२८ आश्विन २०८३, बुधबार

मैले काम गर्दा अरु पार्टीका कार्यकर्ता भनेर कहिल्यै भेदभाव गरेको छैन्: रवीन्द्र अधिकारी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रवीन्द्र अधिकारी, वाम गठबन्धनका साझा उम्मेदवार (कास्की क्षेत्र नम्बर २)

२ पटकसम्म यहाँलाई कास्केली मतदाताले जिताएर पठाए, तेस्रो पटक पनि तपाईंंलाई नै किन मत दिने त ?

पार्टीले २ पटक विश्वास ग-यो । जनताले २ पटक विश्वास गरे । अहिले म तेस्रो पटक उभिएको छ । मतदाताको चाहाना आकांक्षा नै बुझेर पार्टीले मलाई टिकट दिएको हो भन्ने मलाई लाग्छ ।

जहाँसम्म संसदमा रहेर मैले जुन भूमिका खेलें त्यसबाट मेरा मतदाता सन्तुष्ट हुनुहुन्छ भन्ने म ठान्दछु । संविधान निर्माण पनि मेरो महत्वपूर्ण भूमिका रह्यो । कास्कीको जनप्रतिनिधित्वको हिसाबबाट मैले यहाँको अपेक्षा र स्वाभिमानलाई उच्च राख्ने काम गरें । अब हामीले संविधान निर्माणको काम सक्यौं । विकासको मुद्दालाई राजनीतिको केन्द्रमा ल्यायौं ।

अब पोखरामात्रै होइन मुलुकको आर्थिक विकास र समृद्धिको नेतृत्व गर्न मेरो उम्मेदवारी हो ।

तर, २ पटक जिताएर रवीन्द्र अधिकारीलाई देशले चिन्यो तर रवीन्द्रले आफ्नै क्षेत्र, आफ्नै ठाउँ चिनेन भन्ने गुनासो पनि छ । तपाईं जुन यो क्षेत्रको विकासको नेतृत्व गर्नुपथ्र्यो सक्नुभएन भन्ने आरोप छ नि ?

यो केबल प्रश्नका लागि प्रश्नमात्रै हो । कास्की जिल्लाको सन्दर्भ र मेरो निर्वाचन क्षेत्रको सन्दर्भमा त झन् यो प्रश्नै आउँदैन । म तपाईंलाई ८–१० वटा उदाहरण दिन्छु । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल हामीले अगाडि बढायौं र काम सुरु भएको छ ।

जोमसोम कोरालादेखि पोखरा र पोखरादेखि त्रिवेणी जोड्न प्रदेश नम्बर ४ को मुख्य राजमार्ग बनायौं । पृथ्वी राजमार्ग विस्तार, शिद्धार्थ राजमार्ग त्यही प्रोसेसमा छ । कास्की जिल्लामा म जनप्रतिनिधि हुनुभन्दा पहिले बाहिर जोड्न ३÷४ वटाभन्दा बढी पुल थिएनन् । मादीमा एउटा पनि पुल थिएन । सेतीमा पुल थिएन । म मेरो क्षेत्रमामात्रै सिमित भएको छैन । हामीले २१ वटा पुल निर्माण गरिसक्यौं । आज ९ वटा निर्माणको चरणमा छन् ।

यो निर्वाचन क्षेत्रमा सडक बनाउने, ग्राभेल गर्ने, पिच गर्ने लगायत थुप्रै काम सायद अन्य कुनै पनि क्षेत्रमा भएकै छैन । खानीपानीका पाइप अमरसिंह चौरमा थन्किएका थिए । म निर्वाचत हुनेबित्तिकै २० इन्चको पाइप जडान गरेर २४ सैं घन्टा बनायौं । पछि विस्तार ग¥यौं । अहिले पोखराको खानेपानी धेरै सुधारमात्रै भएको छ अर्को ठूलो प्रोजेक्ट सुरु हुँदैछ । शिक्षा, स्वास्थ्य, कृषि हरेक क्षेत्रमा हामीले काम गरेका छौं । फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन आउँदै छ । पोखरा रंगशालामा कभर्ड हल बन्दै छ । धेरै काम भएका छन् ।

