
चार दशकदेखि नेपाली राजनीतिमा लागिपरेका एक चिरपरिचित नाम हो – पृथ्वीसुब्बा गुरुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख समेत रहेका पृथ्वीसुब्बा गुरुङले एकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भएर मन्त्रालयको बागडोर समेत सम्हालिसकेका छन् । नेपालको कम्युनिष्ट पार्टीमा आशा र भरोसाको केन्द्रबिन्दु रहेका तिनै पृथ्वीसुब्बा गुरुङ अहिले लमजुङ प्रदेश (ख) बाट चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । बाम गठबन्धन (एमाले–माओवादी केन्द्र) ले साझा उम्मेदवारको रुपमा सारेका तिनै पृथ्वीसुब्बा गुरुङसँग चुनावी एजेण्डासहित लमजुङका पत्रकार कृष्ण आले र बेलिना थापाले गरेको कुराकानीः
तपाईं समानुपातिकमा पनि बस्न सक्नुहुन्थ्यो, किन चुनाव नै लड्नुभयो ?
लमजुङलाई मेरो आवश्यकता महसुस गरेको छु । चुनावमा नउठ्ने पनि भनेको थिएँ । तर, यहाँका मतदाताले ‘तपाइँ उठ्नोस्, हामी जिताएर पठाउँछौं’ भनेपछि म चुनाव उठेको हुँ । अर्कोतर्फ मैले प्रदेशमा मेरो महसुस गरेँ । म समानुपातिकमा बसेपनि एक नम्बरमा पर्थें । जिल्ला र प्रदेशका साथीहरुले मलाई समानुपातिकमा बस्न वा प्रत्यक्षमा लड्न मलाई नै निर्णय गर्न जिम्मा दिनुभएको थियो । मैले प्रत्यक्षबाटै लडेर प्रदेशको नेतृत्व गर्ने निर्णयसंगै अघि बढेको हुँ । लमजुङको कृषि, पर्यटन र जलश्रोतको विकासमा महत्वपूर्ण योगदान दिन सकिन्छ । त्यसैले म प्रत्यक्षबाटै प्रदेशमा जाने निर्णय गरेर चुनावी मैदानमा होमिएको हुँ ।
एकपटक मात्रै चुनाव जित्नुभयो नि ?
पञ्चायतकाल (२०४३) मा म जेलमा थिएँ । भण्डाफोर अभियान र पार्टी प्रचारको अभियानमा थिएँ । २०४८ सालमा काँग्रेसको तुलनामा हामी निकै कमजोर थियौं । ५१ सालमा अलिअलि सम्भावना थियो । ५६ सालमा बहुमत ल्याउने राम्रो सम्भावना थियो । पार्टी विभाजन हुन पुग्यो । २०६४ मा ६ हजार मत फरकले जित्यौं । २०७० मा प्राविधिक कारणले विजयलाई कायम गर्न सकिएन । किनकी त्यतिबेला एक खालको संक्रमणकाल थियो । जनजातिले जनजातिको मुद्दा छोड्यो भने, खसआर्य समुदायले जनजातिको कुरामात्रै बोल्यो भन्ने चेपुवामा परेको हुँ । त्यो मैले हार्नुपर्ने चुनाव थिएन ।
तपाईंको यसपटक कस्तो छ माहोल ?
