
– मीनबहादुर पण्डित
जनताले आगामी ५ वर्ष ओलीलाई नै प्रधानमन्त्री भएको हेर्न चाहन्छन् ।
भर्खरै सकिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनलाई अत्याधिक बहुमत दिएको छ । त्यसकारण अबको सरकार वाम गठबन्धनकै नेतृत्वमा बन्ने पक्का छ । तर प्रश्न आउँछ – अबको प्रधानमन्त्री को ? एमाले अध्यक्ष केपी ओली कि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ?
ओली र प्रचण्ड दुवै यसअघि नेपालको प्रधानमन्त्री बनिसकेका छन् । अब दुवैजनाको प्रधानमन्त्रीकालको विश्लेषण गरौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २ दुई पटक प्रधानमन्त्री बन्ने अवसर पाए । नेपालको हरेक राजनीतिक घटनाक्रममा छिमेकी राष्ट्र भारतको निकै प्रभाव पर्ने गरेको छ । प्रधानमन्त्री बन्दा प्रचण्डले भारतसँग कस्तो सम्बन्ध राखे भन्ने कुराले महत्व राख्छ । उनले गरेको भारत भ्रमण पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको जस्तै विवादित बन्न पुग्यो ।
उनको पहिलो कार्यकालमा देशले विकासमा फड्को मार्न सकेन । शान्ति प्रकृया र राजनीतिका अन्य सैद्धान्तिक पक्षहरुलाई किनारा लगाउँदा लगाउँदै उनको पहिलो कार्यकाल टुंगियो । राजनीतिक पक्षमा पनि उनी त्यति सफल हुन सकेनन् । उनको दोस्रो कार्यकाल भने पहिलो भन्दा केहि सफल देखियो । विकासमा देशले त्यति ठूलो उपलब्धी हासिल नगरेपनि थोरै उल्लेख्य कार्यले प्रचण्डको नाक बचायो । आर्थिक बृद्धिदर बढ्नु र लोडसेडिङ हटाउनु प्रचण्डको कार्यकालका उल्लेख्य काम हुन् ।
काँग्रेससँग मिलेर केपी ओलीको सरकारलाई परास्त गर्दै दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको पार्टी स्थानीय तहको चुनावमा भने तेस्रो बन्न पुग्यो । प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा पनि जनताले महशुस गर्नेगरी काम गर्न सकेनन् भन्ने कुरा स्थानीय तहको निर्वाचनले प्रष्ट पारेको छ । काँग्रेससँग काँधमा काँध मिलाउँदाको भन्दा हाल एमालेसँगको सहकार्यपछि माओवादीको अवस्था केहीमाथि उठेको छ । उता काँग्रेसले भने माओवादीसँगको सहकार्यले घाटा बेहोर्नु परेको दोष माओवादीमाथि थुपारेको छ ।
माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा ओली अबको पाँच बर्ष प्रधानमन्त्री बन्न सके यो देशको मुहार फेरिने मात्रै होइन्, प्रचण्डको त्याग र योगदानको सदासदा सम्झना भइरहनेछ ।
भर्खरै सकिएका दुईवटा निर्वाचनले पनि प्रचण्डको तुलनामा ओलीको ओज बढाएको देखिन्छ । एमालेको पक्षमा आएको ब्यापक जनमतलाई नियालेर हेर्ने हो भने पनि जनताले आगामी ५ वर्ष ओलीलाई नै प्रधानमन्त्री भएको हेर्न चाहन्छन् । त्यसैले माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा ओली अबको पाँच बर्ष प्रधानमन्त्री बन्न सके यो देशको मुहार फेरिने मात्रै होइन्, प्रचण्डको त्याग र योगदानको सदासदा सम्झना भइरहनेछ ।