यद्यपि हाम्रो जिम्मेवारी कानुन निर्माण गर्ने थियो । त्यो पनि पूरा ग-यौं र विकासका मूलहरु पनि फुटायौं । साना शहरी खानेपानीका माध्यमबाट एक घर, एक धारा अभियान कास्कीभर गरियो र निर्वाचन क्षेत्रमा अझै साना शहरीले नपुगेर सह लगानी गरेर करिब ७० करोडको लागतमा हामीले काम ग-यौं । अरु सानातिना काम त कति भएका छन् कति ।

तपाईंले भनेका कतिपय विकासका कुरा विकास समितिका सभापति हुनुका नाताले जस लिन पाउनुभयो । तर, विकास समिति आफैं विकास गर्ने त होइन नि ?

विकास समितिमा मभन्दा अगाडि अरु पनि थिए तर किन गौरवका आयोजना सुतेका सुत्यै भए ? किन काठमाडौं काकाकुल भयो त ? अहिले त अब मेलेम्ची आउने भयो नि त । हुलाकी राजमार्ग जस्ताकोजस्तै थियो त ? त्यसलाई मैले जुन भूमिका निर्वाह गरें, त्यसको मूल्यांकन पनि गर्नुपर्छ होला नि । पूर्व प्रधानमन्त्री, दातृ निकाय, विदेशी डोनर सबसँग बसेर छलफल गरेको छु ।

अनुगमन गरेको छु, निर्देशन दिएको छु । आफू पार्लेयामेन्टमा हुँदा कसरी र के ग¥यो भन्ने कुरा हो । पोलिसी मेकिङ र डेभभलपको कुरा हो नि । बजेट पठाइदिएको छु भन्नु र खर्च गरेजस्तो गर्नु फरक कुरा हो । मेरा पालामा साँच्चिकै विकासले कोल्टे फरेको हो ।

यहाँलाई एनसेल काण्डसँग पनि जोडियो र रवीन्द्र अधिकरीले यसमा ठूलो आर्थिक चलखेल गरेका छन् भनरे मिडियामासमेत आए । चुनावी मुखमा पनि यसको प्रचारवाजी भइरहेको छ । खास कुरा के हो ?

एनसेलको फोरजी सेवा चलाउन पाउने उसको अधिकार हो । मुख्य कुरा के छ भने, एनसेलले अरु आफ्नो नियमित कर त तिरिरहेको छ । उसले पुँजीगत कर तिरेन भनेर त्यसलाई रोक्न मिल्छ कि मिल्दैन ? एउटा कुरा । अर्को, पुँजीगत लाभकर विगतमा किन लिइएन ? सबैभन्दा पहिले एनसेलले पुँजीगत लाभकर तिर्नुपर्छ भनेर निर्णय गर्ने विकास समिति हो । हामीले निर्णय गरेका हौं ।

त्यसपछि के भयो, यसले यो तिर्नुपर्छ भनेपछि पुरानाले पनि तिर्नु पर्छ भन्ने आयो । एनसेल कतिपटक बेचिएको छ, कहिले ति¥यो ? किन तिरेन ? पहिलो ८, ९ पटक बेच्नेहरुले पनि तिर्नुपर्ने भयो । त्यसपछि यसविरुद्ध एट्याक भएको हो ।

पुँजीगत लाभकर तिर्नुपर्छ भन्ने पनि हामी हो, तिर्ने प्रक्रियामा गयो, ति¥यो । केही तिर्ने प्रोसेसमा छ । उसको ७० अर्ब रुपैयाँ यहाँ खातामा छ । हामीले के भन्यौं, ७० अर्ब रुपैयाँ रोक्का गर अनि फोरजीको अनुमति देउ । अहिले पनि त्यो रकम रोक्का छ । उसले सबै कर नतिरेसम्म लाभ लैजान पाउँदैन । उसले कर छलेर जानै सक्दैन नि । त्योभन्दा पहिले एनटिसीलाई फोरजी देउ भन्ने पनि हामी नै हौं नि फेरि । यो पनि बुझ्नु आवश्यक छ ।

यसभन्दा पहिले कांग्रेसका कमजोर उम्मेदवारका कारण चुनाव जित्नुभयो, अब बलिया उम्मेदवार आए गाह्रो छ भन्ने चर्चा पनि चलेको छ । तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?

