कावासोती, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताएका छन् ।
भैरहवा जाने क्रममा नवलपुरको चोरमारामा बुधवार बाम गठबन्धनका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिर सरकारका लागी बाम गठबन्धनका उमेदवारहरुको जित सुनिश्चित हुनुपर्ने बताए । देशलाई संम्वृद्धितर्फ लैजान र राष्ट्रियता मजबुत पार्न पनि बाम गठबन्धनको विकल्प नभएको ओलीको भनाई छ ।
उनले बाम गठबन्धनको सरकार बनेपछि बिदेशमा रहेका ४० लाख युवाहरुलाई स्वदेशमै फर्काएर रोजगारीको व्यबस्था गर्ने दावी गरे । चुनावलगत्तै माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुने उनले स्पष्ट पारे । चुनाव अघि नै पार्टी एकताको प्रयास भएपनि काम गर्दै जाँदा नभ्याइएकाले चुनाव लगत्तै पार्टी एकता हुने उनको भनाई छ ।
गणेशमान सिंह भैदिएको भए एमालेमा प्रवेश गरिसक्थे
ओलीले पुराना काँग्रेस नेताहरु एमालेमा प्रवेश गर्ने क्रम चलिरहेको भन्दै गणेशमान सिंह भैदिएको भए उहाँ अहिले एमालेमा प्रवेश गर्ने धारणा राखे ।
गणेशमान काँग्रेस छोडेर बित्नुभएको स्मरण गर्दै अध्यक्ष ओलीले अहिलेका काँग्रेसका नेता भन्नेहरु त्यतिबेला नजन्मिएको टिप्पणी गरे । ओलीसंगै माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादल पनि चुनावी सभामा सहभागी थिए ।
विजय चालिसेबाट












प्रतिक्रिया