१२ मंसिर २०८३, शनिबार

काँग्रेस प्रतिपक्षमा बस्न तयार भए हुन्छः माधव नेपाल

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ६ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको बहुमत आउने बताएका छन् । निर्वाचन पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको कम्युनिष्ट गठबन्धनको बहुमत आउने भएकाले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्ने गरी तयारीमा रहन उनले सुझाएका छन् ।

सिरहाको लहानमा पार्टी प्रवेश तथा नेता कार्यकर्तालाई सम्बोधन गर्न बुधवार लहान आएका पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै लड्दा पनि ६१ प्रतिशत आएकाले प्रतिनिधि सभा र प्रदेशमा भएको बाम गठबन्धनले दुई तिहाई आउने ठोकुवा गरे ।

उनले बाम गठबन्धनको पक्षमा देशै भर निरन्तर बढ्दै गएको लहरले काँग्रेस अत्तालिएर बाम गठबन्धनलाई प्रजातन्त्र विरोधीको आरोप लगाउन थालेको बताए । उनले नेपाली काँग्रेसका नेताले विगत जस्तै यस पटकको निर्वाचनमा समेत बाम गठबन्धन विरुद्ध गलत प्रजारबाजीमा उत्रिएकाले त्यो हल्लामा नपर्न कार्यकर्तालाई आग्रह गर्दै सामना गर्ने गरी निर्वाचनमा जुट्न निर्देशन दिए ।

नेपाली काँग्रेसका नेताहरुले आरोप लगाए झै कम्युनिष्ट कहिल्यै पनि प्रजातन्त्र विरोधी नभएको भन्दै नेता नेपालले काग्रेसका सभापति शेर बहादुर देउवालाई आफ्नै पार्टी भित्र प्रजातन्त्रको मूल रुप स्थापित भएको देखाउन चुनौति दिए । उनले भने ‘देउवा प्रजातन्त्रको सर्टिफिकेट दिने व्यक्ति होइन । त्यसैले उनले भनेपछि मात्र कम्युनिष्ट पार्टी प्रजातन्त्रबादी हुने, नत्र नहुने हुँदैन । प्रजातन्त्रको सर्टिफिकेट देउवाबाट कम्युनिष्टलाई चाहिएको पनि छैन ।’

नेता नेपालले अरुलाई प्रजातन्त्त विरोधी भन्ने नेपाली काँग्रेस आफै पार्टी भित्र अभ्यास गराउन नसकेको आरोप लगाए । नेपाली काँग्रेस प्रजातन्त्रको गलत अभ्यासमा लागेर व्यक्तिवादी बनेपछि धेरै काँग्रेसीहरु बाम गठबन्धनमा प्रवेश गरेको हेर्न देउवालाई ध्यानाकर्षण गराएका थिए ।

यसैविच, नेता नेपालले प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा संयमित भएर काम गर्न प्रशासन तथा निर्वाचन आयोगलाई आग्रह गरेका छन् । सत्ताको बलमा सरकारी निकायलाई एक पक्षीय भएर काम नगर्न नेता नेपालले सुझाएका छन् । उनले घडीको सुई सधैँ एकै ठाउमा नबस्ने भन्दै निर्वाचन आयोग र प्रशासनिक निकाय गम्भिर नभए त्यसको मुल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।