बेइजिङ्ग । चिनियाँ कलाकारले कोरेका नेपालसम्बन्धी चित्रहरुको पाँच दिवसीय प्रदर्शनी चीनको च्याङ्गसु प्रान्तको एक सहरमा सुरु भएको छ ।
नेपाल भ्रमण गरेर फर्किएपछि चार वर्ष लगाएर कलाकार लिउ फिङ्ग छिउले कोरेका ९० वटा चित्रकला समावेश गरि छाङ्गचौ महानगरमा रहेको लिउ हाइ सु ग्यालेरीमा मिरर अफ नेपाल शीर्षकको एकल चित्रकलाको प्रदर्शनी शनिबार सुरु भएको हो ।
छांग चौ महानगरपालिकको चिनियाँ कम्युनिष्ट पार्टी महानगर कमिटी, संस्कृति, संचार तथा प्रकाशन कार्यालय र च्यांग् कलाकार संघले आयोजना गरेको प्रदर्शनी बुधबारसम्म रहने छ ।
पवित्र पर्वतको फेदीमा, दैनिक जीवन र सूर्योदयको मुहार भन्ने उपशीर्षकमा समेटिएका चित्रकलाको प्रदर्शनीका लागि सांघाईस्थित नेपाली अवैतानिक वाणिज्यदूतावास, छांगचौ कलाकार संघ र अन्तरराष्टिय मित्रताका लागि चिनियाँ जनसंघ छांग् चौले सहयोग गरेका छन् ।
सन् २०१३मा नेपाल भ्रमण गरेका कलाकार लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको वास्तविक रहनसहन, प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधतालगायतका विषयलाई चित्रमा उतारेको बताउनुभयो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्यता र विविध जनताको चित्रण गरिएको बताउनुभयो ।
प्रदर्शनीको लागि पठाउनुभएको शुभकामना सन्देशमा राजदूत पौडेलले प्रकृति र मानवप्रति देखाउनुभएको अभिरुची तथा प्रदर्शनी आयोजनाका खातिर गर्नुभएको मिहिनेतका लागि कलाकार लीउप्रति अभार व्यक्त गर्नुभयो ।
प्रदर्शनीमार्फत चिनियाँ जनतालाई नेपालको बारेमा बुझ्न र दुबै देशबीचको जनस्तरको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा अवद्ध ६८ वर्षीय कलाकार लीउका चित्रहरुले थुपै राष्टियस्तरको पुरस्कार पाएका छन् ।
उहाँको चित्रकला चीनको राष्टिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थाहरुमा संग्रह गरिएका छन् ।
प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, कोरिया, सिंगापुर, मलेसियालगायतका देश पुगाइएका उहाँका चित्रहरु विदेशमा पनि संग्रह गरिएका छन् । उहाँका चित्रकलाहरु संग्रहहरुको रुपमा पनि प्रकाशित रहेको उद्टन कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।















प्रतिक्रिया