
– मिना बुढाथोकी
सल्यान, ८ मंसिर । सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । रोल्पाको राँकबाट दाङको तुलसीपुरका लागि छुटेको राप्ती समितिको ना ३ ख ८०७७ नंम्वरको बस शुक्रवार अपरान्ह ३ वजे शारदा नगरपालिका ६ वरलामा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुमध्ये ९ जनाको अधिकारी पोलिकिल्निक र ७ जनाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा सल्यान बांझकाडाका छविलाल विक, शानपा १२ निवासी हिरालाल विक, सल्यान पिपलनेटा निवासी खुमा केसी, सोही ठाँउका जिवन केसी, मेनुका केसी, छविलाल केसी छन् । यस्तै रोल्पा राँककी धनमाया वली, रोल्पा पाखापानीका मनिसा विक, रोल्पा राँककी जस्मीरा सुनार, सोही ठाँउकी रतिकला विक र बिन्दु विक रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको बस व्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक नरबहादुर सलामीले जानकारी दिए । बसमा ३५ जना यात्रु थिए ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय सितलपाटीबाट गएको प्रहरीको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनापछि चालक तथा सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस दुर्घटनापछि सडकमै पल्टिएकोले सल्यान रुकुम सडक खण्ड केही समयका लागि अवरुद्ध भएको थियो ।











प्रतिक्रिया