हामीले लमजुङमा स्थानीय तहको चुनावमा पनि बामगठबन्धन कायम गरेर चुनाव लड्यौं । नगरपालिका र गाउँपालिकामा बलियो उपस्थिति बनायौं । हामी प्रदेशसभामा बहुमत प्राप्त गरेर प्रदेश सरकार गठन गर्दै छौं । त्यसकारण प्रदेश सरकार गठन गर्ने हैसियत भएको पार्टीलाई भोट हालेर आफ्नो भोट खेर नजाओस् भन्ने मतदाताहरुको मनस्थिति देखिएको छ ।
तीन ठूला शक्तिहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रमध्ये नेकपा एमाले र माओवादी केन्द्र मिलेर बामगठबन्धनका साथ उम्मेदवारी दिइएकाले मतदातामा एक खालको उत्साह र आत्मविश्वास छ । त्यसकारण पनि हाम्रो जित सुनिश्चित छ । प्रक्रिया पु¥याएर घोषणा गर्न मात्र बाँकी हो । लमजुङको विकासको लागि ढिला गरे पनि चाँडै गरे पनि, धेरै गरे पनि थोरै गरे पनि नेकपा एमाले नै हो । पृथ्वीसुब्बा गुरुङ नै हो । हारे पनि जिते पनि उसले निरन्तर काम गरिरहेको छ । लमजुङको विकासको लागि निरन्तरता दिइरहेको छ । जनताको पक्षमा लागिरहेको छ । हामीले पृथ्वीसुब्बा गुरुङलाई जिताउनु पर्छ र प्रदेशको मुख्यमन्त्री बनाएर प्रदेशको विकास गर्ने, लमजुङको विकास गर्ने काम गर्नु पर्छ भन्ने आम मतदाताहरुको साझा मनोविज्ञान नै बनेको छ । त्यसैले हाम्रो जित सुनिश्चित छ ।
मानौं, तपाईं प्रदेश नं. ४ को मुख्यमन्त्री हुनुभयो । लमजुङ र प्रदेशका जनताका लागि मुख्य योजना के छन् त ?
पहिलो करा हाम्रो प्रदेश नेपालको राष्ट्रिय एकताको प्रतीक पृथ्वीनारायण शाहले जन्म दिएको प्रदेश हो । नेपालको राष्ट्रिय स्वधिनताको लागि, भौगोलिक अखण्डताका लागि लडेका भिमसेन थापा नेपालको पहिलो प्रधानमन्त्रीको प्रदेश पनि हो । अमरसिंह थापा, भक्ति थापालगायत ऐतिहासिक व्यक्तित्वहरुको प्रदेश पनि हो । थुप्रै विभूतिहरु हाम्रो प्रदेशमा जन्मेका छन् । त्यसैले उनीहरुको गौरव र गाथालाई उच्च राख्न ४ नम्बर प्रदेशलाई शान्त, सम्बृद्धि र सभ्य प्रदेश बनाउनका लागि मेरो पहिलो ध्यान जान्छ ।
दोश्रो कुरा ४ नम्बर प्रदेशमा आर्थिक समृद्धि हासिल गर्ने हो भने हामीले चार वटा काम गर्नु पर्छ । पहिलो काम कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यन्त्रीकरण गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, उद्योगको विकास, जलउर्जा, सौर्य उर्जा, वायु उर्जाको उत्पादन गरेर प्रदेशलाई आद्योगिकरणको दिशामा लैजानको लागि उपयोग गर्नुपर्छ । बाँकी उर्जाहरु अन्य प्रदेशहरुमा निर्यात गरी प्रदेशको आयश्रोत बढाउनु पर्छ । यसका लागि पूर्वाधारहरुको विकास जरुरी छ । पूर्वाधारको विकास भन्नाले कोराला नाकादेखि पोखरासम्म जोड्ने, पोखरा नाकालाई सुस्ता त्रिवेणीसम्म जोड्ने, छेकम्पार नाकालाई पोखरासम्म जोड्ने, यसलाई पनि सुस्ता त्रिबेणसँग जोड्ने कामले व्यापारको बिस्तृतीकरण गर्ने योजना रहेको छ ।

