६ कार्तिक २०८३, शुक्रबार

अठारौं शिखर सम्मेलन आजबाट, विश्वको ध्यान नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SARRC

काठमाडौँ, ९ मंसिर । बहुप्रतिक्षीत दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलन बुधबारदेखि भव्यताका साथ सुरु हुँदैछ । सार्क स्थापनाको तीन दशकको अन्तरालमा नेपालले तेस्रोपटक शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको हो ।

तेह्र वर्षपछि नेपालले आयोजक बन्ने अवसर पाएपछि सार्कको १८ औँँ दुई दिने शिखर सम्मेलन हुन लागेको हो । शिखर सम्मेलनका तयारीका क्रममा यसअघि सार्क कार्यक्रम समिति (सहसचिवस्तर), स्थायी समिति (सचिवस्तर) हुँदै मंगलबार मन्त्रीस्तरीय बैठक सम्पन्न भएका छन् ।

सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ नारा तय गरिएको छ । सम्मेलनमा भाग लिन सार्कका सातवटै मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुख काठमाडौँ आइसक्नुभएको छ । सम्मेलनको उद्घाटन बुधबार बिहान राष्ट्रिय सभागृहमा विशेष समारोहका बीच प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुनेछ । सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार भएको सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा प्रारम्भमा तस्बिर, तथ्याङ्क र रेखाचित्रयुक्त गरिबी निवारण तथा सार्क विकास लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्य प्रगतिको प्रतिवेदन, पोषणका लागि क्षेत्रीय संरचना, सरसफाइसम्बन्धी कार्यसंरचना र आर्थिक सङ्घका लागि भाबी कदम प्रतिवेदन प्रस्तुत भएको छ ।

बैठकमा अफगानिस्तानका कामु परराष्ट्रमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका विदेश मन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेश मन्त्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका विदेश मामिला मन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस सहभागी हुनुभएको थियो ।

यसैगरी चीन, अमेरिका, दक्षिण कोरिया, मोरिसस, युरोपियन युनियनलगायत नौवटै पर्यवेक्षक मुलुकका प्रतिनिधि पनि काठमाडौं आइसक्नुभएको छ । यतिबेला विश्वको ध्यान नेपालमा खिचिएको छ ।

काठमाडौँको चिसो मौसमलाई बिर्साउँदै सार्क शिखर सम्मेलनले यहाँको वातावरणलाई तताएको छ । काठमाडौं सहरमा पूर्णतः नयाँ बेहुली झैं सिँगारिएको छ भने सडक र चोकचोकमा सुरक्षाकर्मीको तैनाथी देखिएको छ । ठाउँठाउँमा स्वागतद्वार तथा सदस्य मुलुुकका राष्ट्रिय झण्डा र तस्बिरहरु प्रदर्शित भएका छन् ।

सम्मेलनको मुख्य स्थल राष्ट्रिय सभागृह विशेषरुपमा सजिएको छ । राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरु बसोबास गर्नुभएको होटल सोल्टी विशिष्ट पाहुनबाट भरिभराउ र व्यस्त देखिन्छ । यहाँ विशेष सुरक्षा सतर्कता अपनाइएको छ भने राष्ट्राध्यक्ष÷सरकार प्रमुखका बीचमा हुने औपचारिक तथा अनौपचारिक भेटघाटका शृङ्खला जारी छन् । सम्बद्ध सरकारी निकायका अधिकारी समन्वय, व्यवस्थापन र सहयोगमा व्यस्त रहेका छन् । सञ्चारकर्मीलाई सूचना सङ्कलन र सम्प्रेषण गर्न भ्याइनभ्याई छ ।

एकपछि अर्काे गर्दै राष्ट्राध्यक्ष÷सरकार प्रमुख आएपछि सम्बन्धित मुलुकका मन्त्री र अधिकारीको अनौपचारिक दौडधुप र गृहकार्यले गति लिएको छ । त्यसकै प्रभावले पनि होला आजको मन्त्रीस्तरीय बैठक निर्धारित समय साँझ ५ नबज्दै सकिएको छ । कार्यसूचीमा रहेका कतिपय विषयमा निर्णय पुग्न सहमति हुन बाँकी रहेको बताइएको छ ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले १८औँ शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

नेपालले १३ वर्ष अघि २०५८ साल पुस २१–२२ मा ११औँ शिखर सम्मेलनको आयोजना गरेको थियो भने पहिलोपटक २०४४ साल कात्तिक १८–२० मा पहिलोपटक तेस्रो शिखर सम्मेलन आयोजना गर्ने अवसर पाएको थियो ।

गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर तीन दशकअघि सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सुरु भएको सार्कको यात्रा १८ औं सम्मेलनसम्म आइपुगेको छ ।

सार्कका सदस्य देशहरू आपसी विवादमा नपरी द्विपक्षीय मामिला तथा विवादास्पद र राजनीतिक मामिलाबाट अलग रहने भन्ने यसको बडापत्रमा उल्लेख छ ।

बडापत्रले सार्कका जनताको कल्याण अभिवृद्धि र उनीहरूको जीवनस्तरमा सुधार, तीव्र आर्थिक वृद्धि, सामाजिक रुपान्तरण र सांस्कृतिक विकासको गति तीव्र पारी सम्मानपूर्वक जीवनयापनसहितको सदस्य देशको सामूहिक आत्मनिर्भरतालाई सम्बद्र्धन र विस्तार गर्ने उद्देश्य लिएकोे छ ।

पारस्परिक विश्वास र समझदारी बढाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूको सक्रिय सहयोगलाई अभिवृद्धि गरी अन्य विकासशील देशहरूको सहयोगलाई दरिलो पार्दै साझा लक्ष्य भएका अन्य अन्तर्राष्ट्रिय संस्थाको सम्बन्ध जोड्ने कामलाई पनि वडापत्रले प्राथमिकता दिएको छ ।

सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्र÷सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भुटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमून अब्दुल गयूम, पाकिस्तानका राष्ट्रपति जियाउल हक, श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवद्र्धने हुनुहुन्थ्यो ।

स्थापनाकालदेखि सार्कको सचिवालय काठमाडौंमै रहँदै आएको छ । यसपटक सार्कको अध्यक्षता नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सम्हाल्दै हुनुहुन्छ भने महासचिव पनि नेपालकै अर्जुनबहादुर थापा नै हुनुहुन्छ । रासस