१२ मंसिर २०८३, शनिबार

चुनावी सुरक्षाका लागि ६४ हजार सैनिकले ब्यारेक छाडे, ३३ स्थानमा बम डिस्पोज (विस्तृत रिपोर्ट)

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । मंसिर १० र २१ गते हुने निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले देशभर ६४ हजार सैनिक परिचालन गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६४ हजार २० जना सैन्य फौज ब्यारेकबाट निस्केको जनाएको छ ।

निर्वाचन सुरक्षामा खटिएको फौजले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको छ ।

निर्देशनालयका अनुसार ब्यारेक बाहिर निस्किएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको साथै पहिलो चरणको निर्वाचनको लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको छ ।

यस्तै, दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरु मध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न भैसकेको जंगी अड्डाले जनाएको छ ।

३३ स्थानमा राखिएका बम डिस्फोज, कारागारको सुरक्षा जिम्मा

निर्देशनालयका अनुसार हालसम्म सेनाले देशका ३३ स्थानमा राखिएका बम र बिस्फोटक पदार्थ निस्क्रिय अर्थात डिस्पोज पारेको छ ।
साथै निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा रहेका २३ वटा विमानस्थल आफ्नो जिम्मामा लिएको छ । ती विमानस्थलमा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनका लागि क्षेत्रमा खटाएर सुरक्षा जिम्मेबारी सेनाले आफू मातहत लिएको हो ।

देशभरका ५३ प्रमुख कारागारको सुरक्षा समेत सेनाले आफ्नो जिम्मामा लिएको छ । निर्वाचन अवधीभर कारागार सुरक्षा सेनाको मातहत रहने छन् ।

यस्तो छ जंगी अड्डाले पठाएको रिपोर्टः

१. आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेनाबाट ६४०२० फौज परिचालन गरिएको छ । उल्लेखित फौजले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको छ ।

२. खट्टिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको साथै पहिलो चरणको निर्वाचनको लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरु मध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नुको साथै बांकी रहेका केही जिल्लाहरुमा मतपत्र ढुवानी कार्य गरिरहेको छ ।

३. त्यस्तै, नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भए अनुसार हालसम्म देशका विभिन्न ५३ वटा कारागारहरु र २३ वटा विमानस्थलहरुको सुरक्षार्थ फौज तैनाथ भईसकेको छ ।

४. निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भए अनुसार संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म तथा से.मु.स्तरको बेश स्थापना गरी सुरक्षा प्रदान गर्ने कार्यमा नेपाली सेना खट्टिईरहेको छ । सोही क्रममा देशका विभिन्न भागमा शंकास्पद वस्तु तथा बमहरु फेला परेका घटनाहरुमा तदारुकताकासाथ सैनिक व्यक्तिहरु खट्टिई त्यस्ता शंकास्पद वस्तुहरुलाई सुरक्षितसाथ निस्क्रिय गर्ने कार्य समेत गरिरहेको छ । सोही क्रममा मिति २०७४ कार्तिक २२ गतेदेखि मिति २०७४ मंसिर ०८ गतेसम्म पाँचथर जिल्लाको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोट जिल्लाको चौरजहारी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र बाह्रविसे, रोल्पा जिल्लाको भदौरे, रामेछाप जिल्लाको खाडाँदेवी, ओखलढुङ्गा जिल्लाको मोलुङ, लम्जुङ्ग जिल्लाको वेसिशहर, पर्वत जिल्लाको कुश्मा, धादिङ्ग जिल्लाको निलकण्ठ, गजुरी, गल्छी र घाटबेशी, बाग्लुङ्ग जिल्लाको बढीगाउँ र निशिखोला, अछाम जिल्लाको साँफेबगर, संखुवासभा जिल्लाको धर्मदेवी, रुपन्देही जिल्लाको बुटवल, रौतहट जिल्लाको गुजरा र कटानी, रसुवा जिल्लाको उत्तरगया, चितवन जिल्लाको भरतपुर, खोटाङ्ग जिल्लाको हलेसी, गोर्खा जिल्लाको गण्डकी र सिरानुचोक, नुवाकोट जिल्लाको शिवपुरी र विदुर, दाङ्ग जिल्लाको शान्तिनगर, कालिकोट जिल्लाको छाती, नवलपरासी जिल्लाको देवचुली एवं दोलखा जिल्लाको भिमेश्वर नगरपालिका गरी जम्मा ३३ स्थानहरुमा फेला परेका शंकास्पद वस्तु, बम तथा आई.ई.डी.हरु सुरक्षीतसाथ डिस्पोज गरेको छ ।