
– मधुसूदन दवाडी
देउवा अझै असफल हुन चाहन्छन् । त्यसैले न प्रधानमन्त्री पद सहजै छाड्न चाहन्छन्, न त हारबारे पार्टीभित्र बहस चलाउन चाहन्छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो शक्तिको रुपमा लज्जास्पद पराजयसँगै देउवाको राजनीतिक भविष्य र उनको कार्यशैलीबारे फेरि चर्चा परिचर्चा सुरु भएका छन् । देउवाको राजनीतिक इतिहास हेर्यो भने चाहे राजाले प्रत्यक्ष शासन हातमा लिँदा होस् वा पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग झगडा गरेर आफ्नै पार्टीको बहुमत गुमाउँदा होस् उनी विवादमा आइरहन्छन् । अहिले पनि उनी पार्टी सभापति र प्रधानमन्त्रीको हैसियतबाट कांग्रेसको हारका लागि जिम्मेवारी लिने व्यक्ति हुन् । देशभरबाट निर्वाचन परिणामको घोषणा भइरहँदा र कांग्रेसका शीर्ष नेताहरु पराजित भइरहँदा धेरैले अनुमान गरेका थिए अब देउवाले पार्टी नेतृत्व र सरकार दुवैबाट राजिनामा देलान् । तर, उनीमा त्यसप्रकारको साहस देखिएन । उल्टै झन् राष्ट्रियसभा सम्बन्धी विद्येयक पारित नभएको भन्दै उनी विद्येयक पारित नभएसम्म सत्ता नछोड्ने हठ गरिरहेका छन् । वाम गठबन्धन हामीले दुई तिहाइ बहुमत ल्यायौ हामी चलाउँछौं देश भन्दै छन् तर देउवा भने कुर्ची छोड्ने सुरुसार नै गर्देनन् । उल्टै प्रचण्डलाई प्रधानमन्त्री बनाएर कांग्रेसको सहयोगमा नयाँ सरकार बनाउने कि भन्ने दाउमा देउवा र उनको पार्टी कांग्रेस देखिन्छ । देउवाको कार्यशैलीलाई हेर्दा उनी निर्वाचनको पराजय स्वीकार गरेर, कार्यशैलीको आत्मलोचना गर्ने भन्दा पनि अझै वामपन्थीलाई गाली गरेर आफूलाई बलियो देखाउन तम्सिएका छन् ।
देउवा माओवादी केन्द्रको सहयोगमा सरकारमा पुगेदेखिनै उनी विवादमुक्त बन्न सकेनन् । चाहे जम्बो मन्त्रिपरिषद् गठन गर्नमा होस् वा निर्वाचनको मुखमा असंवैधानिक नियुक्ति गर्नमा होस् उनको सरकार माहिर नै बन्यो । उनले सार्वजनिक स्थान र सभाहरुमा बोलेका कुराहरु पनि प्राय विवादित नै बनिरहे । चाहे बीबीसीको साझा सवालमा प्रश्नकर्तालाई थर्काउन होस् वा ज्योतिषीले मलाई फेरि पनि प्रधानमन्त्री बन्छौं भनेको छ भनेर तर्क दिन होस् उनी निरन्तर चर्चामा रहिरहेँ । उनी १३ औं महाधिवेशनबाट कांग्रेस पार्टीको निर्वाचित सभापति र देशमा पटकपटक प्रधानमन्त्री त बने तर उनको कुनै पनि सरकारले नेपाली नागरिकलाई देशमा सरकार छ भन्ने आभाष दिन सकेन । सत्ता र शक्तिको लागि जे गर्न र जे बोल्न पनि पछाडि नपर्ने एउटा अन्यौलग्रस्त नेताको रुपमा उनको छवि नागरिकको अगाडि प्रष्टसँग देखिन पुग्यो । चाहे २०५२ सालतिर होस् वा विसं २०५८ साल अहिले विसं २०७४ सालमा उनको राजनीति गर्ने कार्यशैलीमा कुनै सुधार देखिएन ।
