६ कार्तिक २०८३, शुक्रबार

म्याग्दीका विद्यालय पुस्तकालयको अनुगमन तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-jandai-chora-choriम्याग्दी, ९ मंसिर । गैरसरकारी संस्था रुम टू रिड नेपालको आर्थिक–प्राविधिक सहयोग र गाजा युवा क्लब नेपालको व्यवस्थापनमा म्याग्दी जिल्लाका सामुदायिक विद्यालयमा स्थापना भएका पुस्तकालयको अनुगमन र निरीक्षणलाई तीव्र पारिएको छ ।

जिल्लाका ग्रामीण भेगका पर्याप्त भौतिक पूर्वाधार नभएका विद्यालयमा समेत पूर्वाधार खडा गरी रुम टू रिड नेपाल र गाजा युवा क्लबले पुस्तकालय स्थापना गरिदिएपछि विद्यार्थीमा पढ्ने बानीको विकास हुनुका साथै समुदायमा विद्यालयप्रति अपनत्वको भावना जागेको पाइएको छ ।

सोमबार जिल्लाको कुहू  गाविसमा अवस्थित विद्यालयमा रहेका पुस्तकालयको निरीक्षण गर्न पुगेको जिल्ला शिक्षा अधिकारी घनश्याम अर्यालसहितको टोलीले पुस्तकालय स्थापना भएका विद्यालयमा सकारात्मक परिवर्तनका स्पष्ट लक्षण देखिएका बताएको छ ।

अनुगमन निरीक्षणमा सहभागी विद्यालय पुस्तकालय कार्यक्रमका संयोजक हरिकृष्ण गौतमले पुस्तकालय स्थापना भएका विद्यालयमा विद्यार्थीको पठनशैलीमा परिवर्तन आएको, शिक्षकले विभिन्न किसिमका शिक्षण विधि अपनाउन थालेका, प्रयोगात्मक सिकाइमा रुचि बढ्न थालेको र अभिभावकले विद्यालयप्रति निगरानी राख्नुका साथै अपनत्वका भावना विकसित भएको पाइएको बताउनुभयो ।

सोमबार कुहूको नरसिंह प्रावि पैयुपाटा र दीपशिखा उच्चमावि कुहूमा स्थापित विद्यालयको निरीक्षण गरेपछि अन्तरक्रिया कार्यक्रममा जिशिअ अर्यालले विद्यार्थी–शिक्षक र अभिभावकलाई विद्यालयमा स्थापना भएको पुस्तकालयको भरपुर उपयोग गर्दै विद्यार्थीलाई रचनात्मक, सिर्जनात्मक र पढाइप्रति जागरुक बनाउन अनुरोध गर्नुभयो ।

सोही अवसरमा पुस्तकालयको प्रयोग गर्ने तरिका, व्यवस्थापन र सञ्चालन विधि, पुस्तकालयले विद्यार्थीको शैक्षिक गुणस्तरमा पार्ने प्रभावलगायतका विषयमा अन्तरक्रियासमेत गरिएको थियो ।

कुहू क्षेत्रका विद्यालयमा स्थापना भएका पुस्तकालयको दुई दिनसम्म अनुगमन, निरीक्षण र अन्तरक्रिया गरिने विद्यालय पुस्तकालय संयोजक गौतमले जानकारी दिनुभयो ।

रुम टू रिड र गाजा युवा क्लब नेपालको सहयोग एवम् व्यवस्थापनमा सन् २०१४ मा मात्रै म्याग्दीमा २० वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । यी विद्यालयसँगै म्याग्दीका १४४ वटा विद्यालयमा पुस्तकालय स्थापना भइसकेका छन् ।