काठमाडौं, २ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभरि हिंसात्मक गतिविधी बढाउन थालेपछि प्रमुख दलका शीर्ष नेताहरूको सुरक्षामा पनि चासो र चिन्ता बढ्न थालेका छन् ।
‘नेकपा’ले शुक्रबार एकै दिन नेपाली कांग्रेस र नेकपा (माआवोदी केन्द्र)का दोस्रो तहका ठूला नेताहरूमाथि सांघातिक आक्रमण गरेपछि सुरक्षालाई लिएर सबैले चासो र चिन्ता जनाउन थालेका हुन् । ‘नेकपा’ले उम्मेदवारहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको छ ।
मुलुकभरिको सुरक्ष व्यवस्था मजबुद बनाएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए । साथै अराजक क्रियाकलाप र हिंसात्मक गतिविधीमा संलग्न रहेको अभियोगमा ‘नेकपा’ थुप्रै नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको उनको भनाइ छ ।
‘नेकपा’का नेता र कार्यकर्ताहरू भूमिगत बसेर सर्वसाधारण जनतालाई आतंकित बनाएको भन्दै प्रहरीले शान्ति सुरक्षा दिने विषयमा कसैसँग सम्झौता नहुने चेतावनी समेत दिएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणासहितका झण्डै एक सय नेताहरूलाई सुरक्षा थ्रेट भएको अनुमान प्रहरीको छ ।
स्रोतका अनुसार सुरक्षा थ्रेट भएको भन्दै एमालेका अध्यक्ष ओलीले डिएसपीको कमाण्डमा सुरक्षाकर्मी दिन माग गरेका छन् । तर, प्रहरीले एमाले अध्यक्ष ओलीसहितका नेताहरूको सुरक्षा चासो र चिन्ताप्रति सचेत रहेको जनाउँदै तत्काल डिएसपीको कमाण्डमा प्रहरी दिन नमानेको स्रोतको भनाइ छ । ओलीको सुरक्षामा हाल सईको नेतृत्वमा प्रहरी खटिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डिएसपी दानबहादुर मल्लको नेतृत्वका उल्लेख्य सुरक्षाकर्मी लिएका छन् । तर, एमाले अध्यक्ष ओलीलाई डिएसपी नदिएकोमा प्रहरीको आलोचना पनि भएको छ ।
‘विप्लव’को नेकपाले उपप्रधान एवम् विनाविभागीय मन्त्री कृष्णबहादुर महरा, सिचाइँ राज्यमन्त्री अमरसिंह पुन, कांग्रेसका डा.रामशरण महत, माओवादी केन्द्रका नेता वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, विनाविभागीय मन्त्री जनार्दशन शर्मा लगायतलाई लक्षित गरेर वम आक्रमण गरिसकेको छ ।











प्रतिक्रिया