दुबाई । युएईमा तीन वर्षअघि दुर्घटनामा मारिएका दुई विदेशी नागरिकको परिवारलाई ब्लडमनि तिर्न नसक्दा चितवनका टोप बहादुर विश्वकर्माको घर फिर्ती अनिश्चित बनेको छ ।
कम्पनीको काम गर्ने क्रममा सन २०१४, जुनमा अलएनमा भएको दुर्घटनामा थाइल्यान्डका दुई नागरिकको मृत्यु भएपछि अदालतले सुनाएको फैसला बमोजिम विश्वकर्माले नगद १ लाख दिराम (नेपाली करिब ३० लाख) ब्लड मनि तिर्नुपर्ने छ । विश्वकर्मा एक्लैले त्यत्रो रकम जोहो गर्न नसक्दा उनको स्वदेश फिर्ती अनिश्चित बन्दै गएको हो ।
अलएनको लिमा कन्ट्र्या्क्टिङ कम्पनीमा रिगरको रूपमा कार्यरत रहँदा उक्त दुर्घटना भएको थियो । दुर्घटना हुँदा उनी क्रेन अपरेटरको हेल्परको रूपमा काम गरिरहेका थिए । क्रेन एक पाकिस्तानी नागरिकले चलाएका थिए ।
क्रेन साका गल्फ नामक कम्पनीको थियो । दुर्घटनामा क्रेनको बकेट खसेर थाइल्यान्डका दुई नागरिकको मृत्यु भएको थियो ।
प्रहरीले तत्कालै क्रेन अपरेटर र उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । दुई दिनपछि अलएन अदालतले ती दुवैलाई जेल चलान गरेको थियो ।
तीन महिना पछि सेप्टेम्बर १ मा अदालतले उक्त घटनाको सुनुवाई गर्दै २ महिना जेल र ब्लड मनि तिर्नुपर्ने फैसला गरेको थियो । सोही दिन विश्वकर्माले उक्त घटनाको पुनः छानबिनका लागि उच्च अदालतमा अपील गरेका थिए ।
उच्च अदालतले अक्टोबर २१ तारिख पासपोर्ट फिर्ता दिएर जेल मुक्त गर्न आदेश दिएको थियो । उनी ४ महिना २२ दिन जेल बसेर अक्टोबर २२ मा जेल मुक्त भएका थिए । रिहाईको बेला अदालतको फैसला आफूले राम्ररी नबुझेको उनले बताए ।
अदालतको फैसला बमोजिम नगद २ लाख दिराम ब्लड मनि तिर्नुपर्ने थियो । जसमध्ये १ लाख क्रेन कम्पनीले र बाँकी १ लाख लिमा कन्ट्र्या्क्टिङ कम्पनी र टोपबहादुर विश्वकर्माले तिर्नुपर्ने भयो । जेलमुक्त भएपछि उनले पुनः कम्पनीमा काम गर्न थाले । त्यतिबेलासम्म पनि आफूले ब्लड मनि तिर्नुपर्ने बारे थाहा नभएको उनले बताए ।
दुर्घटनामा आँखै अगाडि दुई व्यक्तिको मृत्यु देखेर विक्षिप्त बनेका विश्वकर्माले जेलमुक्त भए लगत्तै कम्पनीलाई आफू घर जाने बताएका थिए ।
कम्पनीले भोलि भोलि भन्दै टारेको उनले बताए । घर जाने अडान कसेपछि कम्पनीले अदालतको फैसला बमोजिम ब्लड मनि नतिरी जान नपाउने बताउँदा आफू छाँगाबाट खसेको उनले बताए ।
उनले पछिल्लो ५ महिना नेपाली दूतावास धाएरै बिताए । दूतावासका जिम्मेवार पदाधिकारीहरुले उनको समस्यालाई गम्भीरतापूर्वक नलिएको उनको दुःखेसो छ ।
नेपाली दूतावास युएईका जनसम्पर्क अधिकृत ईर्फानसँग पटकपटक आफ्नो केसको बारेमा बुझेर सहयोग गरिदिन आग्रह गर्दा यस्ता समस्या हजारौंको हुने बताउँदै कोही एक व्यक्तिको लागि मात्रै अदालत गएर बुझ्न नसकिने जवाफ दिएको विश्वकर्माले गुनासो सुनाए ।















प्रतिक्रिया