विसं २००३ सालमा डडेलधुरामा जन्मिएका देउवा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेका थिए । उनी नेविसंघको प्रथम सभापति पनि हुन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई आफ्नो राजनीतिक गुरु मान्ने देउवा पञ्चायत विरोधी आन्दोलनमा पटकपटक गरेर झण्डै दश वर्षसम्म जेल जीवन बिताएका थिए । गृहमन्त्री र चार पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवा सुदूर पश्चिमका एक मात्र प्रभावशाली नेता मानिन्छन् । २०५९ सालमा पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई ‘असक्षम’ घोषणा गरेर हटाएपछि उनको लोकप्रियता केही खस्किएको थियो । उनलाई त्यसपछि संसदीय प्रजातन्त्र दरबारमा लगेर बुझाएको आरोप पनि लाग्यो । तत्कालीन दरबारसँग मिलेरै जानुपर्छ भन्ने मान्यताले गर्दा पनि उनी दरबारको दुष्चक्रको शिकार बन्न पुगे । सोही विषयलाई लिएर पार्टीभित्र व्यापक आलोचना भएपछि उनले २०६१ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको गठन गरे तर पछि सो पार्टी पुनः नेपाली कांग्रेसमा नै एकीकरण भयो । कोइराला परिवारको दबदबाले गर्दा देउवा सधै पार्टीभित्र सँधै अल्पसंख्यक समूहको व्यक्तिजस्तो बनिरहे । पार्टीको नेतृत्वमा नरहे पनि विसं २०४६ सालपछि आजसम्म लगातार उनी नेपाली राजनीतिको केन्द्रमा रहिरहेका छन् । सुशील कोइरालाको निधनसँगै राजनीतिक अनुभव र उचाइका आधारमा उनी पौडेलभन्दा परिपक्क देखिएकोले पनि उनी आम नेता तथा कार्यकर्ताको रोजाइमा परे ।

हरेक मानिसका आफ्नै सकारात्मक तथा नकारात्मक गुण तथा विशेषताहरु रहन्छन् । पौडेल र देउवाका पनि नेपाली राजनीतिमा आफ्नो बेग्लै पहिचान तथा विशेषता रहेको छ । दुबै नेता पार्टी नेतृत्वमा नरहे पनि नेपाली राजनीतिमा भने परीक्षण भइसकेका नेताहरु हुन् । देउवाको राजनीतिक जीवनलाई अध्ययन गर्दा उनमा आवश्यकताअनुसार खुम्चन, फैलन, कठोर र लचक बन्न सक्ने विशेषता भएका नेताका रुपमा चिनिन्छन् । झनक्क रिसाउने उनको गुण भए पनि उनी सरल र मित्रवत् नेताको रुपमा पार्टीभित्र पहिचान बनाएका छन् । सरकारमा रहँदा जम्बो सरकारको गठन गरेर सुविधाभोगी र बिलासी राजनीतिलाई मलजल गरेको उनलाई आरोप लागेको छ । तर, पनि कांग्रेसमा देउवाबाट केही सुविधा पाउने आशा राख्ने धेरै नै नेताहरु रहेका छन् । पटक पटक प्रधानमन्त्री बनेका नेता भएकोले पनि उनको अन्र्तराष्ट्रिय सम्बन्ध वृहत र फराकिलो रहेको छ । उनलाई भारत, अमेरिका र युरोपले निर्णय गर्न सक्ने क्षमताका नेताका रुपमा लिने गरेका प्रशस्त उदाहरणहरु छन् । उनको क्षमता र अनुभवको अग्नीपरीक्षामा उनी सफल भने बन्न सकेनन् ।
