२८ आश्विन २०८३, बुधबार

बाम गठबन्धनले दुईतिहाई ल्याउँछ, प्रदेश १ को मुख्यमन्त्री मै हो: भीम आचार्य (अन्तर्वार्ता)

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेको पार्टी सचिव रहेका भीम आचार्य पूर्व पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका नेता हुन् । केन्द्रीय राजनीतिसँग पहुँच राख्ने आचार्य पार्टी सचिवसँगै प्रदेश नं १ का संयोजकसमेत हुन् । अहिले प्रादेशिक संरचना अनुसार मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा सुनसरी क्षेत्र नम्बर १ (ख)बाट प्रत्यक्षतर्फ बाम गठबन्धनका प्रदेश सदस्य उम्मेदवार छन् । सुनसरी निवासी उनै नेता एवं उम्मेदवार आचार्यसँग भएको कुराकानीको सम्पादित अंशः

तपाईको उम्मेद्वारी किन र के का लागि ?

विगतमा मुलत संविधान बनाउनको लागि हामी चुनिएका थियोैं । निक्कै कठिन परिस्थितिको बाबजुद संविधान निर्माण भयो । अब संविधान कार्यान्वयनको प्रश्न अहम प्रश्न हो । संविधानमा व्यवस्था भएका जनताको मौलिक अधिकार सुनिश्चितता, देशको विकास र जनताको समृद्धि । यो अभियान हाम्रो पार्टीको मूख्य कार्यदिशा हो । त्यसका लागि बामपन्थीहरुको सरकार बनाउने । जुन खाल्को पछौटे पन छ त्यो सबैलाई समाप्त गर्दै सरकार बनाउने र कार्यान्वयन गर्ने जिम्मा अवको निर्वाचन हो ।

विगतको निर्वाचन र अहिलेको निर्वाचनको सिनारियो त्यसको फरक के होला ?

विगतमा मूलत संविधान बनाउने भनेर निर्वाचन भाथ्यो । र, त्यसमा विभिन्न सेक्टरको मान्छेहरुलाई प्रतिनिधित्व गराउनको लागि हामी ठूलो संख्यामा जम्मा भएका थियौं । संविधान बनायौं । त्यो सिध्धियो । अहिले हाम्रो देशमा मूल समस्याको रुपमा राजनीतिक अस्थिरता छ । त्यसलाई टुंग्याउनको लागि पनि बामतालमेल गरेका छौं । भविश्यमा पार्टी एकिकरण गर्ने र बामगठबन्धनको सरकार बनाउने आर्थिक समृद्धि तर्फ अघि बढाउने उद्देश्य हो ।

तपाईको आफ्नै क्षेत्रमा जनता रिसाएका छन्, भन्ने सुनिन्छ, खास के भएको हो ?

त्यस्तो होइन् । मैले त स्वतन्त्र ढंगबाट रेडियो कार्यक्रमहरु सुन्दा हरेक मान्छेले विकास गरेको छ । काम भा’छ तर उ चाही ढिलो ढिलो आउँछ भनेर रेडियोमा सुन्नमा आउँछ । ४–५ महिनामा ४–५ महिनामा आफ्नो क्षेत्र जान्छु । अहिले पनि आफ्नै क्षेत्रमा छु । विकास पनि भएको छ । केही पनि गरेन भनेर कसैले पनि भनेको छैन । म दावीका साथ भन्छु मैले जति कुनै पनि मन्त्रीले काम गरेका छैनन् ।

काम गराईमा तपाई सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट त म छैन् । अझै धेरै काम गर्न छ । तर, म दाबीका साथ भन्दा अन्त भन्दा बढी काम गरेको छु ।

प्रदेश सरकार बन्दै छ । प्रदेश सरकारको मूख्य मन्त्रीको रुपमा तपाईको नाम पनि आइरहेको छ ?

अव म पार्टीको सचिव भइसकेको मान्छे, केन्द्रीय कमिटीमा बसिसकेको मान्छे, पटक पटक सांसद भएको मान्छे । मान्छेले सोच्नु स्वाभिवक हो । अरु साथीहरुको दाबी हुनु स्वभाविक नै हो । तर पार्टीको सिनियारिटीको हिसावमा मूख्यमन्त्री हुन्छ, सभामुख हुन्छ । प्रदेश सभा निर्वाचनपछि पार्टीले बसेर समाधान गर्छौ ।

राजधानीको सन्दर्भमा तपाईको भनाई के छ ?

