३० आश्विन २०८३, शुक्रबार

त्यसै गएका हैनन् एमाले अध्यक्ष ओली रसुवा नाका

14.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हेम रोकाहा / दैनिक नेपाल

(समाचार टिप्पणी)

भावी प्रधानमन्त्री ओलीले पदभार सम्हाल्नु अघि नै चीन आफ्नो प्राथमिकतामा रहेको संकेत त गरे नै, भारतसँग कसरी सन्तुलन मिलाउँछन् त्यो भने भविष्यले बताउला ।

मंगलबार दिउँसो काठमाडौँबाट एमालेका नेताहरु बोकेको तीनवटा हेलिकप्टर रसुवागढी नाकातर्फ उडे । जसमा सवार थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शकर पोखरेल, नेता सुवास नेवाङलगायतका एमाले नेताहरु । पूर्वनिर्धारित कार्यक्रमबिनै ओली उत्तरी नाका रसुवा पुगेको खबरले केही चासो र चर्चाहरु पाए ।

वाम गठबन्धनले पछिल्लो निर्वाचनमा ल्याएको नजिताले नेपालका दुई छिमेकी भारत र चीनलाई फरक किसिमको प्रभाव पारेको छ । चीन निर्वाचनको परिणामले उत्साहित देखिएको छ भने भारत निराश । ओली रसुवागढी नाकाको अवलोकन गर्न पुग्नु र चीनले पनि ओली नेतृत्वको आगामी सरकारकै कार्यकालमा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणले तीब्रता पाउने कुरा गर्नु संयोग मात्रै होइन् । नेपाललाई सँधै दासको व्यवहार गर्ने भारतलाई बेचैन गराउनु पनि हो । किनकी पछिल्लोपटक भारत जबर्जस्ती लत्रिँदै आइरहेको छ । नेपाली राजनीतिमा उसको प्रभुत्व गिर्दो छ । एकातिर चीनसँगै साथमा रहेको जनाउ दिनु र अर्कोतिर भारतलाई बेचैन पारेर बाम गठबन्धनको सहयोगमा लत्रन बाध्य पार्नु ओलीको रणनीति देखिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङले छिट्टै नेपाल भ्रमण गर्ने बताइसकेका छन् । बाम गठबन्धनको सरकार बनेमा उनी मार्च महिनाभित्र नेपाल भ्रमणमा आउन इच्छुक रहेका छन् । यी घटनाक्रमले पनि पछिल्लो समय चीनले नेपालमा आफ्नो प्राथमिकतालाई बढाएको बुझ्न सकिन्छ ।

यसअघिका सरकारले भारतसँग दूरी घटाउँदा चीनसँगको दूरी बढेको थियो । नेतृत्वले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सकेका थिएनन् । नेपालसँगको सम्बन्धमा भारत भन्दा चीन अलि बढि उदार देखिएको छ । चीन र भारतसँगको तुलना गर्दा भारत नेपालसँगको सम्बन्धमा विगतदेखि नै हाबी भएको छ । चीनसँगको चिसिएको सम्बन्ध केपी ओली प्रधानमन्त्री बनेको समयदेखि सुधार भएको थियो । जसलाई भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीले पनि निकै बल पु¥यायो । ओलीले नै चीनसँग व्यापार सम्झौता गरेर नेपाल र चीनको सम्बन्धलाई नयाँ आयाम दिएका थिए । सोही समयमा ओलीले चीनसँग केरुङदेखि काठमाडौँ–पोखरा–लुम्बिनीसम्म रेलमार्ग जोड्ने सम्झौता गरेका थिए । यसमा चीनले सहयोग गर्ने प्रतिबद्धता त्यतिबेला नै दिइसकेको थियो ।

एकातिर चीनसँगै साथमा रहेको जनाउ दिनु र अर्कोतिर भारतलाई बेचैन पारेर बाम गठबन्धनको सहयोगमा लत्रन बाध्य पार्नु ओलीको रणनीति देखिएको छ । 

हालको परिस्थितिलाई नजिकबाट नियाल्दा ओलीले आफ्ना पुराना योजनालाई निरन्तरता सुरुवात गरेको बुझिन्छ । प्रधानमन्त्री बन्नुअघि नै ओलीले चीनसँग भएको सम्झौतालाई सार्थकता दिने कसरतमा लागेको देखिन्छ । नेपाल र चीनलाई रेलमार्गमार्फत जोड्ने ओलीको महत्वाकांक्षी योजना अब पूरा हुँदैछ भन्ने संकेत देखिइसकेको छ । ओली त्यहाँ पुगेर नाकाको स्तरबृद्धिको मात्रै कुरा गरेनन्, चारलेनको सडक कालोपत्रे गर्ने, सडक बिस्तारलगायतका काम गर्ने प्रतिवद्धता व्यक्त पनि गरेका छन् ।

हाल रसुवागढी नाकास्थित टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुँदैछ । नेपालको बाटो भएर भारतसम्म व्यापार गर्न रसुवागढीमा चीनको सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको छ । त्यसमा एकीकृत भवनसहित २ सय ५० देखि ३ सय कन्टेनर अटाउने गरी बन्दरगाह निर्माण गरिन लागेको हो ।

चीनले नेपालमा रेलमार्ग निर्माणको लागि प्रतिबद्धता जनाउनु र ‘वन बेल्ट, वन रोड’ अवधारणालाई नेपालमा विस्तार गर्न खोज्नुले नेपालमा र नेपाल हुँदै भारतमा चीन आफ्नो कनेक्टिभिटी बढाउन खोजिरहेको बुझिन्छ । चीनको यस्तो क्रियाकलापबाट भारत पक्कै पनि चिढिन सक्छ । तर भारतको लागि त्यो झन् प्रत्युत्तपादक हुन सक्छ । नेपालमा विकास हुँदा भारतले टाउको दुखाउनु पर्ने कुनै जरुरी छैन । कुनै समय नेपाल भारतसँग मात्रै निर्भर रह्योे । तर त्यसबाट नेपाललाई बेलामौकामा असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्था आयो । त्यसैले नेपालले एक देशसँग मात्र नभई अन्य देशसँग पनि व्यापारको लागि मार्ग खुला गर्नुपर्ने जरुरी नै भइसकेको थियो । त्यसकै परिणाम हो अहिलेको सक्रियता । यो चीनको मात्रै सक्रियता होइन, नेपालको चाहना पनि हो । अब नेपाल विगतमा जस्तै एउटै देशमा निर्भर रहेर बस्न सक्दैन । यो कुरालाई भारतले पनि बुझ्नु तथा नेपालको निर्णयलाई सम्मान गर्नु आवश्यक छ ।

आगामी सरकारको नेतृत्व ओलीले नै गर्ने निश्चित जस्तै भइसकेको छ । ओली एक सक्षम, दृढ तथा राष्ट्रवादी नेता भएकाले पनि नेपाललाई आर्थिक तर्फ लैजान्छन् भन्ने जनताको अपेक्षा छ । ओलीले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्छन् भन्ने विश्वास पनि छ । पछिल्लो निर्वाचनले पनि यसै कुरालाई इंगित गरेको छ । भावी प्रधानमन्त्री ओलीले पदभार सम्हाल्नु अघि नै चीन आफ्नो प्राथमिकतामा रहेको संकेत त गरे नै, भारतसँग कसरी सन्तुलन मिलाउँछन् त्यो भने भविष्यले बताउला ।