३ कार्तिक २०८३, मंगलबार

युट्युबमा अश्लिल सामग्रीहरु सम्प्रेषण हुन थालेपछि संगीत कला पत्रकार संघद्वारा खेद प्रकट

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । नयाँ सञ्चारमाध्यमको रुपमा विकसित भइरहेको युट्युबमा अन्तवार्ता र रिपोर्टका नाममा अश्लिल, दुई अर्थ लाग्ने तथा कसैको चरित्रमाथि आँच आउने खालका सामाग्रीहरु प्रेषण गर्ने प्रवृत्ति बढेको भन्दै संगीत कला पत्रकार संघले खेद प्रकट गरेको छ । संघले सोमबार प्रेस विज्ञप्तिमार्फत नियमनका लागि सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण समेत गराएको छ ।

संघको सोमबार बसेको बैठकले यस्ता कार्यमा संलग्नहरुलाई वहिष्कार गर्ने निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी संगीत, कला (चलचित्र, नाटक, टेलिफिल्म) क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिरहेका डिजिटलमाध्यममा अन्तवार्ता र रिपोर्टका नाममा अश्लिल, द्ववीअर्थी, चरित्रमाथि आँच आउने खालका सामाग्रीहरु प्रेषण गर्ने प्रवृत्ति बढेको छ । सस्तो लोकप्रियता र अर्थोपार्जनका लागि पत्रकारिताको न्युनतम मूल्य मान्यता विपरित भइरहेका यस्ता हर्कतप्रति खेद प्रकट गर्दछौँ । साथै यसको नियमनका लागि सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गर्न चाहान्छौँ ।’

पत्रकारिताका नाममा अश्लिलता, सामाजिक विसंगति र विकृति फैलाउने गतिविधिमा संलग्नहरुलाई यथाशिघ्र कारवाही गरी यसलाई निरुत्साहित गर्न सरोकारवाला निकायहरुसँग संघले आग्रह गरेको छ ।