विराटनगर, ४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका कारण भारतले नाकाबन्दी लगाएको दोहोर्याउँदै त्यो नाकाबन्दी हटाउन आफू सक्षम रहेको दाबी गरेका छन् ।
मोरङको क्षेत्र नं. ४ को चुनावी कोणसभालाई सोमबार बिहान सम्बोधन गर्दै ओलीले कांग्रेसले भारतसामु घुँडा टेकेर बानी बिगारेको हुनाले नाकाबन्दी लागेको बताए ।
‘नाकाबन्दी किन लाग्यो ? कांग्रेस सधैँ भारतमा गएर घुँडा टेक्ने गरेकाले हो’, उनले भने, ‘म प्रधानमन्त्री भएपछि भारतलाई भनिदिएँ घुँडा टेक्ने कुरा मबाट हुँदैन । नाकाबन्दी हटाउ त्यसपछि भ्रमणमा आउँछु भने । केही कुरा पनि भयो त्यसपछि भारतले नाकाबन्दी हटायो ।’
भारतसँग आफ्नो अहिलेपनि सम्बन्ध राम्रो रहेको ओलीले दाबी गरे । ‘कांग्रेससँग सम्बन्ध विग्रिएपछि नाकाबन्दी लाग्यो । जनताले दुःख पाए’, उनले भने, ‘बरु म प्रधानमन्त्री भएपछि सम्बन्ध सुधार गरे । अहिले राम्रो छ ।’
मधेस केन्द्रित राजनीतिक दलहरूका कारण तराईमा विकास हुन नसकेको ओलीको आरोप थियो । उनले भने, ‘तराईमा नानाथरिका दल छन् । उनीहरूले एमालेलाई मधेस विरोध भनेर प्रचार गर्छन् । एमाले होइन ती दलहरू मधेसी जनताका विरोधी हुन् ।’
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई कटु आलोचना गरेका ओलीले भने, ‘नामै राजपा ! झण्डा हेर्दै तपाईले थाहा पाई हाल्नु हुन्छ । नामबाटै थाहा हुन्छ । मैले यसबारे धेरै नबोलु ।’
ओलीले भारतबाट आएकालाई कुनै पनि हालतमा राष्ट्रपति र प्रधानमन्त्री बन्न नदिने बताए । ‘नेपालमा छैनन् र बाहिरबाट ल्याउने राष्ट्रपति र प्रधानमन्त्री बन्न ?’ हिन्दी भाषाको बचाउ गर्ने मधेसी नेताहरूको पनि ओलीले आलोचना गरे । ‘बोल्ने मैथली’, उनले भने, ‘कुरा गर्ने हिन्दीको ?’











प्रतिक्रिया