दोलखा, २ मंसिर । बाम गठबन्धनले जित हासिल गर्न सके देशमा आर्थिक समृद्धि हुने र देशको मुहार फेरिने दोलखाका प्रतिनिधि सभाका बाम उम्मेदवार पार्वत गुरुङले बताएका छन् । दोलखामा भएका विभिन्न चुनावी आमसभा तथा भेलामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
गुरुङले एमाले–माओवादी बीचको तालमेलले मुलुक आर्थिक क्रान्तितर्फ उन्मुख भएको बताए । बाम तालमेलले मुलुकको भविष्य सकारात्मक दिशातर्फ केन्द्रित भएको उनले बताए । मुलुकमा राजनीतिक क्रान्ति पूरा भएसँगै अबको समय आर्थिक क्रान्तिको समय भएकोले बाम तालमेलले मुलुकको कायापलट हुने गुरुङले बताए । मुलुकमा कम्युनिष्टहरुले बहुमत पाउँदा पनि बारम्बार काँग्रेसले सरकार सञ्चालन गरिरहेकाले अबको दिनमा काँग्रेसले फाइदा उठाउन नसक्ने उनले बताए । एमाले र माओवादीबीचको तालमेलले मुलुकको विकासमा फड्को मार्ने उनले बताए ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री आनन्द पोखरेलले काँग्रेसको सामन्ती प्रथा अब अन्त्य हुने बताए । दोलखाको सवालमा बाम तालमेलले दुई तिहाईभन्दा बढी मत पाउने पोखरेलले दाबी गरे । मुलुकको विकास बाम गठबन्धनबाट बन्ने सरकारले मात्र गर्न सक्ने भएकाले दुई तिहाई बहुमत ल्याउन आवश्यक भएको उनले बताए ।
दोलखा प्रदेश सभा २ का उम्मेदवार पशुपति चौलागाईले राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकता रक्षादेखि मुलुकको आर्थिक विकास काँग्रेसले गर्न नसक्ने भएकाले एमाले र माओवादी बीचको तालमेलले मुलुक समग्र विकासमा टेवा पुग्ने बताए । प्रतिगामी शक्तिहरु बाम तालमेल भत्काउन लागिपरेको बताउँदै कसैको तागतले पनि बाम तालमेल भत्काउन नसक्ने र बाम गठबन्धनले आफनो सरकार सञ्चालन गरिछाड्ने उनले बताए ।
त्यस्तै, प्रदेश नम्बर १ का उम्मेदवार माओवादी केन्द्रका युवा नेता विशाल खड्काले दोलखाली जनताको भाग्य र भविष्य सुदृढ बनाउनका लागि बाम तालमेलको जित अनिवार्य रहेको बताए । खड्काले तालमेलविरुद्ध काँग्रेस अनर्गल प्रचारमा उत्रिएकोले भ्रममा नपर्न समेत आग्रह गरे ।











प्रतिक्रिया