५ कार्तिक २०८३, बिहिबार

सिजन सकिएपछि मागअनुसार पुगेन चिया

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ मंसिर । चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पु-याउन नसकिएको चिया व्यवसायीले बताएका छन् ।

इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अग्र्यानिक चियाको मागअनुसार पु-याउन नसकिएको बताउनुभयो । चियाको याम सकिएर कारखानामा दैनिक ५०० किलो मात्र हरियोपत्ती आउने गरेको सुब्बा बताउनुहुन्छ ।

कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ । कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिँदै आएको छ । कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ । कारखानामा दैनिक एक हजार किलोग्रामसम्म तयारी चियाको माग आइरहे पनि पु-याउन नसकिएको हो ।

बाह्य मुलुकको मागअनुसार पु-याउन नसक्दा स्थानीयस्तरमासमेत बिक्रीका लागि व्यवसायीले पाउन सकेका छैनन् । कारखानाले यतिबेला मागअनुसार मात्र चिया उत्पादन गर्ने गरेको सुब्बाको भनाइ छ ।

कारखानामा उत्पादन भएको चिया प्रतिकिलो रु ८०० देखि १५ हजार सम्ममा बिक्री हुँदै आएको छ । कारखानाले आफ्नै ५० रोपनी जमिन र भाडामा १०० रोपनी गरी डेढ सय रोपनीमा चिया खेती गरेको छ । कारखानामा छ जना पुरुष कामदारसहित २० जनाले रोजगारी पाएका छन् ।

कारखानाले अहिले उन्नति समावेशी परियोजनाको सहयोगबाट चिया प्रशोधन गर्ने नयाँ मेसिन खरिद गरी एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको छ ।

मंसिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई अग्र्यानिक चिया उत्पादनसम्बन्धी तालीम दिइएको छ । सो कारखानाले उन्नतिबाट रु एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले बताउनुभयो । – रासस