लमजुङ, ४ मंसिर । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा वाम गठबन्धनमा प्रवेश गर्नेको लहर चल्न थालेको छ ।
विशेषगरी नेपाली कांग्रेसको पकड रहेका भनिएका स्थानहरूबाट कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गर्ने गरेका छन् ।
आइतबार चुनाव प्रचारका क्रममा पुरानकोटमा कांग्रेस परित्याग गरी मनबहादुर गुरुङको नेतृत्वमा २५ जना युवा एमाले हुँदै गठबन्धनमा प्रवेश गरेको एमाले क्षेत्रीय सचिव विवस बुढाथोकीले जानकारी दिए ।
गठबन्धनमा प्रवेश गरेकालाई एमालेका सचिव एवं प्रदेश सभा ‘ख’ का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले स्वागत गरेका थिए ।
यस्तै उम्मेदवार गुरुङ गाउँ गिलुङमा पनि कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् । साविक गिलुङ गाविसको वडा नं. ४ लाइकोँ गाउँका १६ घरपरिवारका कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।
चुनावी अभियानका क्रममा एमालेको गिलुङ गाउँ कमिटीका अध्यक्ष पसबहादुर गुरुङ र सचिव होमराज गुरुङले कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराए ।
शनिबार सदरमुकाम बेसीशहरमा कांग्रेसको आमसभा चलिरहँदा गिलुङमा कृष्णबहादुर गुरुङ, पदमबहादुर क्षेत्री, चन्द्रबहादुर भुजेल, भीमबहादुर लामा, सुनकुमारी गुरुङलगायतका एमालेमा प्रवेश गरेका हुन् ।











प्रतिक्रिया