काठमाडौं, ४ मंसिर । पुत्र वियोगमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाश दाहालको श्रद्धाञ्जलि सभामा र दाहसंस्कारमा सहभागी भएकाहरु सबैलाई धन्यवाद दिएका छन् ।
छोरा प्रकाशको निधनपछि सोमबार लाजिम्पाट निवासमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले शोकको समयमा सबैबाट रचनात्मक सहयोग पाउँदा आफ्नो परिवारलाई शक्ति प्राप्त भएको बताए ।
निकै भावुक देखिएका प्रचण्डले आफू यो घटनामा सम्हालिएपनि परिवारलाई सम्हाल्न गाह्रो भइरहेको बताए ।
‘जनताले हामीबाट अभिभावक जस्तै भूमिका खोजेको छ । हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुने तिर गएको छ । नर्मल भइसकेको त छैन । पीडा ठूलै छ । मैले त पार्टीको लिडरको हैसियतले, हिजोको युद्ध, शान्ति सबै घटनाले रियलाइज गर्नसक्ने नै कुरा छ तर परिवारलाई सम्हाल्न गाह्रो छ । किनभने पहिले छोरीको घटना र अहिलेको यो घटनाले विक्षिप्तता ल्याएको छ ।’
प्रचण्डपुत्र प्रकाशको आइतबार हृदयघातबाट निधन भएको थियो भने छोरी ज्ञानु दाहालको ३ वर्षअघि २०७० साल चैतमा क्यान्सरबाट निधन भएको थियो । तीन वर्षको अन्तरालमा दुई सन्तान गुमाएपछि दाहाल परिवार गहिरो शोकमा परेको छ ।











प्रतिक्रिया