१ कार्तिक २०८३, शनिबार

बिशिष्ट व्यक्तिहरूको आगमन र प्रस्थानका बेला अरू जहाज नउडाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIA-Airportकाठमाडौ, ४ मंसिर । सार्क सम्मेलनमा सहभागी हुने अति बिशिष्ट व्यक्तिहरूको जहाज आगमन र प्रस्थानका बेला आकाशमा अरू जहाज नउडाइने भएको छ ।

सरकारले नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरेर उडानका बेला १५ मिनेट पहिले र १५ मिनेटपछिसम्म कुनै पनि जहाज नउडाउने तयारी गरेको हो ।

सार्क सम्मेलनका बेला मसिंर ९ देखि १२ गते चार दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल २४ सै घण्टा खुल्ला रहने भएको छ ।

अहिले राति १२ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल बन्द हुने गरेको छ । अतिबिशिष्ट ब्यक्तिको  आवागमनका कारण प्रभाबित हुने भन्दै त्यसरी प्रभाबित हुने बिमानलाई राति ल्याइने भएको छ ।

‘भिभिआईपीको सवारीका बेला अन्य उडानहरु गराउन नमिल्ने भएकाले त्यो बेला प्रभाबित भएका उडानलाई अन्य समयमा ल्याउने ब्यवस्था मिलाइएको हो’ बिमानस्थलका एक अधिकारीले भने, ‘चार दिनसम्म २४ घण्टा नै बिमानस्थल खुल्ला रहनेछ ।’

यस्तै, त्यो बेला आन्तरिक उडानहरु पनि प्रभाबित हुने भएका छन् । ‘उडानहरु बन्द नै नभएपनि धेरै कम उडान हुनेछन’ ति अधिकारीले भने ‘भिभिआईपीहरुको आउने समय निश्चित भईसकेको छैन ।’

सार्कमा सहभागी हुन आउने अतिबिशिष्ट ब्यक्तिहरु सार्कको दोस्रो दिन रिट्रिटका लागि  धुलिखेल जादैछन्।

नेपाल सहित सात वटै मुलूकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु नेपाली सेनाको सुपर पुमा हेलिकप्टरबाट उडेर धुलिखेल जानेछन् ।

त्यसका लागि सम्पुर्ण सुरक्षा ब्यवस्था पुरा भएको गृह मन्त्रालयले जनाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सार्क सुरक्षा योजना कार्यदलले सार्क सम्मेलनमा भाग लिन आउने अतिथिहरुको उडान सुरक्षामा बिशेष सुरक्षा तयारी गरेको छ ।

स्रोतका अनुसार हवाई मैदान सुरक्षामा बिशेष ध्यान दिइएको छ । त्यस अनुसार धावन मार्ग वरपरको क्षेत्रमा बिशेष सुरक्षा परिचालन गरिनेछ ।

हवाई अड्डा, धावन मार्ग, हवाई जहाज तथा हेलिकप्टर बस्दा र उड ताका सबै सुरक्षा हेरिनेछ । यस्तै बिमानस्थलमा अतिबिशिष्ट कक्षलाई दुई चरणमा सुरक्षा प्रदान गरिने तयारी गरेको छ ।

बाहिरी घेराको सुरक्षा ब्यवस्था एयरपोर्ट सुरक्षा टोलीले गर्नेछ । भित्रि सुरक्षा क्लोज प्रोटेक्सन टिमले गर्नेछ ।

क्लोज प्रोटेक्सन टिमको जिम्मेवारी नेपाली सेनाको बिशेष सुरक्षा कार्यदलको हो । अतिबिशिष्ट ब्यक्तिको उडान दौरान बिशेष सुरक्षा बलका पाँच सदस्यको टोली साथै रहने ब्यवस्था गरिएको छ ।

अतिबिशिष्ट ब्यक्तिको उडानका समयमा कुनै पनि घटना घट्न सक्ने भन्दै त्यसका लागि समेत बैकल्पिक ब्यवस्था गरिएको छ ।

बिमानस्थलमा रहेको नेपाली सेनाको ईञ्जिनियर निर्देशनालयको मदतमा यो योजना तयार पारिएको हो ।

‘सार्कमा सहभागि अतिबिशिष्ट ब्यक्तिको उडानमा दक्ष चालक दल रहनेछ,’ एक सुरक्षा अधिकारीले भने, ‘उडान दौरान बाह्य आक्रमण भए भिभिआईपिलाई जोगाउँदै  तत्काल अवतरण गर्न सक्ने समुह राखिनेछ ।’

अतिबिशिष्ट ब्यक्तिलाई काठमाडौंबाट धुलिखेल लैजाने हेलिकप्टर दुई घण्टा अघि देखी सुरक्षा निगरानीमा राखिने छ ।

यस्तै चालक दलका सदस्यहरुको झोला, लगायतका अन्य उपकरण जाँच गराएर मात्र हवाई जहाज भित्र पठाईने छ । ‘हवाई जहाज उडाउने सेनाकै पाईलट भए पनि सुरक्षामा कुनै कन्जुस्याई नगरी चेकजाँच गरिनेछ,’ गृहका ति अधिकारीले भने ।

यस्तै, उडान भर्नु पुर्व हेलिकप्टर उड्ने उचाई भन्दा दुई हजार फिट माथी संभाबित भार सहित उडान गराईने छ ।

उडान दौरान आपत्तकालिन अवतरण गर्नुपर्ने उल्लेख गर्दै भक्तपुर काभ्रेका सुरक्षा निकायलाई सतर्क गराइएको छ ।

यस्तै, बिपदे अवश्था आएमा तत्काल उद्धार गर्न जनशक्ति, आवश्यक बिशेष उपकरण सहितको टोली तैनाथ राखिने छ ।