप¥यो । माओवादीको धम्कीले दागबत्ती दिने मानिस समेत भेटिएनन् । छोरी रचनाले नै बुवालाई दागबत्ती दिइन् ।
दाई गणेशकुमारलाई गुमाउनु परेको पीडा आलै थियो, हत्याकै दिनदेखि साँघुटारका सम्पूर्ण व्यापारीलाई घर खाली गर्न उर्दी आयो । त्यसअघि नै माओवादीले लेतीको घरजग्गा कब्जा गरिसकेका थिए । दाईको सम्पूर्ण परिवार खाली हात काठमाडौं आयो । कुनैबेलाको हाँसीखुसी हाम्रो परिवार एकाएक बिचल्लीमा प¥यो ।
फोटो
तेश्रो शोक: बाबा–बाबा भन्दै गइन् रचना

२०६५ जेठ २९ गते काठमाडौं
भाई उज्जन र माईला दाई गणेशकुमारको हत्यारालाई सजाय दिलाउन सम्पूर्ण परिवार राज्यसँग भिडिरहेको थियो । यसैबीच आफ्नै अगाडि बुवाको मृत्यु देखेकी रचना श्रेष्ठको कलिलो मस्तिष्कमा पीडाबोध बढ्दै गयो । बुवालाई देखाएको र आफ्नै कारणले हत्या भयो भन्दै संधै रोइरहने र मानसिक रूपमा आफुलाई दोषी ठहराउँदै आएकी थिइन, उनले । त्यही बर्ष एसएलसीमा फेल भएपछि रचना झन्झन् गल्दै गइन । मन बहलाउन परिवारको सल्लाहमा उनलाई जिरीको प्राविधिक स्कुलमा भर्ना गरिदिएँ । त्यहाँ पास भएर आएपनि बुवासँगको वियोगको पीडाले उनलाई छोडेन । र, अपराधबोधबाट छुटकारा पाउन २०६५ जेठ २९ गते आफ्नै गलामा पासो लगाएर आत्महत्या गरिन्, उनले ।















प्रतिक्रिया