१५ कार्तिक २०८३, आइतबार

माधव नेपालले रौतहट १ छोडेपछि अनिल झा अप्ठ्यारोमा

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २९ कात्तिक । पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट १ छाडेपछि सो क्षेत्रमा आफुले सहजै चुनाव जित्ने आंकलन गरेर मैदानमा उत्रेका राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झालाई स्वतन्त्र उम्मेदवारी दिएका पुर्व सभासद बबन सिंहले अप्ठ्यारोमा पारेका छन् ।

उनलाई मधेसमा राम्रो जनाधार भएको अर्को पार्टी संघीय समाजवादी फोरम  नेपालको पनि समर्थन छ । तै पनि उनी चुनाव जित्नेमा ढुक्क हुन सकेका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनलाई डर देशका प्रमुख राजनीतिक दलले बनाएका लोकतान्त्रिक र वाम गठबन्धनको होइन स्वतन्त्र उम्मेदवार बबन सिंहको हो । गठबन्धनबाट राजपा अध्यक्ष मण्डलका अनिल झाले उम्मेदवारी दिएपछि उनीविरुद्ध संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंहले बागी उम्मेदवारी दिएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा स्वतन्त्र हैसियतमा चुनाव जितेका बबन सिंह टोल टोलको समस्याको समाधान गर्न सक्रिय रहेको कारणले गर्दा पनि उनको जनमत राम्रो रहेको स्थानीय युवा नवीन सिंह बताउँछन् ।

मधेस आन्दोलनका क्रममा स्थानीय स्तरमै आन्दोलनमा सक्रिय रहेका र जनताको समस्यालाई सहज रुपमा समाधान गर्ने नेताको रुपमा सिंहले भूमिका निर्वाह गरेकै कारण पनि उनको जनमत कमजोर नरहेको सिंह बताउँछन् ।

स्वतन्त्र उम्मेदवार सिंहले २०६४ सालको जस्तै गरी आफूले निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । सिंहले भने ‘म जनताको सेवक हुँ गाउँमा नै बसेर सेवा गर्ने मेरो लक्ष्य भएको हुँदा मेरो जित सुनिश्चित छ ।

यता राजपा—फोरम नेपाल गठबन्धनका उम्मेदवार झाले भने मधेसको समस्याको समाधान गर्ने पार्टी राजपा नै भएको हुँदा जनलहर आफनै पक्षमा रहेको दाबी गरेका छन् । झाले पत्नी डिम्पल झालाई समानुपातिक बन्दसूचीको उच्चतम श्रेणीमा राखेको आरोप पनि लागेको छ ।

झाको उम्मेदवारीबाट असन्तुष्ट राजपाका कार्यकर्ताहरु बागी उम्मेदवार सिंहको पक्षमा लागेका छन् । बबन सिंहको उम्मेदवारीबाट राजपा(फोरम नेपाल गठबन्धनका मात्र होइन कांग्रेस र वाम गठबन्धनका उम्मेदवारमा डर पैदा गरेको छ ।

यद्यपी सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका कांग्रेसका जिल्ला सभापति कृष्ण यादवले पनि आफनो जित निश्चित भएको बताउँछन् । उनले भने ‘क्षेत्र नं. १ कांग्रेसमय बनेको छ लोकतन्त्रको रक्षाको लागी पनि कांग्रेसको जित हुनेमा कुनै द्विविधा छैन ।’

त्यस्तै वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रका नेता सत्यनारायण भगतले वाम गठबन्धनको जित पक्का रहेको प्रतिक्रिया दिएका छन् ।

देशमा दिगो शान्ति तथा विकासका लागि पनि वाम गठबन्धनको जित हुने उनको भनाई छ । राजपा—ससफो गठबन्धनका उम्मेदवार अनिल झा पूर्व उद्योग मन्त्री हुन् भने स्वतन्त्र उम्मेदवार २०६४ सालको संविधान सभाको निर्वाचनमा भूमिगत अवस्थामै निर्वाचित पूर्वसभासद हुन् ।

वाम गठबन्धनका उम्मेदवार सत्यनारायण भगत बिन २०७० को निर्वाचनमा तत्कालीन रौतहट क्षेत्र नं. ४ को माओवादी केन्द्रबाट निवार्चित भएर राज्य मन्त्री समेत भइसकेका छन् ।

यता कांग्रेसका उम्मेदवार कृष्ण यादव २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए । हाल उनी कांग्रेस पार्टीको जिल्ला सभापति पनि हुन् । माधव नेपालले सो क्षेत्र छाडेपछि अहिले सो क्षेत्रलाई आफ्नो पक्षमा पार्न राजपा ,कांग्रेस र वाम गठबन्धन कम्मर कसेर लागेका छन् ।