रोल्पा, ५ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा पुगेको बेला त्यहा स्थानीय कार्यकर्ताको मुख्य प्रश्न थियो, ‘पार्टी किन फुट्यो ?’
दश वर्ष सशस्त्र युद्धमा केही नभएको माओवादी शान्ति प्रक्रियापछि भएको बिभाजनले कमजोर भएको बताए ।
माओवादी बिभाजन भएपछि रोल्पालीमाथि आफू दबावमा परेको महसुस गरेको बताए ।
‘माथि फाट्दा मन दुखेको छ’ रोल्पा लोसेबाङका कर्णसिंह घर्तीले भने, ‘पार्टी फुटेपछि हामीमाथि दबाव परेको छ ।’
माओवादी शिर्ष नेताहरु भूमिगत हुँदा सुरक्षा, खाना, बस्न प्रबन्ध मिलाएका रोल्पालीहरु करिब अढाइ वर्ष अघि पार्टी बिभाजन भएको बेला सबभन्दा दुःखी भएको सुनाए ।
‘पार्टी फुटेको दिनको जस्तो दुःखी कहिलै भएनौ, पार्टी फुटेपछि हामी कमजोर भयौ’ उनले भने ।
संविधान निर्माणबारे आफूलाई त्यति जानकारी नभएको उल्लेख गर्दै पार्टी फुटेकै कारण समस्या आएको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘सबै समस्या पार्टी फुटेपछि आएजस्तो लाग्छ मलाई त’ उनको बुझाइ छ ।
पार्टी बिभाजन भइसकेपछि शीर्ष नेताहरुबीच कलहले पनि रोल्पालीलाई निराश बनाएको बताए ।
त्यति मात्र होइन, नेताहरुको कार्यशैली फेरिएकोमा लेखाजोखा गरे ।
२०६० मा दाहाल गैरीगाउँ दुम्लामा बसेको स्थानीयले भुलेका छैनन् ।
माओवादीको २०६० को जेठमा दुम्लामा भएको केन्द्रीय समिति बैठकले ‘एक्काइसौ शताब्दीको जनवाद पारित गरेको थियो ।
जसले रानीतिक दलहरुबीच भएको प्रतिस्पर्धालाई स्वीकार गरेको थियो ।
त्यतिबेला दाहाल, महासचिब कृष्णबहादुर महरा, सचिव बर्षमान पुनलाई देखेकी गीता डाङ्गीको प्रतिक्रिया थियो, ‘प्रचण्ड, महरा मोटाउनु भएछ, वर्षमान भने उस्तै हुनुहुँदो रहेछ ।’
गाडीको लस्करसहित गैरीगाउँ तिला पुगेका दाहाललाई हेर्न स्थानीयको भीड लागेको थियो ।
दस वर्ष अघि दाहाललाई देख्ने मध्येकी एक गीताको चासो थियो, ‘पहिले हाम्रै गाउमा केही दिन बस्नु भएको थियो, त्यसपछि मैले पहिलो पटक देखे । हामीले खाने बस्ने व्यस्था मिलाइदिएका थियौं ।’
उनले नेता सहर पसेपछि गाउ र्फकन गाह्रो हुने रहेछ भन्दै आश्चर्य व्यक्त गरेकी थिइन् ।
केन्द्रमा पार्टीभित्र नेताको झगडा भएको आफूले सुनेको बताइन् ।
‘माथि आफ्नै नेताबीच झगडा भएको सुनेको छ’, युद्धको बेलामा त्यस्तो कुरा कमै सुनेका थियौ’ उनले भनाइ थियो ।
कक्षा १२ मा पढ्दै गएकी तिलाकी दिलसरा डाँगीले दाहाललाई हेर्न पाउदा उत्सुकता मेटिएको बताइन् ।
‘हामीले रेडियोमा नाम सुनेका थियौ, यहा आएपछि प्रचण्डलाई देख्न पाइयो ।’ तिलामा दाहालले स्थानीयलाई खुशी पार्ने गरी अनौपचारिक रुपमा भनाइ राखे ।
‘तपाईहरुले धेरै माया नगरेको भए यो परिवर्तन हुदैनथ्यो, त्यसकारण म रोल्पाकीको त्याग, बलिदान र माया बिर्सन सक्दिनँ, त्यसलाई ताजगी गर्न फेरि आएको छु ।’
दाङ घोराहीदेखि थवाङ जोड्ने सहिद मार्ग बनाउन पहल गरेकोमा स्थानीय खुशी देखिन्थे ।
‘माओवादी शक्तिमा आएपछि हामीलाई राम्रो भयो, गाउमा सडक बन्यो, गाडी मोटर आयो । हाम्रो गाउको विकास भयो’ लोसबाङका बीरसिंह घर्तीको सन्तोष व्यक्त गरे, ‘तर पहिलो चुनावमा ठूलो भएको पार्टी बिभाजन भएपछि तेस्रो भयो, यसमा दुःख लागेको छ ।’
लोसेबाङमा माओवादी र एमालेबीच २०६२ साल कात्तिकमा बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्ने, निरंकुश राजतन्त्रको अन्त्य गर्नेलगायत ६ बुदे समझदारी भएको थियो ।
सहिद मार्गको बाटोमै पर्ने लोसेबाङमा दाहालले तत्कालीन कांग्रेस, सभापति गिरिजाप्रसाद कोइराला सम्झदै एमालेसंग भएको सहमति सम्झे ।
‘मैले गिरिजाप्रसादलाई यही ठाउँमा (लोसेबाङ)मा वार्ता गर्न बोलाएको थिए, उहाँ आउन सक्नु भएन । पछि एमालेका नेता वामदेव र युवराज ज्ञवाली आउनु भएको थियो,’ दाहालले स्मरण गर्दै भने, ‘त्यो ऐतिहासिक १२ बुँदेको प्रक्रिया यहीँबाट सुरु भएको हो । यो कुरा म कहिल्यै बिर्सने छैन ।’
पार्टी बिभाजनबारे भने दाहालले रोल्पामा खासै बताएनन् । बरु उनले युद्धकालमै सहिद मार्गको पहल गरेकाले विकास सम्भब भएको बताए ।
युद्धको बेला मारिएका र बेपत्ता भएका परिवारलाई जनही २ लाख दिन समझदारी भएको उनले पटकपकट सुनाए ।
करिब हजार जना रोल्पाली युद्धमा मारिएका छन् ।
युद्धमा मारिएका र बेपत्ता परिवारलाई जनही दुई लाख दिने दलहरुबीच सहमति नभएको भए दाहाललाई रोल्पामा भनाइ राख्न सहज हुने थिएन ।
लोसेबाङमा दाहालले प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री कोषबाट बनेको विद्यालयका विद्यार्थीसँग लामो फोटो सेसन गरे ।
युद्धको बेला दाहाल लोसेबाङमा नबसेको भए त्यो पक्की विद्यालय बन्न असम्भव हुने स्थानीयले बताए ।
दाहाललाई देखेपछि लोसबाङका निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरु झुम्मिएका थिए ।
‘आज हामीलाई रमाइलो लागेको छ, प्रचण्ड, महरालाई देख्न पायौं,’ कक्षा ६ मा पढ्ने भीमबहादुर ओलीले बताए ।
दाहालले २०६४ को निर्वाचनमा आफूलाई निर्वाचित गरी प्रधानमन्त्री बनाएकोमा धन्यवाद दिइरहँदा स्थानीयहरु मौन देखिन्थे ।















प्रतिक्रिया