१ कार्तिक २०८३, आइतबार

जनसम्पर्क समिति अमेरिकाका सभापति कांग्रेसको केन्द्रीय सदस्य मनोनीत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई गत कात्तिक २८ गते आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

‘सभापतिज्यूले मलाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गर्नु भएको पत्र प्रदान गर्दै जिम्मेवारी दिनु भएको छ, यसलाई मैले विश्वभरिका जनसम्पर्क समितिको सम्मानको रुपमा लिएको छु’ उनले भने ।

जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा मनोनीत हुने विष्ट भारत बाहेकका देशबाट पहिलो नेता हुन् । गत सेप्टेम्वरमा राष्ट्र संघ महासभामा भाग लिन आएका प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गरेका थिए ।

सोही अनुसार सभापति देउवाले विष्टलाई नेपाल बोलाई पार्टी गतिविधिमा क्रियाशील हुन र आसन्न निर्वाचनमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनु भएपछि विष्ट अहिले नेपालमा कांग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्न विभिन्न जिल्लामा पुगी रहेका छन् ।

विगत दुई दशकदेखि अमेरिकामा बसेर नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न अनवरत क्रियाशील रहेका विष्ट अमेरिकामा कांग्रेसको संगठनलाई विस्तार गर्ने संस्थापक नेतृत्वकर्ताको रुपमा चिनिन्छन ।

विष्टकै पहलमा सुरु भएको जनसम्पर्क समिति, अमेरिका हाल अमेरिकामा समितिका २७ वटा च्याप्टर क्रियाशील छ । विष्टकै पहलमा अमेरिकाले कांग्रेसको १२ औं महाधिवेशनमा पहिलोपटक आधिकारिक रुपमा प्रतिनिधित्व गर्ने अवसर पाएको थियो । सोही महाधिवेशनपछि कांग्रेसको विधानमा नै जनसम्पर्क समितिको प्रतिनिधित्व गराउने व्यवस्था उल्लेख छ ।