यो प्रतिस्पर्धालाई मैले सामान्य रुपमा लिएको छु । जहाँसम्म मैले यहाँको जनाको हितमा जुन काम गरेको छु, अहिले त म मतदाताकोमा जाँदा झन आत्मीयता पाउँछु । अर्कै खालको भावनात्मक माया ममता पाउँछु ।

केही मान्छेहरुलाई रवीन्द्रले हार्छ भन्ने लाग्ने हो । तर मान्छेहरुको बीचमा जाँदा जुन खालको माया, जुन खालको सद्भाव पाएको छु, त्यसले त मलाई के भनेको छ भने विगतका चुनावभन्दा धेरै मतले यसपालि जीत हुन्छ । यो कास्की जिल्लाका लोकतान्त्रिक, कम्युनिस्ट सबै विचार राख्नेहरुको साझा प्रतिनिधि हुँ म ।

म एमालेबाट जितेर आए पनि कहिल्यै नेपाली कांग्रेसको काम होस् या अरु दलको ह्दय खोलेर सहयोग गरें । साझा मानें । कहिल्यै पनि कांग्रेस, माओवादीका साथीहरु पहिले म कहाँ आउनुहुन्थ्यो । समस्या राख्न मसँगै सहज मान्नुहुन्थ्यो । बरु मैले आफ्नो पार्टीभन्दा अन्य पार्टीको बढी काम गरें । एउटा जनप्रतिनिधिका हिसाबले म साझा नै भएँ । अब पनि साझा नै हुनेछु ।

यहाँभन्दा उमेर र राजनीतिक हिसाबले पनि पहिले राजनीतिमा लाग्नुभएका देवराज चालिसे यहाँको प्रतिस्पर्धी हुनुहुन्छ । यो प्रतिस्पर्धामा यति मतले जित्छु भन्ने आत्मविश्वास के छ ?

म शानदार भोट ल्याएर जित्छु । त्यसमा कुनै शंकै छैन । विगतमाभन्दा धेरै मतान्तरले मैले जित्छु । कसैले मलाई चाहियो, मलाई मलाई दिनुप-यो भनेर हुने कुरा पनि होइन । म जति चिच्याए पनि, म जति कराए पनि मतदाताले मन पराउन्नन भने मेरो केही पनि लाग्दैन । जनताको समर्थन नहुने अनि रोइकराइ गरेर त केही पनि हुँदैन ।

मैले सुने उहाँले २ पटकभन्दा नपाउने, अब पालो पुग्यो भन्ने गरेको कुरा । यही पालो पुग्यो भनेर उहाँले रामचन्द्र पौडेललाई किन भन्न सक्नुहुन्न ? यही पालो पुग्यो भनेर उहाँले किन शेरबहादुर देउवालाई भन्न सक्नुहुन्न ? कुरा के छ भने मैले जनताको मन जितेर, विश्वास जितेरै तेस्रो पटक उठेको हुँ । देशको विकासमा, समाजको हितमा काम गर्ने नसक्ने मेरो अवस्था आए कसैले भन्ने पर्दैन । जनताको त्यो भावनालाई बुझेर नै म उम्मेदवार भएको हुँ ।

२ पटक यहाँलाई जिताएर पठाइयो तर एक पटक पनि मन्त्री पाएनन, पार्टीले पत्याएन भन्छन् नि धेरैले ?

