म नेपाली कांग्रेसको सम्मान गर्छु, कांग्रेसका नेताहरुप्रति मेरो ठूलो सम्मान छ । कांग्रेस र एमाले विगत लामो समयदेखिका सहयात्री हुन्, सहकार्य गरेका हुन् । वाम गठवन्धनले बहुमत ल्याए पनि कांग्रेससँगको सहकार्यमा देश अगाडि बढ्नुपर्छ भन्ने ठान्छु ।
नेपाली कांग्रेस अब प्रमुख प्रतिपक्षी हो । प्रमुख प्रतिपक्षीको विशेष कदर र सम्मान हुनुपर्छ, प्रतिपक्षको सम्मानले नै लोकतन्त्र समृद्ध बन्छ ।
चुनावमा पराजित भएपछि नेपाली कांग्रेसमा ठूलो विचलन आएको छ र यसबाट म दुखी भएको छु । वाम गठवन्धन अब सत्तापक्ष हुन्छ भने कांग्रेस प्रतिपक्ष हुन्छ, प्रतिपक्षीको रुपमा कांग्रेसको पनि ठूलो योगदान र भूमिका हुन्छ । सत्तापक्ष र प्रतिपक्ष एकै रथका दुई पांग्रा हुन् । एउटा पांग्राले काम गरेन भने लोकतन्त्रको रथ अगाडि बढ्न गाह्रो हुन्छ । जनताले कि पांग्रा फेर्छन्, कि रथ अगाडि बढ्दैन ।
चुनावमा पराजित भएपछि कांग्रेसले सहज रुपमा सरकार छाड्नुपर्छ । अध्यादेशको विवाद होस् या राष्टि«य सभा गठनको चुनाव प्रणाली होस्, विवाद झिकेर कांग्रेसले सरकार नछाड्ने प्रयास गरिरहेको छ । जति नै प्रयाश गरे पनि, जति नै बहाना निकाले पनि कांग्रेसले सरकार नछाडि सुखै छैन । सरकार नछाड्ने र अनेक बहाना निकाल्ने कांग्रेसको रवैयाले उसलाई झन क्षति भइरहेको छ । जनतामा झन अलोकप्रिय भइरहेको छ । कांग्रेसको विश्वशनीयता झन समाप्त हुँदैछ ।
प्रमुख प्रतिपक्षीका रुपमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसको विश्वशनीयता समाप्त हुनु राम्रो होइन । यसले लोकतन्त्रलाई नै असर गर्न सक्छ । त्यसैले कांग्रेसका नेताहरु जिम्मेवार बनुन्, सत्तामोह त्यागुन, चुनावमा भएको पराजय स्वीकार गर्दै आगामी दिनको राजनीतिक बाटोमा तगारो नबनिदिउन् ।
मेरो यही विन्ती छ ।
















प्रतिक्रिया