राजधानीको कुरा अहिले भन्नु भन्दा पनि हामी प्रदेश सभा चुनेर आइसकेपछि सबैसँग सरसल्लाह गरेर, जनताको भावनामा ध्यानमा दिएर अघि बढ्छौं । त्यस्तै सबैको सहजतालाई ध्यानमा दिएर, संरचनालाई ध्यान दिन्छौं ।

मंसिर २१ को सन्दर्भमा तपाईको उम्मेदवारी र विजय हुने आधारहरु के के हुन सक्छन् ?

के छ भने मैले हिजो गरेका काम, हामीले त्यो क्षेत्रमा कहिल्यै नभएका कामहरु गरेका छौं । तर, अझै हुन बाकी छ । अहिले ६ वटा मेन हाइवेहरु बन्दै छन् । धरान चतराको हाइवेको कालोपत्रे मैले गरेको हुँ । कान्छीचोकदेखि कञ्चनपुरसम्म, झुम्काबाट प्रकाशपुर पीच जाँदैछ । कोशीमा ठूला पूल हालेका छौं । खानेपानी, स्वास्थ्यचौकी, ४–५ वटा खेल मैदान, कभर्डहलहरु बनेका छन् । साना विकास कार्यक्रमहरु भएका छन् । काम भएन भन्ने कसैको गुनासो छैन् ।

एकाएक बामगठबन्धन जोडियो यसको औचित्य के हो यसको आयु के होला ?

पहिलो कुरा त के हो भने विकासको लागि राजनीति र परिवर्तनको लागि शक्ति आवश्यक पर्छ । र, परिवर्तनशील शक्ति, केही गर्न सक्ने शक्तिको आवश्यकता महसुस भएर वाम तालमेल भएको हो । यो बामगठबन्धनमा मात्रै सिमित छैन् । पार्टी एकिकरण पनि हुन्छ । देशको आर्थिक विकासको लागि पनि यो गठबन्धन हो । दोस्रो कुरा यसअघि माओवादी र कांग्रेस मिल्दा लोकतान्त्रिक हुने र एमाले माओवादी मिल्दा अलोकतान्त्रिक हुने भन्ने नै होइन् ।

बामगठबन्धनले दुईतिहाई ल्याउने संखघोष गरिरहनु भएको छ त्यो सम्भव छ ?

किन नहुनु । त्यही भएर त अरु आत्तिरहेका छन् । देशका अधिकांस सिटीहरुमा एमालेले १५ हजार भोट ल्याको छ । माओवादीले ८ हजार भोट ल्याएको छ । कांग्रेसले १६ हजार भोट ल्याएर जितेको अवस्था छ । बाम विभाजन गर्दा भएको न हो यो । एक भयो भने त स्वतः बाम गठबन्धनले जित्छ ।

भनेपछि प्रदेश र प्रतिनिधि सरकार दुईतिहाई हुन्छ ?

यति हो प्रत्यक्षमा हामी दुई तिहाई ल्याउँछौं । समानुपातिकमा दुईचार सिट तल माथि हुन सक्छ कि भन्ने लाग्छ ।

दुई तिहाई नआए देश विकासको कामै नहुने हो त ?

अहिलेसम्म देशको विकास हुन नसक्नुको मुख्य कारण नै स्पष्ट बहुमतको सरकार नहुनु हो । हामीले कहिल्यै पनि बहुमतको सरकार बनाएर ५ बर्षसम्म सरकार चलाउन पाएनौं । जति गर्यौं अल्पमतको सरकार र कुनै न कुनै दलसँग मिलेर गर्यौं । केही राम्रो काम गर्यो कि कम्युनिष्ट सरकार ढालिहाल्ने । कांग्रेसले त २ पटक स्पष्ट बहुमत ल्यायो, तर आफै टिक्न सकेन । देश र जनताको लागि पनि कुनै काम गरेन । अब हामी प्रदेश र प्रतिनिधि सभामा स्पष्ट बहुमत ल्याएर ५ बर्षसम्म स्थिर सरकार बनाउछौं, र देशलाई विकास, समृद्धि, समुन्नतिको बाटोमा डोर्याउछौं ।

सुनसरी १ ख का जनतालाई के भन्न चाहानुहुन्छ ?

१ ख लाई मात्रै हैन, सुनसरी भरी देशभरीको जनतालाई के भन्छु भने परिवर्तनको निम्ति, परिवर्तन मुलुकले चाहेको छ । जनताले चाहेको छ । देशको विकास, देशलाई समृद्धि ल्याउनु आवश्यक छ । बापपन्थीहरुको तालमेलबाट मात्रै सम्भव छ । त्यसकारण भोट दिएर जिताउन आग्रह गर्दछु ।