काठमाडौं, ८ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताएका छन् । देशमा भ्रष्टाचार नियन्त्रण गर्न र गरिबी अन्त्य गर्न कांग्रेस बाहेक अरु कसैले नसक्ने दावी समेत उनले गरे ।
काठमाडौंको बबरमहलमा शुक्रबार बिहान आयोजित एक कार्यक्रममा नेता सिंहले कांग्रेसको ठीक नीति र त्यसको सही कार्यान्वयनबाट नै देश समृद्धिको अभियानमा अघि बढेको बताए ।
‘देशको राजश्व पहिले ६ अर्ब थियो, अहिले ६ सय अर्बभन्दा बढी भइसकेको छ,’ उनले विगतका सरकारसँग कांग्रेसको सरकारको तुलना गर्दै भने, ‘राज्यको ढुकुटी मजबुत गर्नका लागि उदार आर्थिक नीति अपनाएकोले देश उन्नतीको बाटोमा अगाडि बढेको छ । हामीले समृद्धिको अभियान अगाडि बढाइरहेका छौं ।’
नेता सिंहले कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा संविधान जारी भएकाले त्यसको कार्यान्वयनको जिम्मा पनि कांग्रेसले नै पाउनुपर्ने बताए । आफू उपप्रधानमन्त्री बनेको बेला संविधान जारी भएको भन्दै उनले भने, ‘विगतमा तपाईंहरुले मेरो जुन हैसियत बनाइदिनुभयो त्यही कारण म उपप्रधानमन्त्री बनें । म उपप्रधानमन्त्री बनेको बेला संविधान जारी भएकोलाई चानचुने कुरा ठान्नुहुन्छ ?’
विकासका काल्पनिक कुरा गरेर चुनावमा मत माग्नेहरुबाट सचेत रहन उनले आग्रह गरे । मंसिर १० र २१ गते सबै काम छाडेर भोट हाल्न जान र योग्य उम्मेदवार चुन्न पनि नेता सिंहले सबैलाई आह्वान गरे ।











प्रतिक्रिया