धनगढी (कैलाली), ४ मंसिर । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले बाम गठबन्धन गरेर मुलुकमा साम्यवाद ल्याउने सपना देखेका नेताहरुलाई सुदूर पश्चिमको विकास र उन्नतिको लागि के गरे? भन्दै प्रश्न गरेकी छिन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार उठ्नुभएकी डाक्टर आरजुले सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का विभिन्न स्थानमा आयोजित चुनावी सभामा यो अवधिमा सुदूरपश्चिममा भएका विकास नेपाली काँग्रेसका कारणले मात्रै भएको बताइन् । वडा नम्बर १६ का पिपल चौतारी, रामपुर, घसिटा, विउसाह लगायतका स्थानमा भएका चुनावी सभामा उनले कैलालीसहित प्रदेश नम्बर ७ को विकास काँग्रेसबाट मात्रै सम्भव भएको बताइन् ।
उनले आफ्नो लक्ष्य आम नेपाली महिलाले आफ्नै जस्तो सेवासुविधा पाउन सकुन् भन्ने रहेको बताइन् । उनले भनिन्, ‘म राम्रो परिवारमा जन्मे, हुर्के । राम्रै सुविधामा बसिरहेकी छु । म चाहन्छु सबै महिलाले मेरै जस्तो सेवासुविधा र अवसर प्राप्त गर्न सकुन् ।’ उनले सो लक्ष्य कठिन र असम्भव नभएको बताइन् ।
नेतृ डाक्टर राणाले काँग्रेसका कारण नै संविधानमा महिलाका हकअधिकार सुनिश्चित भएको दावी गरिन् । उनले संविधान र ऐन कानूनले सुनिश्चित गरेको यी अधिकार कार्यान्वयनका लागि पनि नेपाली काँग्रेसको जीत आवश्यक भएको बताइन् । उनले सिंगो देश र सबै नेपालीको समान विकास र अधिकारका लागि काँग्रेसले नै काम गरेको बताइन् ।











प्रतिक्रिया