बेशीशहर (लमजुङ), २ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसकै कारण जनताले लोकतन्त्रको उपभोग गर्न पाएको बताएका छन् । नेपाली काँग्रेस लमजुङको आयोजनामा शनिबार बेशीशहरमा भएको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले निरंकुश जहानियाँ राणाशासन, पञ्चायती तानाशाहीलाई समाप्त पारेर जनतालाई अधिकारसम्पन्न बनाउनेदेखि मुलुकमा देखा परेको हिंसात्मक जनयुद्ध र मधेश आन्दोलनको समाधान समेत कांग्रेसको अग्रसरतामा भएको बताए ।
वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले विपी कोइरालाको सरकारलाई मात्र होइन, २०४६ सालको जनआन्दोलन पछि बनेको पहिलो निर्वाचित सरकारदेखि हालसम्म पनि झिनामसिना निहुँ खोजेर राजनीतिक अस्थिरता निम्त्याएर विकासको गति रोकेको आरोप लगाए । उनले विकासका हरेक सम्भावना बोकेको लमजुङले अस्थिरताका बाहकहरुलाई परास्त गर्ने विश्वास पनि व्यक्त गरे । उनले विश्वमा असफल भैसकेको साम्यवाद ल्याउने कम्युनिष्टहरुको सपना अधुरो रहने दाबी पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको सरकारले मुलुकमा ठूलो विकास गरेको बताए । उनले पक्की र कच्ची सडक निर्माण, सिँचाई सुविधा, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, उद्योगधन्दा र रोजगारी सिर्जनाको क्षेत्रमा नेपाली काँग्रेसको सरकारले ठूलो परिर्वतन ल्याएको पनि उल्लेख गरे । कोइरालाले चार कम्युनिष्ट प्रधानमन्त्रीले बनाउन नसकेको संविधान काँग्रेस नेतृत्वले बनाएको भन्दै अब विकासको नेतृत्व पनि काँग्रेसले गर्नुपर्ने बताए ।
लमजुङबाट प्रतिनिधि सभामा काँग्रेसका उम्मेद्वार दिलबहादुर घर्तीले लमजुङको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताए । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जितेमात्र लमजुङको विकास हुने उनले बताए ।
काँग्रेस लमजुङ प्रदेश (ख)का उम्मेदवार कृष्णप्रसाद कोइरालले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । काँग्रेस लमजुङ प्रदेश (क)का उम्मेदवार गर्जबहादुर गुरुङले लमजुङका जनताको विकास र समृद्धिका लागि काँग्रेसको विजय आवश्यक रहेको उल्लेख गरे ।
नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने र विकास पनि अबरुद्ध हुने भएकोले काँग्रेसको चुनाव चिन्हमा मतदान गरी अध्यधिक मतले काँग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन अनुरोध गरे । नेपाली काँग्रेस लमजुङका पूर्व पार्टी सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सांसद चन्द्रबहादुर कुँवर, उद्योगपति विनोद चौधरी, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे, दुधपोखरी गाउँपालिकाका प्रमुख छुपीमाया गुरुङलगायतले विगतदेखि नै काँग्रेसले जित्दै आएको लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।











प्रतिक्रिया