केपी ओली प्रधानमन्त्री हुँदा गरेका कामलाई जनताले रुचाएको देखिन्छ । भूकम्प, बाढी तथा नाकाबन्दी जस्तो बिसम परिस्थितिमा पनि ओलीले धेरै कामको सुरुवात गर्न खोजेका थिए । तर उनलाई छ महिना नपूग्दै हटाउने खेल सुरु गरियो ।
वाम गठबन्धन बनेपछि स्थायी सरकारको आशमा जनताले वाम गठबन्धनलाई अनुमोदन गरेको देखिन्छ । तर भारतले यतिखेर प्रचण्ड प्रधानमन्त्री बन्न खोजेको जस्तो देखिन्छ । अनि काँग्रेसले पनि प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेको छ । तर हालको जनमतको मुल्यांकन गर्दा प्रचण्ड प्रधानमन्त्री बन्न उपयुक्त छ ? भारत र काँग्रेसको कुरा मानेर प्रचण्ड प्रधानमन्त्री बन्न खोजे जनमतको अवमुल्यन हुन्छ कि हुन्न ? जनताले अब मिलेर जाउ भनेर नै एमाले-माओवादीको वाम गठबन्धनलाई जिताएका हुन् । वाम गठबन्धन तोडेर नेपाललाई पुनः अस्थिर बनाउने खेलमा लाग्ने कुरामा प्रचण्डले सोच्नु पनि हुँदैन । यदि यस्तो भएमा देशको भविष्य सँगसँगै माओवादीको भविष्य पनि सकिन्छ ।

केपी ओली प्रधानमन्त्री हुँदा उनले चीनसँगको सम्बन्ध सुधार गरेका थिए । नेपाल भुपरिवेष्ठित राष्ट्र भएकाले नेपाल दुवै छिमेकी चीन र भारतसँग समान सम्बन्ध राखेर जानु आवश्यक छ । त्यसकारण पनि अबको अवस्थामा भारत र चीन जस्ता आर्थिक विकासले अघि रहेका ठूला राष्ट्रबाट विकास भित्र्याउन आवश्यक देखिन्छ । तर चीनसँग राम्रो सम्बन्ध भएकै कारण भारत नेपालमा केपी ओली प्रधानमन्त्री भएको हेर्न चाहदैन । केपी ओलीको सरकार ढल्नुको पछाडी यहि नै कारण थियो । ओलीले नेपालमा रेल, पानी हजाज, हावाबाट विजुली जस्ता योजना प्रस्तुत गर्नु र त्यसमा चीनले पनि साथ दिने वचन दिँदा भारत निकै चिढिएको थियो ।
हाललाई प्रधानमन्त्रीका रुपमा ओली जत्तिको सक्षम व्यक्ति अरु कोहि छैन भन्ने जमात ठूलो छ । सम्मानजनक कुटनीतिक सम्बन्धको पक्षमा रहेका ओलीले छिमेकी राष्ट्रसँग राखेको सम्बन्धलाई पनि जनताले मन पराएका छन् । त्यसकारण राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मावोवादी केन्द्रले विगतमा जस्तो अनेक बखेडा झिक्न हुँदैन । निर्वाचनले सबै पार्टीको हैसियत निर्धारण गरेको छ । पद भन्दा देश र जनतको हितको लागि सोच्नु आवश्यक छ । अबको अवस्थामा वाम गठबन्धनलाई असर पार्ने काम गरिए नेपालमा फेरी पुरानै राजनीतिक द्वन्द्व, अस्थिरता हुनुका साथै देशले विकासको गति लिन सक्दैन । जनतले चाहेको राजनीतिक स्थिरता हो । त्यसैले पनि वाम गठबन्धनलाई जनताले परिक्षण गरिरहेका छन् । त्यसकारण कम्तिमा पनि अबको पाँच वर्ष देशमा स्थिर सरकारको लागि एमाले माओवादी मिलेर जानु नै उपयुक्त हुन्छ । अन्यथा जनता विकल्प खोज्न बाध्य हुनेछ ।















प्रतिक्रिया