
पोखरा (कास्की) २, मंसिर । बाम गठबन्धन कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रविन्द्र अधिकारीले विकास बाहेक आफ्नो कुनै स्वार्थ र सपना नभएको बताएका छन् । अधिकारीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २१ कृष्तिमा शनिबार मतदातासँग भेटघाट गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । कम्तिमा पाँच बर्षमा देशलाई विकासको बाटोमा अगाडि बढाउने खाका तयार गर्न आफुहरूको गठबन्धन बनेको भन्दै उनले भेदभावरहित समतामूलक समाज निर्माणमा केन्द्रित रहने बताए ।
अधिकारीले जनताले दिएको म्यान्डेटलाई आफुले उच्चतम सम्मान गर्दै कास्की मात्र नभई देशले नै गौरव गर्ने गरी आगामी दिनमा अझै रचरात्मक काममा अघि बढ्ने बताए । ‘पाँच बर्षमात्रै हामीलाई म्यान्डेट दिनुस्, त्यसपछि भोटमाग्न आउन नपर्ने गरी काम गरेर देखाउँछौँ’, अधिकारीले बताए । बाँकी समयपछि स्वयम् जनताहरु नै जिम्मेवार भएर थप म्यान्डेटका लागि अघि सर्ने वातावरण आफुहरूले निर्माण गर्ने उनले बताए । बृहत पोखराका अवधारणासँगै कास्कीको बृहत्तर विकासका निम्ति महानगर वरिपरी स्याट्यालाईट सिटीहरूको निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्रदेश सभा कास्की क्षेत्र नम्बर २ (क) का बाम गठनबन्धनका उम्मेदवार कृष्ण थापाले सम्बोधन गर्दै सुविधा सम्पन्न नमूना प्रदेश बनाउन आफ्नो उम्मेदवारी भएको भन्दै पोखराका सबै वडाहरूमा समानुपातिक विकासमा जोडदिने बताए । अबको विकास उधारा सपनाहरूको नभई आफुहरूले हात हातै विकास दिन चाहेको थापाले बताए । शनिबारै अधिकारी र थापाले पोखरा लेखानाथ वडा नम्बर २१ को कृष्तिस्थित रामदी, मट्टिखान, बक्रेत र वडा नम्बर ४ का विभिन्न स्थानहरूमा मतदाता भेटघाट कार्यक्रम गरेका छन् ।











प्रतिक्रिया