देउवा कांग्रेस सभापतिमा निर्वाचित भएसँगै उनले अबको आफ्नो मिसन पार्टीलाई सबल, सक्षम र एक बनाउने रहेको बताएका थिए । महाधिवेशनमा तीन गुटमा विभाजित बनेको कांग्रेस भावनात्मकरुपमा एक हुन अझै सकेको पाइएन । महाधिवेशनमा देखिएको आरोप प्रत्यारोप दीर्घकालीनरुपमा आपसी विश्वासको संकटको रुपमा रहिरह्यो जसले देशलाई र पार्टीलाई फाइदा गर्दैन । विसं २०४८ सालदेखि २०७४ सालसम्मको कांग्रेसले प्राप्त गरेको जनमतको प्रतिशत हेर्दा कांग्रेसको जनविश्वास निरन्तर ओरालो लाग्दै गएको देखिन्छ । गुटकै राजनीतिले पार्टी पटकपटक विभाजित बनेको छ भने गुटले गर्दा स्पष्ट बहुमतको सरकार एक वर्ष पनि टिक्न सकेको छैन । कांग्रेसभित्र फस्टाएको आन्तरिक विवादले गर्दा नै विसं २०४६ सालपछि नेपालको राजनीति निकै अस्थिर र अन्यौलग्रस्त बन्न पुग्यो । जसको एक मुख्य पात्र शेरबहादुर देउवा नै बन्न पुगे ।
देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्नुमा पुरानो पार्टीको नाताले कांग्रेस पनि केही हदसम्म जिम्मेवार देखिन्छ । इतिहासमा नै निकै लामो समयसम्म सत्तामा रहे पनि कांग्रेसले पार्टी तथा नेताको स्वार्थबाट बाहिर उठेर देशको स्वार्थबारे सोच्नसम्म सकेन । बदलिदो समयअनुसार आम नेपालीको इच्छा, आकांक्षाहरु बदलिँदै गएका छन् जसकै कारणले गर्दा पनि अब पुरानै ढर्राबाट कांग्रेस सञ्चालन हुन असम्भव देखिन्छ । यदि कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र सबल बनेर, विधि, नीति तथा योजनाका साथ पार्टीलाई चलाउन नसक्ने हो भने कांग्रेसको लोकप्रियता झनै खस्कँदै जाने निश्चित छ । यदि पार्टी व्यवस्थित पद्धति र प्रणालीमा चल्दैन भने नेतृत्वमा नयाँ अनुहार बदलिँदैमा सुधारको आशा राख्न सकिँदैन । काँग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङहरुले त्यसै उनीविरुद्ध अभियान चालेका हैनन् । पटकपटक असफल भइसकेका देउवालाई सभापति बनाउनु नै गलत थियो भन्ने बुझाई अहिले काँग्रेस वृत्तमा व्याप्त देखिन्छ । देउवालाई बिदा गरे पनि काँग्रेसमा दोस्रो पुस्ता तयार भइसकेको छ, जसले पार्टी र देशलाई चलायमान बनाउन सक्छ । तर, देउवा अझै असफल हुन चाहन्छन् । त्यसैले न प्रधानमन्त्री पद सहजै छाड्न चाहन्छन्, न त हारबारे पार्टीभित्र बहस चलाउन चाहन्छन् ।
झण्डै ७० वर्ष पुगेका देउवा अझै पनि सत्ता र शक्तिको लागि राजनीतिमा क्रियाशील रहनु नेपाली लोकतन्त्रकै लागि हास्यास्पद हुन जान्छ ।