बुढीगण्डकी र काली गण्डकी करिडोरमा सडकहरु बनाउने र पोखरासम्म जोड्ने, पोखरादेखि भिमादहुँदै कावासोतीसम्मको छोटो सडक पहुँच मार्गको निर्माण गरेर प्रदेशको ११ वटै जिल्लाहरुलाई प्रदेशको राजधानी पोखरासम्म जोड्ने, भौतिक पूर्वाधारको विकास गर्ने, कतिपय स्थानहरुमा केबुलकार निर्माण गछौं । केपी ओली सरकारको पालामा निर्णय भएको केरुङदेखि काठमाडौं, काठमाडौंदेखि पोखरा, पोखरादेखि लुम्बिनीसम्म जोड्ने रेलमार्गको विस्तृत अध्ययन गरेर कार्यान्वयन गर्ने चरणमा सरकारलाई दवाव दिन्छौं । यसलाई चाँडाभन्दा चाँडो कार्यान्वयन गरेर हाम्रो प्रदेशलाई रेलमार्गसँग जोड्ने, अन्तराष्ट्रिय स्तरमा भारत र चीनसँग जोड्ने काम पनि गर्नेछौं ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल तीन वर्षभित्र सम्पन्न गरेर पोखरा बजारलाई अन्तराष्ट्रियस्तरका मुख्य शहरहरुसँग जोडेर सिधै पर्यटकहरु पोखरा आउन सक्ने वातावरण बनाइ पर्यटक क्षेत्रको मूल हवको रुपमा पोखरालाई विकास गर्ने, खासगरी पोखरा बजारलाई नेपालको शैक्षिक, स्वास्थ्य र पर्यटकीय हवको रुपमा विकास गरेर सामाजिक, आर्थिक र निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने देखिएको छ । यसरी नै हामी अगाडि बढ्छौं । साथै अन्तराष्ट्रिय खेलकुदको विकासको लागि अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने, अन्तराष्ट्रिय स्तरको विभिन्न खेलकुदको आयोजना गर्ने र प्रदेशलाई नै खेलकुद हवको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ । हाम्रो प्रदेश नै हो, युरोनियमको खानी भएको, तामा खानी, सुनाखानी भएको । यिनीहरुको उत्खनन र प्रशोधन गरेर ४ नम्बर प्रदेशको जनताको जीवनस्तर उँचो बनाउने काममा हामी निरन्तरता दिन्छौं ।
तपाईंसँग जिल्लाबासीको गुनासो पनि छ नि ?
पृथ्वीसुब्बाले केही गरेन भन्ने कुरा जनताले भन्नुपर्ने बाध्यता मैले बनाएको छैन । यो त प्रतिपक्षहरुको कुरा मात्रै हो । जसले आफूले काम पनि गर्दैन, अरुले गरेको काम पनि छोपेर राख्न चाहन्छ । जनतालाई सुसूचित हुने कुराबाट बञ्चित गरेर आफूले नगरेको कामको ढाकछोप गर्न प्रतिपक्ष जागरुक छन् । त्यसैले तपाइँले भनेका कुराहरु आरोपहरु हुन् । लमजुङे जनतालाई जिल्लाको विकास धेरैभन्दा धेरै होस् भन्ने चाहना