मलाई पार्टीले विकास समितिको जिम्मेवारी दियो । मलाई मन्त्रीको जिम्मेवारी नदिएर विकास समितिको जिम्मेवारी दिएको सत्य हो । यदि म विकास समितिको सभापति पनि हुने र बीचमा मन्त्री पनि हुन थालेको भए मैले न विकास समितिमा भूमिका देखाउन सक्थें न मन्त्रीको भूमिका देखाउन सक्थें ।

एउटा कुरा दाबाका साथ भन्छु, प्रधानमन्त्री र मन्त्रीहरुले गर्ने कामभन्दा धेरै काम म विकास समितिमा बसेर गरेको छु । हिजो मैले लेखा समितिमा बसेर पनि गरें । जहाँ जसले सर्वेक्षण गरेर भन्दा पनि मलाई त्यसै उत्कृष्ट सांसद त भनेका छैनन् होला नि ? अघिल्लो पटक पनि म उत्कृष्टमा परें, अहिले पनि म उत्कृष्ट सांसदमै परें, जति जनाले सर्वेक्षण गरे पनि । त्यो राम्रो काम गरेकै कारण हो । विकास र समृद्धिको मुद्दालाई राष्ट्रिय राजनीतिको, संसदमा राष्ट्रिय बहसको थलो बनाउन म सफल भएको छु ।

तपाईंलाई एकपटक अर्थराज्यमन्त्री बनाउन खोज्दा नबनेपछि त्यसपछि नबनाइएको हो, अर्थराज्यमन्त्री भए पनि बनेको भए अरु पावरफूल मन्त्रालय पाउने थिए भन्ने चर्चा पनि थियो नि ?

मैले लेखा समितिमा काम गरिरहेको थिएँ । पहिलो पटक निर्वा्चित भएर जाँदाको कुरा हो यो । अर्थराज्यमन्त्रीको प्रस्ताव नआएको होइन, आएको हो । त्यसो त विकास समितिको सभापति भएको बीचमा पनि मलाई मन्त्री हुनुस् भनेर प्रस्ताव आएका हुन् । मन्त्रालय नै तोकिएर आएको थियो । तर, मैले मन्त्रीको इच्छा गरेको थिएँ, २०७० सालको प्रारम्भमै । पछि विकास समितिको सभापति भएपछि जुन भूमिका निभाएँ मन्त्रीकोभन्दा कम थिएन ।

अब पनि जिताउने हो भने के कुरा ल्याउनुहुन्छ ? जनतालाई के कुरा दिनुहुन्छ ? ठूलो गुरुयोजना के ल्याउनुहुन्छ ?

मैले पोखरेलीको, कास्केलीको मन जितेको छु । म यहाँका मतदाताको मनोभावनाको प्रतिनिधित्व गर्न सक्छु । हामीले प्रदेश नम्बर ४ लाई नेपालकै उत्कृष्ट प्रदेश, कास्की र पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने हो । आज करिब १० लाख पर्यटक आउने पूर्वाधार निर्माण हुँदै गएको छ ।

पोखराको पर्यटन मनाङसम्म जोडिन्छ । पोखरादेखि मुस्ताङ जाने पर्यटक नै दैनिक १ हजार बढी पुगिसक्यो । हामी त्यही हिसाबमा सडकको निर्माण गरौं । सानो दायरामा खुम्चिएर विकास गर्छु भन्ने त गलत हो । पोखराको विकासका लागि पोखरा आसपासका क्षेत्रको विकास हुनुपर्दछ । फराकिलो हिसाबले सोच्नुपर्छ ।

म पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति हुँदा मान्छेहरुले मलाई यसले राजनीति गर्दैन, विकास गर्छ भन्थे । म त जहाँ जान्छु, सानो होस् या ठूलो कामै गरेको हुन्छु । त्यसैले म के विश्वास दिलाउन चाहन्छु भने, म विकासप्रेमी व्यक्ति हुँ, गर्नुपर्ने काम थुप्रै छन्, म गर्नेछु ।