
हेम रोकाहा / दैनिक नेपाल
चुनावकै मुखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्रशोकमा परेपछि चितवनबासी गहिरो शोकमा छन् । एक्ला छोरा गुमाएका प्रचण्डलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले जति सहानुभूति र चिन्ता देखाएका छन्, त्यो भन्दा बढी चिन्ता र चासो चितवनमा देखिएको छ ।
जवान छोरालाई दागबत्ती दिन कुन चाँहि बाबुले सक्ला र ? तर, प्रचण्डले दह्रो मन बनाउँदै आफूभित्रको आँशुको समुद्रलाई थाम्दै सम्हालिएका छन् । प्रचण्डको यो हालत देखेका उनीहरुका आफन्त, मतदाता र शुभेच्छुकहरु चितवनमा निकै चिन्तित देखिएका छन् । प्रचण्ड अब कसरी मत माग्न आउलान् भन्ने चिन्ता कार्यकर्तामा देखिएको छ । यद्यपि प्रचण्डले मंगलबारको लागि आयोजना गरिएको संयुक्त सभा नरोक्न भनेका छन् ।
प्रचण्ड अब कसरी मत माग्न आउलान् भन्ने चिन्ता कार्यकर्तामा देखिएको छ ।
प्रकाश दाहालको हृदयघातका कारण निधन भएको खबर सुन्दा सुरुमा त धेरै चितवनबासीले जिब्रो टोके । चुनावी प्रचारमा बुवा प्रचण्डको अघिपछि हिँडिरहेका प्रकाशको अनुहार अन्तिमपटक सबैले सम्झे । प्रकाशको निधनले विशेषगरी प्रचण्डले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्बर ३ बढी स्तब्ध बनेको छ । त्यो क्षेत्रका सबैले प्रचण्ड परिवारलाई समवेदना दिइरहेका छन् । शीर्ष नेता आफ्नो क्षेत्रबाट चुनावमा उठ्दा उत्साहित बनेका चितवन क्षेत्र नम्बर ३ का स्थानीय यतिबेला प्रकाश दाहालको निधनले ओइलाएका छन् । सोहीकारण आइतबार चितवनमा चुनावी कार्यक्रम रद्द गरिए ।
प्रकाश दाहालको जन्म चितवनमा नै भएको थियो । उनी २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ भीमसेननगरमा जन्मिएका हुन् । उनले आफ्नो बाल्यकाल पनि चितवनमै बिताएका थिए । २०५६ सालदेखि चाँहि माओवादी जनयुद्धमा लागे । जनयुद्धमा पनि उनले सक्रिय रुपमा आफ्ना जिम्मेवारीहरु पूरा गरेका थिए । युद्धकमाण्डर आफ्ना बुवाको सहयोगीको रुपमा कहिले हतियार बोके, कहिले बाबुको सचिवालय सम्हालेर बसे । युद्धको समयमा कयौँपटक उनको ज्यान जोखिममा परेको थियो । युद्ध जितेका उनले मृत्युसँग भने हार मान्नु पर्यो ।
युद्धको समयमा कयौँपटक प्रकाशको ज्यान जोखिममा परेको थियो । युद्ध जितेका उनले मृत्युसँग भने हार मान्नु पर्यो ।
दाहालको निधनसँगै आइतबार तय गरिएका चितवनका सबै चुनावी कार्यक्रमहरु स्थगित भएका छन् । बाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनले आइतबार चुनावी कार्यक्रमहरु स्थगित गरेका हुन् । प्रचण्डका मुख्य प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका राप्रपाका महामन्त्री बिक्रम पाण्डेले पनि दाहालको मृत्युप्रति दुःख प्रकट गर्दै आइतबार कुनै पनि चुनावी कार्यक्रम नगर्ने बताए ।
प्रचण्डको गृहजिल्ला भएका कारणले पनि चितवनका जनता प्रकाशको मृत्युले बढी स्तब्ध बनेका हुन् । छोरी रेणुलाई उनले भरतपुरबाटै मेयर बनाए । आफू पनि चुनाव लड्न चितवनमै आइपुगे । त्यसैले पनि भरतपुरबासीको उनीहरुले असिम माया पाइरहेका छन् । उनीहरुप्रति चासो र चिन्ता बढ्न थालेको थियो । प्रचण्डले चितवन ३ नै रोज्नुलाई धेरैले सकारात्मक रुपमा लिएका थिए । पार्टी अध्यक्ष भएका कारण प्रचण्डले त्यति धेरै समय चितवनलाई दिन सक्ने अबस्था छैन्, त्यसैले पनि रेणु र प्रकाशले मतदाता र कार्यकर्तासँग निकै नजिकको सम्बन्ध स्थापित गरिरहेका थिए ।
रेणु र प्रकाशले मतदाता र कार्यकर्तासँग निकै नजिकको सम्बन्ध स्थापित गरिरहेका थिए ।प्रचण्डको चुनावी प्रचार अभियानमा प्रकाश निकै सरल, मिजासिला र सहयोगी देखिन्थे ।
प्रचण्डको चुनावी प्रचार अभियानमा प्रकाश निकै सरल, मिजासिला र सहयोगी देखिन्थे । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रकाशकी दिदी हुन् । प्रकाशको निधनसँगै उनी पनि भाईको अन्त्येष्टिमा सामेल हुन काठमाडौँ आइपुगेकी छिन् । भाईको निधनको खवरले उनी निकै विक्षिप्त देखिन्थिन् । हेर्दा निकै स्वस्थ र हृष्टपुष्ट देखिने प्रकाश आफ्नै ज्यानसँग हारे । र, संसारबाट अल्पआयुमै बिदा लिए । मृत्युलाई कसैले रोक्न सक्दैन, यो प्रकृतिको नियम नै हो ।
पारिवारिक स्रोतका अनुसार उनलाई केही दिनयता सामान्य ज्वरो आएको थियो । त्यसकारण पनि उनी बुवासँग चुनावी कार्यक्रममा नगईकन घरमा नै आराम गरेर बसेका थिए । शनिबार आमा र भान्जीहरुसँग सँगै खाना खाएर सुतेका प्रकाश अब कहिल्यै नउठ्ने गरी सुतेका छन् । कारण थियो – आकस्मिक हृदयघात । बिहान उठ्दा अचेत रहेका उनलाई नर्भिक अस्पताल त पुर्याइयो । तर, अस्पतालले पनि बचाउन सकेन् । नर्भिकका हृदयरोग विशेषज्ञ डा. यादवदेव भट्टका अनुसार अस्पताल ल्याउनभन्दा करिव ३ घण्टा पहिले नै उनको मृत्यु भइसकेको थियो । नेपालका शीर्ष नेताहरुमध्येका एक प्रचण्डलाई विभिन्न तवरबाट सहयोग गरिरहेका उनको अभाव माओवादी केन्द्र र राष्ट्रिय राजनीतिमा नै पनि खड्किने छ ।















प्रतिक्रिया