काठमाडौँ । नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टोलीबीचमा भइरहेको विवादले नेपाली चलचित्रमा तरंग ल्याएको छ । यस विषयमा विभिन्न व्यक्तिहरुले एक पछि अर्को गर्दै आफ्ना धारणहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । कोही ‘छक्का पञ्जा’ टिमको पक्षमा बोलिरहेका छन् त कोही ऋचा शर्माको पक्षमा ।
चलचित्र ‘छक्का पञ्जा’मा महिलामाथि भएको हिंसाको सिनमा दर्शकले तालि बजाउँदा दुःख लागेको बताएपछि ‘छक्का पञ्जा’ टिमले नायिका ऋचा शर्माको आलोचना गरेका थिए । उनले एक कार्यक्रममा महिला हिंसालाई चलचित्रले प्रोत्साहन गर्न नहुने बताएकी थिइन् । तर विवाद चुलिदैँ गएपछि नायिका शर्माले आफ्ना धारणा फेसबुकमा राखेकी छिन् ।
ऋचाले आफ्नो फेसबुकमार्फत आफूले दर्शकलाई मुर्ख नभनेको स्पष्टिकरण दिदैँ लेखेकी छिन्, ‘म एक कलाकार, निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा विचार दिन पाउँछु ।’
https://www.facebook.com/reecha.sharma/posts/10159591031730024?pnref=story
उनले महिला हिंसाको विषयलाई हाँस्ने कारण बनाइन नहुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिंसाको विषयलाई हाँस्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन । चाहे संसारले नै मलाई बिरामी सावित गरोस् ।’
उनले सिनेमाप्रति आउने प्रतिकृयालाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै थपेकी छिन्, ‘सिनेमामा आफूलाई मन लागेको देखाउन पाइन्छ तर त्यसप्रति विभिन्न धारणा आउँछन्, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।’
आफू महिला भएको हुँदा चलचित्रमा महिला हिंसाको विषयलाई समर्थन गर्न नसक्ने उनले बताइन् । ‘म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो ।’















प्रतिक्रिया