थियो, त्यो चाहनालाई मैले सम्पुर्ण रुपमा पुरा गर्न नसकेको कुरा चाहिँ सत्य नै हो । जति कुरा जनताले चाहेको थिए, ती सबै काम त हुन सकेका छैनन् । किनभने कांग्रेसको जस्तागरी ४/५ बर्ष लगातार मन्त्री पनि भएको छैन । कांग्रेसको जस्तागरी म बारम्बार मन्त्री र सांसद भएको पनि छैन । हाम्रो पार्टीलाई लगातार १६/१६ वर्षसम्म ४८ देखि ६४ सालसम्म लगातार कांग्रेसको दुई जना माननीयले जितेको जित्यै ग¥यो ।
कांग्रेसको माननीयले जितको १६ वर्षसम्म एकछत्र रजाँइ गरेको र एकछत्र सरकार चलाएको लमजुङ जिल्लामा एउटा पनि पुल बनाएका छैनन् । एउटा पनि सडक बनाएका छैनन् । लमजुङको काउलेपानी, घलेगाउँ जस्ता दुर्गम स्थानमा विकासको प्रारम्भ उनीहरुले गरेका होइनन्, हामीहरुले गरेका हौं । हरित सडकहरुको निर्माण गरेर लमजुङमा ग्रामीण सडकको सञ्जाल फैलाउनु पर्छ भनेर लड्ने र नेतृत्व लिने नेकपा एमाले नै हो । यद्यपी नेपाली कांग्रेसको समर्थन गर्ने स्थिरबाबु घिमिरेको महत्वपुर्ण योगदान छ ।
तर जिल्लाको विकासका लागि नेपाली कांग्रेसको आधिकारिक रुपमा कुनै किसिमको भुमिका छैन । २०२१ सालमा नेपाली कांग्रेसको तत्कालीन नेता श्रीकान्त अधिकारीले निर्माण शुरु गरेको हवाइ मैदान मैले २०६४ सालमा म मन्त्री हुँदा निर्माणको काम प्रारम्भ भयो । जव कांग्रेसहरुको बोलावाल चल्न थाल्यो, जव उनीहरुको सरकार बन्यो, त्यो पनि अहिले आएर हराएर गयो । त्यस हवाइमैदानको पुनर्जिवित गरी निर्माण गर्नु जरुरी छ । लमजुङमा हवाइमैदान, पर्यटन र होमस्टेको विकास गर्ने अवधारणा त मैले नै ल्याएको हो नि !
जिल्लाको आर्थिक समृद्धिका लागि तरकारी र आलुमा आत्मनिर्भर गराउने हाम्रो अवधारणा अनुसार कृषकको पक्षमा कतिपय कामहरु त भएका छन् । त्यस्तैगरी लमजुङ जिल्लाको दोर्दी, मस्र्याङ्दी, मादी, लुदी, मिदिम लगायत नदी र खोलामा पुल निर्माण गरेर सडक सञ्जालमा जोड्ने काम गरेको पृथ्वीसुब्बा गुरुङले हो । हामीले मादीमा मात्रै पाँच वटा पुल बनाएका छौं । मस्र्याङ्दीमा दुई वटा पुल बनाएका छौं । यो बनाएको कुनै कांग्रेसले होइन । पृथ्वीसुब्बा उ माननीय हुँदा÷नहुँदा पनि यो कामका लागि निरन्तर लागि परेको छ । त्यसकारण पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लाको लागि केही गरेन भन्ने कुरा झुटा आरोप हो । झिँगोको सरापले डिँगो मर्दैन । यो तपाइँ आफै पनि बुझ्नु हुन्छ ।
तपाइँ बाम गठबन्धनबाट उम्मेद्वार बन्नुभएको छ । यो बाम गठबन्धन चुनावमा जित्नकै लागि मात्रै हो ? कि पार्टी एकताको लागि पनि हो ?