अहिले देशमा सबैभन्दा जनमत प्राप्त गरेको आधारमा प्रत्यक्षतर्फ तेस्रो र समानुपातिकतर्फ दोस्रो पार्टीको रुपमा कांग्रेसको भूमिका बदलिएको छ । राजनीतिक फाइदा नै हेर्ने हो भने सबैभन्दा धेरै सरकार सञ्चालनको अवसर नेपालमा दोस्रो वा तेस्रो पार्टीले पाउने गरेको छ । अबको नयाँ परिवेशमा देउवाको सामु प्रशस्त चुनौतीहरु रहेका छन् । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको संविधानको कार्यान्वयन तथा संघीय संरचनाको निर्माण नै हो । सरकारमा रहे पनि वा नरहे पनि सबै दलको सहमतिमा संविधान निर्माण भएकोले संविधानको सफल कार्यान्वयन गर्ने दायित्वबाट कांग्रेस पन्छन मिल्दैन । अब देउवाले केबल फेरि प्रधानमन्त्री बन्नकै लागि मात्र राजनीति गर्ने भन्दा पनि देशको विकास र आर्थिक समृद्धिका लागि राष्ट्रिय हितका लागि राजनीति गर्नुपर्दछ । भारतकी विपक्षी कांग्रेस नेतृ सोनिया गान्धीले पार्टी नेतृत्वबाट लिएको सन्यासबाट देउवाले पनि पाठ सिक्न जरुरी छ । झण्डै ७० वर्ष पुगेका देउवा अझै पनि सत्ता र शक्तिको लागि राजनीतिमा क्रियाशील रहनु नेपाली लोकतन्त्रकै लागि हास्यास्पद हुन जान्छ । यो परिपाटी अझै पाँच वर्षपछिसम्म जाने हो भने राजनीतिमा युवा नेतृत्व आउने सम्पूर्ण ढोकाहरु बन्द हुने निश्चित छ । अब देउवा कार्यकारी पद ओगट्ने भन्दा पनि राजनीतिको सल्लाहकारको रुपमा राजनीतिक स्थायित्वको लागि पहल गर्न जरुरी छ ।
फेरि पनि स्पष्ट बहुमत पुर्याउनकै लागि सांसदको किनबेचजस्तो घृणित खेलमा बिगतमा जस्तै कांग्रेस लाग्न थाल्यो भने जुन अवस्था देशको लागि सबैभन्दा ठूलो दुर्भाग्य हुने निश्चित छ । सरकार बनाउने र गिराउने खेलमा देउवाका विगतका कार्यहरु निकै घृणित थिए जसको पूर्ण अन्त्य हुनुपर्दछ । नेपाली राजनीतिले दिएको गम्भीर जिम्मेवारीसँगै अबको देउवाको कार्यशैलीमा व्यापक सुधार आउन आवश्यक छ । पार्टी र सीमित नेताको हित भन्दा पनि अबको उनको मिसन दोषको आर्थिक समृद्धि र रुपान्तरण बन्नु पर्दछ । देशको राजनीतिक परिवर्तनको एजेण्डा तथा आन्दोलनहरु पूरा भएकोले अब कांग्रेस नेतृत्वको सामु बलियो प्रतिपक्षी बनेर वामपन्थी सरकारले ल्याएका देशमा आर्थिक रुपान्तरणको मुद्दामा सहयोग गरेर देखाउने अवसर आएको छ । भूकम्प, नाकाबन्दी, आर्थिक मन्दीले समस्याको चाङ थपिएको देशमा समस्यै समस्या भएकोले पनि जनताको मुहारमा खुसी ल्याउन देउवाको अबको राजनीतिक बाटो अगाडि बढ्नु पर्दछ ।
प्रतिपक्षमा रहेर देशको आर्थिक रुपान्तरणमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले महत्वपूर्ण भूमिका खेल्ने आशा समग्र जनताले राखेका छन् । कांग्रेस अस्थिर बन्दा र कांग्रेसले सानो गल्ती गर्दा पनि देशले धेरै राम्रा अवसरहरु गुमाएका प्रशस्त दृष्टान्तहरु रहेका छन् । त्यसैले आशा गरौं कांग्रेस सुध्रियोस्, देउवाको राजनीतिक भविष्य राजनीतिक अस्थिरता निम्त्याउने नाममा देशी र विदेशीको इशारामा झनै अन्यौलग्रस्त नबनोस् । पद र सरकारका लागि भन्दा पनि देउवाले देश र जनताको लागि गरेको त्याग र समर्पण हेर्ने सबैको चाहना रहेको छ ।















प्रतिक्रिया