काठमाडौं, ६ मंसिर । काठमाडौ, ६ मंसिर । नेपाल र भारतबीच बहुचर्चित पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना निर्माणका लागि छ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने समझदारी भएको छ ।
नेपालका ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतका जलस्रोत सचिव अनुजकुमार बिस्नोईको नेतृत्वमा नयाँ दिल्लीमा भएको दुई देशका अधिकारीहरूबीचको बैठकमा छ महिनाभित्रै डीपीआर तयार पार्ने समझदारी भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
ुनयाँ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर प्राधिकरण र त्यसको गभर्निङ बडीको बैठकमा छ महिनाभित्र डीपीआर तयार पार्ने समझदारी भएको छु ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव केशवध्वज अधिकारीले कान्तिपुरलाई दिए ।
बैठकले छ महिनाभित्र डीपीआर तयार पार्ने जिम्मेवारी भारतको सरकारी परामर्शदाता कम्पनी डब्लूएपीसीओएसलाई दिएको छ ।
टेन्डर आह्वान गरी डीपीआर तयार पार्ने जिम्मा दिंदा समय लाग्ने भएकाले दुई देशबीचको सहमतिमा सोझै भारतीय सरकारी कम्पनीलाई तयसको जिम्मा दिइएको हो ।
दुवै देशले आयोजना अघि बढाउन आ-आफ्नातर्फबाट विस्तृत इन्जिनियरिङ अध्ययन कार्य गरिसकेका छन् ।
दुवै देशको अध्ययन प्रतिवेदनसमेतका आधारमा भारतीय कम्पनीले डीपीआर तयार पार्ने जानकारी बैठकमा सहभागी एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार आयोजना अघि बढाउन जति सक्दो छिटो कार्यकारिणी समिति गठन गर्ने र त्यसमा रहने व्यक्तिहरूको सेवासुविधा तय गर्न दुवै देशले आ-आफ्ना तर्फबाट गृहकार्य अघि बढाउने सहमतिसमेत भएको छ ।
डीपीआर तयार पार्ने क्रममा आयोजना निर्माणमा भारत र नेपालले कति कति लगानी गर्ने भन्ने सवालमा समेत समझदारी गरिनेछ ।
दुई देशबीच २०५३ सालमा भएको महाकाली सन्धिमा छ महिनाभित्र डीपीआर तयार पार्ने उल्लेख थियो ।
तर, सन्धिपछि पानीको बाँडफाँडको विषयमा दुई देशबीच असमझदारी भएपछि डीपीआर तयार पार्ने काम १९ वर्षसम्म अघि बढ्न सकेन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साउनमा नेपाल भ्रमणका क्रममा पञ्चेश्वर आयोजना अघि बढाउने सहमति भएपछि यससम्बन्धी कार्य अघि बढेको हो ।
पञ्चेश्वर प्राधिकरणको विधान र कार्यादेशमा दुई देशबीच लिखित समझदारीसमेत भइसकेको छ ।
डीपीआर तयार पार्ने क्रममा आयोजनामा कुन देशले कति लगानी गर्ने भन्ने समझदारी भएपछि दुवै देशले वित्तीय स्रोत जुटाउन पहल थाल्नेछन् ।
डीपीआर तयार भएपछि आयोजना निर्माणको काम अघि बढाइनेछ ।
आयोजनाको निर्माण गर्न ३ खर्ब ३६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
आयोजनामा भारतले ६३ र नेपालले ३७ प्रतिशत रकम लगानी गर्ने अनौपचारिक समझदारी भइसकेको छ, त्यसमा औपचारिक रूपमा समझदारी हुन बाँकी छ ।
आयोजना निर्माण गर्न १० वर्ष लाग्ने भएकाले नेपालले करिब १३ अर्ब रुपैयाँमात्र लगानी गरे पुग्ने भएकाले खासै आर्थिक भार पर्ने छैन ।
पञ्चेश्वर आयोजनाबाट ६ हजार ७ सय २० मेगावाट विद्युत् उत्पादन हुनेछ ।
पञ्चेश्वरको मुख्य बाँधको जडित क्षमता ६ हजार ४ सय ८० मेगावाट हुनेछ ।
पञ्चेश्वर बाँधबाट विद्युत उत्पादनपछि छाडिने पानीलाई नियमन गर्न रूपालीगाढमा बन्ने रिरेगुलेटिङ बाँधबाट थप २ सय ४० मेगावाट विद्युत् उत्पादन हुनेछ ।















प्रतिक्रिया