१५ कार्तिक २०८३, आइतबार

करोडौंको चलखेलका कारण डिआईजीको पनि संख्या थपिदै

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । सरकारले नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवामा सिफारिस गरेसँगै एसएसपीबाट डिआईजीमा बढुवाको लागि पनि गृहकार्य थालेको छ ।

बढुवा सिफारिस समितिले डिआईजीमा बढुवाको गृहकार्य थालेपछि एसएसपीहरु चलखेलमा जुटेका छन् । यूनाइटेड पोष्ट साप्तहिकले समाचार छापेको छ ।

निर्वाचन आयोगले शुरुमा दुई एआईजीसहितका प्रहरी अधिकृतको बढुवाको लागि सहमती दिएको थियो । तर, रातारात आर्थिक चलखेल गरी सहमती जुटाएर चार डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ ।

हाल खाली रहेको तीन डिआईजी पदमा तीन जना एसएसपीलाई मात्र बढुवा गर्न आईजीपी प्रकाश अर्याल लागि परेका बेला सरकारले भने संख्या बढाएर पाँच पु-याउन लागेको स्रोत बताउँछ ।

एसएसपीहरु श्यामबहादुर खत्री, सुवास चौधरी, दिनेश अमात्य, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिपक थापा, दानसिंह बोहरा र सुशील भण्डारी डिआईजी बढुवाका प्रतिस्पर्धी हुन् । यि मध्ये रिजाल, अधिकारी, बस्नेत र थापा राम्रा प्रहरी अधिकारी मानिन्छन ।

सुन काण्डमा मुछिएर निलम्बनमा परेका एसएसपी खत्रीले अदालतबाट सफाइ पाइसकेका छन् । उनलाई ३३ किलो सुन काण्डमा तत्कालिन डिआईजी नवराज सिलवालले चर्चा कमाउनकै लागि पूर्वाग्रहपूर्ण तरिकाले फसाएका थिए ।

सबैभन्दा राजनीतिक चलखेलमा लागेका एसएसपी अमात्य अपराध महाशाखामा रहँदा ललितपुर कुसुन्तीका लागूऔषध दुव्र्यसनी प्रवीण खत्रीको ‘फेक इन्काउन्टर’ गरेको भन्दै आलोचना खेपेर हेडक्वार्टर तानिएका थिए ।

प्रहरीले ‘गुन्डा’को संज्ञा दिएका कतिपय ‘दादा’ र ‘डन’ खुलेआम हिँडिरहेकै बेला पद जोगाउन र सस्तो प्रचारका लागि लागूऔषध दुव्र्यसनी खत्रीको इन्काउन्टर गरेको भन्दै आलोचना खेपेपछि कार्यकाल ६ महिना बाँकी रहँदै उनी हेडक्वार्टर तानिएका थिए ।

त्यस्तै, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का पार्ट्नर सन्तोष गौतमसँग मिलेर घैटेको फसेको पैसा उठाएको बिषयमा पनि उनले बद्नामी कमाएका छन् । खराब व्यक्तिसँगको साँठगाँठका कारण अमात्य र सुवास चौधरी नेपाल प्रहरीमा बद्नाम पात्रका रुपमा चिनिन्छन ।

संघीय इकाई प्रहरी कार्यालय जनकपुरमा रहेका चौधरी केही समय अघि गाँजा व्यापारीसँग पैसा खाएको काण्डमा मुछिएका थिए । गाँजा काण्डमा उनले खटाएका दुई सिपाहीलाई पक्राउ गरी दुई नम्बर गणमा राखिएको छ । ति सिपाहीहरुले एसएसपी चौधरीको नाम पोलेपनि आईजीपी प्रकाश अर्यालको दबाबमा कारबाही गर्नबाट चौधरीलाई जोगाइएको छ ।

त्यस्तै, बढुवाको दौडधुपमा लागेका अर्का एसएसपी बोहोरा पनि सूदुरपश्चिमको नाता जोड्दै गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको वरिपरि घुम्न थालेका छन् । सूदुरपश्चिमकै व्यापारी रामचन्द्र भट्टमार्फत बोहोराले आरजु देउवासम्म पैसाको चलखेल गरेको आरोप लागेको छ ।

प्रहरी स्रोतका अनुसार एसएसपीबाट डिआईजीमा बढुवा हुनका लागि कार्य क्षमता र योग्यताको मापदण्ड भन्दा पनि पैसालाई नै प्राथमिकतामा राखिएको छ । बढुवामा प्रधानमन्त्री देउवा पत्नी आरजुले करोडौंको चलखेल गरेपछि संख्या थपिन लागेको हो ।