पहिलो कुरो हामीले राजनीतिक क्रान्ति पुरा ग¥यौं । शान्तिपुर्ण जनक्रान्ति पुरा ग¥यौं । क्रान्ति पुरा भइसकेको हुनाले अव हाम्रो उद्देश्य भनेको सामाजिक, आर्थिक रुपान्तरणको माध्यमबाट सम्बृद्धि हासिल गर्ने हो । देशको विकास गर्ने हो । जनतालाई सुखी बनाउने हो । नेपाललाई समृद्धि बनाउने हो । त्यो कामको लागि हाम्रो मुलुकका अहिलेसम्मको शासन प्रणाली र शासनको संस्कार छ, एक वर्षमा सरकार परिवर्तन भइरहने, यस्तो खालको अस्थिर स्थितिमा मुलुकलाई लैजानको लागि नेपाली कांग्रेस मुल कारक हो । किनभने नेपाली कांग्रेसले १५ सालमा पनि बहुमत ल्यायो, ४८ सालमा बहुमत ल्यायो, ५६ सालमा बहुमत ल्यायो । तर सरकार चलाउन सकेन । काँग्रेसले बहुमत ल्याउने बेलामा कहिल्यै पनि ५ वर्षसम्म सरकार चलाउन सकेको छैन । कहिल्यै पनि विकासको नयाँ तरंग ल्याउन सकेको छैन । यसरी विकासको योजना पनि नल्याउने, सरकार स्थाई रुपमा चलाउन पनि नसक्ने, लोकतन्त्रलाई बचाउन पनि नसक्ने स्थिति भएको हुनाले मुलुकको समृद्धि र शान्तिको लागि राजनीतिक स्थिरता आवश्यक छ । राजनीतिक स्थिरताको लागि स्थीर सरकार आवश्यक छ । स्थिर सरकारको लागि राजनीतिक स्थिरता आवश्यक छ । राजनीतिक स्थिरताको लागि अव कांग्रेसको होइन, कम्युनिष्टहरुको बहुमत चाहियो । यस तथ्यलाई प्रमाणित गर्नका लागि हामीले बामगठबन्धन गरेका हौं ।
अहिले निर्वाचनका लागि ४० र ६० प्रतिशत सिट माओवादी केन्द्र र एमालेबीचमा बाँडफाँड गरेको हुनाले चुनावको लागि भएको भन्ने लाग्छ । चुनावको लागि त यसै पनि आवश्यक छ । हामीले किन ढाँट्नु प¥र्यो र ? चुनावमा मुलुकको विकासका लागि संकरात्मक प्रगतिशील शक्ति र लोकतान्त्रिक देशभक्त शक्तिको हातमा सत्ता आउनु आवश्यक छ । ताकि त्यस्ता शक्तिले मात्र मुलुकमा स्थाई शान्ति, सुरक्षा र सुशासन कायम गर्न सक्छ । व्यापक पूर्वाधारहरुको निर्माण गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सकोस् । हो, त्यो उद्देश्यका साथ राष्ट्रिय स्वाधिनताको लडाइँमा जहाँबाट पनि सपुतहरुले विगुल फुके, उनीहरुको सपनालाई साकार पार्नका लागि नेपालका बामपन्थीहरुको बाम एकता आवश्यक छ ।
चुनावको मुखमा पार्टी एकता विचार, सिद्धान्त, कार्यनीति, संगठनलगायत सबैमा एकतावद्ध गर्नुपर्ने भएको हुनाले तत्कालको परिस्थितिमा यो सम्भव भएन । चुनावपछि हामी सात वटै प्रदेशको सरकार बनाउँछौं र केन्द्रमा सरकार बनाउँछौं । त्यसपछि मात्र हाम्रो पार्टी एकीकरणको काम शुरु हुन्छ । एउटा सशक्त कम्युनिष्ट पार्टीले मात्र देशको विकास गर्न सक्छ, स्थायी सरकार चलाउन सक्छ र स्थायी शान्ति कायम गर्न सक्छ । पार्टी एकीकरणको प्रस्थान विन्दु निर्वाचन पनि हो । त्यसैले हामी पार्टी एकता गर्छौं ।
तपाईंले लमजुङलाई धेरै समय दिन सक्नुहुन्न आजकल भन्ने गुनासो पनि सुनिन्छ नि ?
