बैतडी, २९ कात्तिक । नेपाली कांग्रेसका महासमिति सदस्य एवं बैतडीका प्रभावशाली दलित अगुवा रमेश कोली पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
कांग्रेसको भातृसंगठन नेपाल दलित संघ बैतडीका अध्यक्ष समेत रहेका कोली संयुक्त बाम गठबन्धनले बैतडीको कुवाकोटमा मंगलबार आयोजना गरेको चुनावी सभामा एमाले प्रवेश गरेको पाटन नगरपालिका ९ का वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए ।
विगत दुई दशकदेखि काग्रेसमा रहेका प्रभावशाली नेता कोलीको कदमले कांग्रेसलाई आसन्न चुनावमा धक्का लागेको छ । दलित समुदायमाझ लोकप्रिय तथा विश्वासिलो छवि बनाएका नेता कोलीले वाम गठबन्धनमा प्रवेश गरेपछि लोकतान्त्रिक गठबन्धनलाई धक्का लाग्ने भएको हो ।
‘अब कांग्रेसलाई दलित बस्तीहरुमा छिर्न दिन्न्’
एमाले प्रवेशपछि नेता कोलीले कांग्रेसले सिंगो दलित समुदायको अपमान गरेकाले पार्टी छोडेको बताए । २० वर्ष पार्टीमा गरेको लगानीको कुनै कदर नगरेको तथा कांग्रेस बैतडीका नेताहरुले जातीय विभेद गरेको उनको आरोप छ । कांग्रेसका उम्मेदवारहरुले विभेदकारीहरुलाई संरक्षण दिएको र उम्मेदवारहरुले पनि दलित समुदायमाथि धावा बोलेकाले चित्त दुखेको उनले बताए । ‘म दलितहरुको स्वाभिमानका लागि लडेको हुँ तर, कांग्रेसले मलाई साथ नदिएकाले विभेदकारीहरुसँग बस्न चाहेन,’ उनले भने ।
आफू दलित अधिकारका लागि लड्ने क्रान्तिकारी योद्धा भएकाले वाम गठबन्धनमा आएको उनको भनाई छ । लामो जनयुद्धको संघर्षबाट गरिब, निमुखा र दलितलाई माथि उकास्ने माओवादी केन्द्र र एमालेपार्टीको वाम गठबन्धनलाई आगमी निर्वाचनमा जिताउने अभियानमा लागेको उनले बताए ।
आफूले कुनै पद नखोजेको भन्दै उनले दलितहरुको सम्मान र अधिकारका लागि लड्ने बताए । अब कांग्रेसले दलित बस्तीहरुमा छिर्न नपाउने कोलीको भनाई छ । आफूसँगै सयौ नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेश गर्नेक्रम सुरु भएकाले कांग्रेसको हार निश्चत भएको उनको भनाई छ । दलितमाथि अपशब्द बोल्ने कांग्रेस नेता कार्यकर्ताहरुलाई कारवाहीको दायरामा लिने पनि उनले बताए ।
दलित समुदायको अपमान गर्ने कांग्रेसलाई दलित बस्तीबाट एक भोट पनि नजाने दावी गर्दै कोलीले दलित समुदाय स्वाभिमानका लागि आफ्नै पौरखमा बाँच्ने समुदाय भएको बताए ।
यसविषयमा काग्रेसका सभापति नरेन्द्रसिह थापालाई बुझ्दा उनले कांग्रेसले जातीय विभेद गर्न नसक्ने बताए । यदि पार्टीमा कसैले भेदभाव गरेको पाईएमा कार्वाही गर्ने उनले बताए । पार्टी त्याग्नु व्यक्तिको अधिकारको कुरा भएकाले पार्टीलाई असर नपर्ने उनको तर्क थियो ।












प्रतिक्रिया