धनगढी (कैलाली), ५ मंसिर । नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छिन् । उनले कैलालीसहित प्रदेश नम्बर ७ को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताइन् ।
‘मलाई काठमाडौँ, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध गरिएको थियो’ डा. राणाले भनिन्, ‘तर मैले कैलालीको यो क्षेत्र रोजे ।’ क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा घरदैलौ र चुनावी सभामा सम्बोधन गरेकी छिन् ।
चुनावी सभाहरुमा उनले आफूलाई सुदूरपश्चिमका समस्या र अवस्थाबारे राम्रो ज्ञान रहेको दावी गर्दै भनिन्, ‘यहाँको तीब्र आर्थिक सामाजिक विकासको अठोट सहित म चुनावमा सहभागी भएकी छु । यो क्षेत्र पिछडिएको क्षेत्रको रुपमा अब रहदैन ।’
उनले काँग्रेसले नै सुदूरपश्चिमलाई राजधानीसँग प्रत्यक्ष सम्पर्क स्थापित गराएको चर्चा गरिन् । ‘२२ पुलको निर्माणपछि नै सुदूरपश्चिमको राजधानीसँग प्रत्यक्ष सम्पर्क स्थापित भएको हो’ उनले भन्, ‘सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, मेडिकल कलेज, गेटा विमानस्थलको विस्तार लगायतका कार्य काँग्रेस नेतृत्वको सरकारका कारण मात्रै सम्भव भएको हो ।’
नेतृ देउवाले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधारा–चादनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाको स्तरोन्नत, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू काँग्रेसले नै अघि बढाउने उल्लेख गरिन् ।











प्रतिक्रिया