सायद यो आरोप नेपाली कांग्रेसले लगाएको हो । नेपाली कांग्रेस केन्द्रमा पनि केन्द्रीय राजनीति पनि छैन, जिल्लाको राजनीति पनि छ भन्छ, तर नेपाली कांग्रेस जनताको बीचमा छैन । पृथ्वीसुब्बा गुरुङ त गाउँगाउँ र टोलटोलमा पुग्न सकेको छैन त ? लमजुङ जिल्लामा पार्टी हेडक्वार्टरले मलाई जहिले पनि भन्छ, कति जिल्ला मात्रै जान सकेको ? केन्द्रीय काम हेर्नु प¥र्यो, तपाइँको काम त केन्द्रीय काम हो नि । नेपाल भरीको काम हो नि । प्रवासमा रहेको पार्टी संगठन चलाउने काम हो नि । यस्ता आरोपहरु केन्द्रबाट खेपिरहेको छु । लमजुङमा आयो भने तपाइँ कम आयो । अलि बढि आउनु प¥र्यो । जनताले अलि बढि माया गरेर पनि त्यस्तो भएको होला । त्यसैले कसैले भनेको जस्तो आउँदै नआएको पनि होइन र कसैले भनेको जस्तो बेस्सरी सबैको घरघरै पुग्न पनि सकिरहेको छैन । जिल्लामा बस्नेहरुले त जनताको घरघरै पुग्न सकेका छैनन् भने म केन्द्रमा बसेर पार्टीको संगठन हेर्नुपर्ने जिम्मा बोकेको मान्छे अलि सम्भव छैन । तर मैले आफ्नो पार्टीको तर्फबाट लमजुङे जनतासँगको सम्बन्धलाई जीवन्त राखेको छु ।
त्यसो भए यसपटक तपाईं पक्कै जित्नुहुन्छ त ?
ठीक भन्नु भयो । पृथ्वीसुब्बालाई जिताउनका लागि सचेत लमजुङे जनता जागरुक भइसकेका छन् । मलाइ जिताउन लमजुङमा बसेका जनता मात्रै हैन कि चितवन, पोखरा, काठमाडौंलगायत स्थानहरुमा बसेका सारा बुद्धिजीवीहरु, पेशाकर्मी, व्यवसायीहरु जो हुनुहुन्छ, उहाँहरु सबैले यसपटक पृथ्वीसुब्बालाई जिताउनु पर्छ, यो हाम्रो लागि महान् अवसर र गौरवको विषय हो । र, हाम्रो लागि राजनीतिक नेतृत्व आफ्नो लमजुङ जिल्लाले पाउने कुरो महत्वपुर्ण विषय हो भनेर जनताले भन्नु भएको छ । हङकङ, जापान, युके, अमेरिका, युरोपलगायत मुलुकमा बसेका सबै नेपाली र लमजुङेहरु यो र ऊ नभनीकन ‘पृथ्वीसुब्बा गुरुङ जिताऔं’ अभियान नै सञ्चालन गरेका छन् । तन, मन, धन सबै कुराले हामी सहयोग गर्छौ भन्नु भएको छ ।
नेपाली कांग्रेस, संघीय समाजवादी पार्टीसहितका पार्टीका समर्थकहरुले पनि बामगठबन्धनलाई भोट हाल्न नसके पनि पृथ्वीसुब्बालाई चाहिं भोट हाल्छौं भन्नु भएको छ । राजनीतिक उचाई प्राप्त गरेको व्यक्ति अन्य पार्टीको भन्दा बढि अवसर भएको नेताको रुपमा जनताले मलाई स्वीकार गर्नु भएको छ । लमजुङले मुख्यमन्त्री भित्र्याउनका लागि पनि साथ र सहयोग जनताको रहने छ ।
त्यसैले अहिले के सत्तापक्ष, के प्रतिपक्ष, के आफ्नो पक्ष, के अर्काको पक्ष, के आफ्नो पार्टीको कार्यकर्ता, के अर्का पार्टीको कार्यकर्ता सबै जनाले मुख्यमन्त्री बन्न शुभकामना सहित भोट हालेर सहयोग गछौं भन्नुभएको छ । जिल्लामा मेरो पक्षमा अहिले व्यापक जनलहर र आमसहमति देखिएको छ । त्यो भन्दा पनि म लमजुङेको साझा उमेद्वारको रुपमा छु । राष्ट्रले खोजेको र जनताले रोजेको उमेद्वार भनेर जनताले पनि भन्नु भएको छ ।
कृष्ण आले र बेलिना थापासँगको कुराकानी













प्रतिक्रिया