मोहन बास्तोला
काठमाडौं, ११ मंसिर । चितवनका प्रहरी प्रमुख (एसपी) सहकुल थापाले पत्रकार प्रेम बानियाँसँग आफ्नो नाम जोडेर विभिन्न संचारमाध्यममा आएको समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।
दैनिक नेपाल डटकमसँग टेलिफोनमा कुरा गर्दै एसपी थापाले पत्रकार बानियाँले आफ्नो फुली थुत्ने काम गरेको समाचार भ्रामक, झुटो र षडयन्त्रमुलक भएको बताएका छन् । बानियाँ आफ्नो १० वर्षदेखि चिनजानको साथी भएको र उनले फुली थुत्ने काम नगरेको थापाको भनाइ छ । पछिल्लो समय विभिन्न मिडियामा पत्रकार बानियाँको चरित्र हत्या गर्ने नियोजित खेल भएका प्रति उनले दुःख समेत व्यक्त गरेका छन् ।
चितवनमा पछिल्लो समय गुण्डागर्दीविरुद्ध सशक्त रुपमा लागिपरेकाले आफ्नो त्यो भूमिकालाई कमजोर बनाउन खेल चलिरहेको हुनसक्ने एसपी थापाको आशंका छ ।
ह्याविट्याट फर ह्युम्यानिटीको कार्यक्रममा चितवन आएका वेला पुरानो चिनजानका हिसावले पत्रकार बानियाँसँग भेटेर मित्रवत कुराकानीबाहेक अरु केही नभएकामा त्यसलाई अनर्गल प्रचार गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
एसपी थापा र पत्रकार बानियाँसँगै रहेका न्यूज २४ का चितवन संवाददाता सन्तकुमार चौधरी यसो भन्छन् :
“पछिल्लोपटक संचारकर्मी प्रेम बानियाँको विषयमा संचारमाध्यममा आइरहेका खबरप्रति केही लेख्न मन लाग्यो । प्रेम बानियाँ र म एउटै संचारमाध्यममा काम गछौं । त्यो राती म पनि प्रेम बानियासँगै थिए । प्रेम बानियाँ र चितवनका प्रहरी प्रमुख सहकुल थापाबीच निकै पुरानो र राम्रो सम्बन्ध छ । उनीहरु एकले अर्कोलाई दाजुभाई नै मान्छन् । त्यो भन्दा अघिल्लो दिन प्रेम बानियाँ, म र प्रहरी प्रमुख थापा चीनजान र निकट भएको हिसावले सँगै डिनर पनि गरेका हौं ।
प्रेम बानिया ह्याविटेड फर ह्युम्यानिटी नेपालको सदभावना दुत भएर पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १२ स्थित ३६ घर परिवार सुकुम्वासीहरुको घर निर्माणका लागि आएका थिए । ह्याविटेड फर ह्युम्यानिटी नेपालले प्रेम बानियाँ लगायत केही पाहुनाहरुलाई भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा बस्ने व्यवस्था गरेको थियो । संयोगबश सोही दिन भरतपुर गार्डेन रिसोर्टको पनि उद्घाटन कार्यक्रम रहेछ । सोही दिन उद्घाटन कार्यक्रम भएकोले हामीलाई पनि उद्घाटन कार्यक्रममा सहभागी भइदिन निम्तो आएको हो । त्यो दिन भंगेरी भन्ने स्थान जहाँ सुकुम्वासीहरुको घर बन्दै थियो । सो स्थानवाट हामी निम्तो पाएको समय भन्दा केही ढिला पुग्यौं ।
हामी पुग्दा रात्रीकालिन पार्टी सुरु भइसकेको थियो । पार्टीमा सहभागी कोही रक्सी पिउन व्यस्त थिए त कोही खानाखान व्यस्त थिए । हामी पनि पार्टीमा सहभागी भयौं । प्रेम वाइन खान सुरु गर्दै थियो । यतिकैमा प्रहरी प्रमुख थापा नजिक आए । ‘यो मासमा रक्सी खान हुंदैन’ भनेर प्रेमलाई जिस्काउन आए । प्रेमले पनि त्यही शैलीमा ‘मलाई रक्सी खान सिकाउने ?’ मात्रै भनेका थिए । तर संचारमाध्यममा फुली तान्न खोजे जस्तो सुनियोजित समाचार आयो । त्यो सत्य होइन् । विश्वास लाग्दैन भने तस्वीर हेर्नुहोस । पार्टी भएको अघिल्लो दिन साँझसँगै डिनर खानुपूर्व खिचिएको तस्वीर हो ।”
पत्रकार बानियाँले पनि यसअघि नै समाचारको खण्डन गरिसकेका छन् । ह्याविट्याट फर ह्युम्यानिटी नपालको सद्भावना दूत भएकाले चितवनका सुकुम्वासीहरुका लागि घर निर्माण अभियानमा गएका वेला ह्याविट्याटको व्यवस्थापनमा बानियालाई त्यसै होटलमा त्यो होटलमा राखिएको थियो । संयोगले त्यो होटल उद्घाटनको दिन समेत पर्न गएको बानियाँले बताएका छन् । जहाँ बानियाँलाई पनि निम्तो गरिएको थियो ।
प्रेम भन्छन् -‘प्रिय साथीहरु! यतिवेला मविरुद्ध जस्तो प्रकारले दुश्प्रचारको खेल चलिरहेको छ, यसबाट म अत्यन्त दुःखी र मर्माहत छु । दुश्प्रचारमा उल्लेख भए अनुसार फुली खोस्दा पनि चुपोलागेर बस्ने एसपी नेपालमा को होला ? म त केवल ह्याविट्याट फर ह्युम्यानिटी नपालको सद्भावना दूत भएकाले चितवनका सुकुम्वासीहरुका लागि घर निर्माण अभियानमा गएको थिएँ, सहभागी भएँ र फर्किएँ । मलाइ अचम्म लागेको छ यो कस्तो नियोजित दुश्प्रचार गरिंदैछ र मान्छेलाई लखेट्न खोजिंदैछ ! चुनौतिका साथ भन्न चाहन्छु, दुश्प्रचारमा उल्लेख भएको कुनै पनि तथ्य प्रमाणित गर्ने मान्छे मेरो अगाडि आओस् । यो कस्तो अतिरञ्जित लखेट्याइ होला ?’
















प्रतिक्रिया