१२ मंसिर २०८३, शनिबार

कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुन्छ: अध्यक्ष ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि: राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तक्र्रियामा अध्यक्ष ओलीले कम्युनिस्ट सरकार आएपछि अर्थतन्त्र तहसनहस नभई झन बलियो हुने बताउनुभयो ।

उहाँले कम्युनिस्ट सरकारमा बन्द, हडताल भन्ने कुरा नहुने र रोजगारका लागि विदेश गएका ४० लाख युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने दाबी गर्नुभयो । वाम गठबन्धनको चुनावी घोषणापत्र आर्थिक समृद्धिका दृष्टिकोणले महत्वकांक्षी भएजस्तो देखिए पनि पूरा गर्न सकिने योजना भएको अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, “महत्वाकांक्षी योजना नबनाउने हो भने त सधैँ यथास्थितिमा बसे भैगोनि, विकासका लागि महत्वाकांक्षी योजना जरुरी छ ।”

पश्चिमा देशले गरेको विकासभन्दा नेपालले तीव्ररुपमा विकास गर्न सक्ने र पश्चिमा देशले विकास गर्दा सूचना प्रविधिको विकास नभएको हुँदा जति समय लाग्यो अब नेपालको विकास गर्न त्योभन्दा कम समय लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (सन् २०१७ देखि सन् २०३० सम्म) मा हस्ताक्षर गर्ने १९३ देशमध्ये नेपाल पनि रहेको भन्दै उहाँले द्रुत विकास तर दिगो विकास शैलीमा नेपालको विकास गर्नुपर्ने जरुरी छ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले नेपालको अर्थतन्त्रको विकासका लागि कुरा मात्र नभई स्पष्ट योजना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दिगो विकासको लक्ष्य पूरा गर्नका लागि निकै मेहनत गरेर सोहीअनुरुप योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महासंघका अध्यक्ष भवानी राणाले स्थिर सरकार आएपछि मुलुकको अर्थतन्त्र बलियो हुनेमा आशावादी रहेको र निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस